कप्तान पारस खड्काको टोली अन्तिम चरणमा प्रवेश

कप्तान पारस खड्का

कैलाली, ७ वैशाख । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपीएल)मा पारस खड्काको कप्तानीमा रहेको चौराहा टोली अन्तिम चरणमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वालिफायरमा चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर अन्तिम चरणमा प्रवेश गरेको हो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र चौराहा नै भिडेकामा प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै चौराहा अघिल्लो चरणमा पुग्यो ।

सुरुवाती राम्रो गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशङ्कर शाह र शङ्कर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो । उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४-१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे ।

चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको थियो । यो डिपीएलकै दोस्रो उच्च स्कोर हो भने चौराहाका लागि भने सबैभन्दा ठूलो स्कोर हो ।

चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले छ चौका र चार छक्का प्रहार गरेका छन् । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले दुई तथा विक्रम भुसाल र शहब आलमले एक-एक विकेट लिए । चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किङ्स टोलीसँग खेल्नुपर्ने भएको छ । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री