दूतावासमा लगानीका अवसरबारे अन्तरक्रिया


लन्डन । लण्डन दूतावासमा जारी सप्ताहव्यापी दुई सय 
वर्षगांठ समारोहको छैठौं दिन आइतबार व्यापार तथा लगानीबारे एक अन्तरक्रिया सम्पन्न भएको छ । नेपालमा लगानीका अवसरहरