विक्रमादित्यले शुरु गरेको वर्ष गणना अहिले २०७४ मा पुगेको छ । हामी नेपालीहरू वि.सं लाई विशेष उल्लासका साथ मनाउने गर्दछौँ । यसका केही महत्त्वपूर्ण पक्षका बारेमा केही चर्चा गरौँ ।
१) वर्षको शुरु वसन्त ऋतुबाट : “हिमालमा गयो जाडो लोक सानन्द देखियो उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो ” भनेर कवि शिरोमणि लेखनाथले वसन्त ऋतुको गुणगान त्यसै गाएका होइनन् । जाडोमा कठ्याङ्ग्रिएको तन मन ऋतुराज वसन्तका फूलहरू सँगै उल्लसित बन्न थाल्दछन् । कोइली को कुहुकुहू र हरिया भरिला वन बगैचाको सुन्दरताले जीवनमा नव रौनक छाउँछ । जडताले जकडिएको जीवन फेरि जाँगरको स्वतन्त्रतामा चङ्गा झैँ उड्न थाल्दछ । नयाँ वर्षको शुभ आगमन यस अवसरमा विशेष महत्त्व राख्दछ ।
२) सूर्यको मेष राशिमा प्रवेश- सूर्य मेष राशीमा हुँदा गरिने धार्मिक एवं शुभ कार्यहरू अक्षय फल दिने हुँदा ज्योतिष लगायतका पूर्वीय सांस्कृतिक क्षेत्रमा यसको छुट्टै महत्त्व छ । सूर्यको स्थिति विशाखा नक्षत्रमा भएपछि नै पहिलो महिनालाई वैशाख भनिएको हो । विशाखा नक्षत्रलाई सुखद र शुभ नक्षत्र मानिएको छ । यस समयमा गरिने शुभकार्यहरूले वर्षभरि नै शुभभाव एवं उत्साह भर्ने र जीवनका हर प्रयत्नमा सफलता प्राप्त हुने प्रगाढ जन विश्वास हामीकहाँ छ ।
३) सृष्टिको शुभारम्भ : रुख वृक्षमा नव पालुवा देखिन्छन् । चराहरू बच्चा कोरल्न थाल्दछन् । कीट पतङ्गदेखि मनुष्यको समेत मन नव सृष्टि र श्रृजनतर्फ लालायित बन्दछ । स्थावर जङ्गम सबैको यो अवस्था देखेर प्रकृति पूरै मुस्कुराएको भान हुन्छ ।
४) साधनाको लागि महत्त्वपूर्ण महिना- सूर्यको गति परिवर्तनसँगै मूलाधार चक्रदेखि सहस्रार चक्रसम्म महत्त्वपूर्ण दवाव पैदा हुने गर्दछ । साधकहरूका लागि यो ज्यादै उर्वर समय हो । मन प्रफुल्लित हुँदा मस्तिष्कबाट नि:सृत हुने सेराटोनिन, मेलाटोनिन, एण्डोरफिन जस्ता हर्मोनहरूको प्राचुर्यले साधक भगवद् आनन्द प्राप्ति एवं आध्यात्मिक उन्नयनमा अग्रसर बन्दछ । आनन्दमय मन नै स्वस्थ मन हो । स्वस्थ मनले तन स्वस्थ राख्दछ । स्वस्थ मन र स्वस्थ तनमा नै आध्यात्मिक संगीतको नाद झङकृत हुन सक्दछ ।
५) बि.सं. नेपाली पहिचान : अब विक्रम सम्वत् नेपालीको आफ्नो छुट्टै परिचय र पहिचान पनि भएको छ । ईशापूर्वदेखि नै शुरु भई यत्रो समयसम्म चलनचल्तीमा रहेको अति वैज्ञानिक सम्वत् राष्ट्रिय रुपमा हामीकहाँ मात्र उपलब्ध छ । जसरी चन्द्र सूर्य अंकित झण्डा, ढाका टोपी, सगरमाथा राजा जनक र बुद्ध नेपालका सशक्त पहिचान हुन् त्यही पङ्क्तिमा उभिएको अर्को पहिचान विक्रम सम्वत् पनि हो । यसको बारेमा गलत प्रचार गरेर राजनैतिक अभीष्ट लिन खोज्नु दुर्भाग्य हो । यसप्रति हामी सबै नेपाली जागरुक र सचेत रहनुपर्ने देखिन्छ ।
अन्तमा नव वर्ष वि.सं. २०७४ को सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सबैको जीवन अमृतमय बनोस् ! २०७३ चैत ३१
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित