
काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो ।
पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले अविजित १०४ रन बनाए । उनले एकसय ३५ बल खेल्ने क्रममा नौ चौका प्रहार गरे । यस्तै, हमिद आजमले अविजित २२, इमरान बटले २१, हरिस सोहेलले १७ तथा मोहम्मद रिजवानले १० रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुईदुई विकेट लिए । फास्ट बलर दीपेश श्रेष्ठ र स्पिनर सुशन भारीले पाकिस्तानसँगको खेलबाटै नेपाली सिनियर टोलीमा डेब्यु गरेका छन् ।
यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा सुनिल धमलाले एकसय २५ बलको सामना गर्दै ४३ रन तथा शरद भेषवाकरले ५९ बल खेल्दै ३८ रन बनाए । यस्तै, बिनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले पाँच तथा उसमा मिरले दुई विकेट लिए ।
पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ९ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप सन् २०१३ पछि आयोजना भएको हो ।
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समुह ए मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समुह बि मा भारत, श्रीलंका, मलेसिया र हङकङ रहेका छन् ।
प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने