बेलायत नेपाल असाधारण मित्रताको दुई शताब्दी

भूगोल, संस्कृति र सभ्यता हर दृष्टिले आनका तान फरक पृष्ठभूमिका दुई मुलुक बेलायत र नेपाल बीचको दुईसय वर्ष पुरा गरिसक्दा पनि कायम रहिरहेको मैत्री सम्बन्धलाई कमसेकम असाधारण त भन्नैपर्छ । दुईसय वर्ष कुनै पनि मानेमा लामो कालखण्ड हो ।

यसबीचमा संसारमा ठूलठूला कायापलटहरु भएका छन्, तर एउटा असामान्य अवस्थामा शुरुवात भएको यो असाधारण मैत्रीमा भने खासै परिवर्तन भएको छैन् । त्यस कुराको ज्वलन्त उदाहरण हो यो- मित्रताको २०० सय वर्ष पुरा भएको अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले भव्य र शानदार उत्सवको आयोजना गर्नु र त्यसमा सरिक हुने निम्तोलाई सहर्ष स्वीकार गर्दै एक मित्रको घरमा आएझैं राजकुमार हेनरी अफ वेल्स (राजकुमार हयारी ) आफ्नी हजुरआमा बेलायतकी महारानी एलिजावेथ द्वितियाको शुभेच्छा लिएर आउनु । यो नै नेपाल ब्रिटेन मैत्रीको दुईसय वर्ष पुरा भएको अवसरमा आयोजित उत्सवको चरमोत्कर्ष थियो ।

आतिथ्य राष्ट्रका राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खाहरुबाट सुदृढ मित्रताको कडी दुई देशका सर्वसाधारण नागरिकहरुसम्म प्रगाढ रुपमा रहेको चर्चा गर्दै महारानी एलिजावेथको राज्यारोहणकै दिन २ जुन १९५३ मा नेपालका तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलोपल्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको खबर महारानीमा उपहारका रुपमा टक्रयाएका प्रसंग उल्लेख गरे ।

राजकुमार हयारीलाई नेपाली हिमश्रृंखला र प्राकृतिक सौन्दर्यले मुग्ध तुल्याएका रहेछन् र उनले अरुलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरे । नेपालमा पछिल्लो पटकको भूकम्पबाट उत्पन्न विषम परिस्थितिमा पनि नेपालीहरुको धैर्य र पुनर्निर्माणप्रतिको संकल्प र साहसबाट प्रभावित भएको बताउने राजकुमार हयारीले एउटा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा आफ्नो नियमित भ्रमण अवधिलाई लम्ब्याउंदै ढुंगामाटो बोकी श्रमदान गरेर नेपाली जनमानसमा एकजना दयालु राजकुमारको अमीट स्थान बनाएका छन् ।

राजकुमार हयारीले नेपाली जनता र खासगरी गोर्खाहरुको ब्रिटिश जनता र मेरो परिवारको ह्दयमा विशेष स्थान छ भन्नु अत्युक्ति नहोला भन्दै २०० सयवर्ष पुरानो हाम्रो मित्रता अरु सैयौंवर्षसम्म बनिरहोस् भन्ने कामना गर्दै नेपाल ब्रिटेन मैत्रीको गांठो अरु मजवुत तुल्याएका थिए । त्यस अवसरमा उनले बेलायतमा अदम्य साहस र बहादुरीका लागि प्रदान गरिने सबभन्दा उच्च सम्मान भिक्टोरिया क्रस पाएका १३ जना गोर्खाहरुको भित्तेचित्र राजदूतावासको मुख्य हलमा अनावरण गरे ।

त्यसैगरी सो द्दिशतवार्षिकी सप्ताहव्यापी कार्यक्रमको समुदघाटन भने १४ मार्च मंगलबार ब्रिटिश राजपरिवारको प्रतिनिधित्व गर्दै ड्युक अफ् ग्लष्टर र नेपालको व्यवस्थापिका संसदकी सांसद डा आरजु देउवाबाट भएको थियो । ड्युक अफ ग्लष्टरले आफ्नो नेपाल भ्रमणको सुखद् संस्मरण गर्दै नेपाल अत्यन्त सुन्दर राष्ट्र र नेपाली जनतालाई अत्यन्तै सह्दयी पाएको बताए ।

डा. आरजु देउवाले नेपालले दौत्य सम्बन्ध स्थापना गरेको पहिलो मुलुक बेलायत भएको उल्लेख गरिन् भने राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खा सैनिक दुईदेशबीच घनिष्ट सम्बन्धको सबैभन्दा बलियो कडी हुन् भन्दै नेपालको पूर्वाधार, स्वास्थ्य, शिक्षा र दूरसंचारजस्ता क्षेत्रमा बेलायतको महत्वपूर्ण सहयोग रहिआएको चर्चा गरे ।

सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिनको विषय ‘भिजिट नेपाल युरोप २०१७’ सम्बन्धी प्रस्तुतिकासाथै ऐतिहासिक तथा सामाजिक महत्वका सयवर्षभन्दा पुराना फोटोचित्र तथा हिमाल श्रृंखलाका कलाकृतिहरुको प्रदर्शनी उद्घाटन भयो । त्यसको भोलिपल्ट नेपाल ब्रिटेन सम्बन्धका दुईसय वर्ष विषयक अन्तरकृया कार्यक्रम भयो जसमा प्राज्ञिक व्यक्तित्वहरुले सम्बन्धका विविध पक्षहरुमाथि प्रकाश पारेका थिए ।

चौथो दिनको कार्यक्रम भने साहित्यिक माहौलमा सम्पन्न भयो । नेपाल बाहिर पहिलोपल्ट साझा प्रकाशनका पुस्तकहरुको प्रदर्शनी भयो, ‘बेलायतमा नेपाली कवि र कविता’ डा. दुबसु क्षेत्रीद्धारा सम्पादित कविता संग्रह लोकार्पण भयो, दर्जनौं कविले आफ्ना रचनाहरु पाठ गरेभने धेरैले झण्डै आधारातसम्म बसेर जीगिसा नाटक हेरे ।

१८ मार्च शनिबार भने दिनभरि नै भनेजस्तो स्वादिष्ट नेपाली खाना र कर्ण्प्रिय गानाहरुको संगीतमय वातावरणमा बितेको थियो जसमा सुप्रसिद्ध गायिका मीरा राणा देखि १८ वर्षे स्थानीय किशोर कलाकारले समेत सुमधुर गायनद्धारा अतिथिहरुको भरपुर मनोरन्जन गरेका थिए ।

त्यसको भोलिपल्ट व्यापार मेला र नेपालमा व्यापार तथा लगानीका अवसरहबारे चर्चा चलेको थियो जसमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले केही जिज्ञासाहरुको जवाफमा नेपालमा व्यापार तथा लगानीका लागि वातावरण अनुकूल रहेको बताएका थिए ।

यसरी बेलायतस्थित नेपाली राजदूतावासले विभिन्न विषय केन्द्रित गरेर आयोजना गरेको सातदिने कार्यक्रम अति प्रभावकारी, सुव्यवस्थित, भव्य रहयो । सबै कार्यक्रममा सम्बन्धित क्षेत्रका निम्तालुहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । नेपालको हितमा सांदर्भिक विविध प्रसंगहरुमा रोचक प्रस्तुति तथा चर्चाहरु भए । कार्यक्रममा बेलायती राजपरिवारका सदस्यहरुका साथै बेलायत तथा नेपालका मन्त्रीगण, सांसदहरु, विभिन्न देशका राजदूतहरु, विज्ञरविद्वान र विशिष्ट व्यक्तिहरुको उपस्थितिले बेलायत र विश्वमै समेत नेपाल र नेपालीको छवि उज्ज्वल हुनुका साथै सम्मान वृद्धि भयो । बेलायतबाट प्रकाशित हुने नेपाली समाचारपत्र र विद्युतीय संचार माध्यमका साथै बेलायती मूलधारका समाचार माध्यमहरुले पनि यो कार्यक्रमलाई महत्वका साथ स्थान दिएका थिए ।

त्यति विविध र विस्तृत कार्यक्रम शतप्रतिशत निष्कण्टक र त्रुटिरहित हुन सक्तैनन्। यसमा पनि एकाध मानवीय भूलचुक र प्राविधिक त्रुटिहरु नभएका होइनन् । तर, तिनले यो कार्यक्रमको ओज र गरिमामा कुनै आंच पुर्याउन भने सकेनन् ।

लगातार सातदिनसम्म यति उच्चस्तरको कार्यक्रम परिकल्पना, संयोजन, समन्वयन र कार्यान्वयन गर्नु धेरै ठूलो काम हो । कार्यक्रमको सफलताको सहभागीहद्धाारा मुक्तकण्ठले प्रशंसा गरेको सुनिन्थ्यो ।

ती सारा सफलताको जस केही महिना अघिमात्रै आफ्नो ओहोदा सम्हाल्नु भएका राजदूत डा. दुर्गाबहादुर सुवेदी र उहां नेतृत्वको नेपाली राजदूतावास परिवारलाई जान्छ जसले ठूलो लगन, जांगर र परिश्रम लगाएर नेपाल ब्रिटेन सम्बन्धको दुईसय वर्ष पुरा भएको उत्सवलाई ‘न भूतो’ त बनाए नै, ‘न भविष्यति’ पनि बनाए जस्तो छ ।

(बीबीसी नेपाली सेवाका पूर्व प्रमुख नेपाली अहिले लन्डनमा बसोबास गर्छन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री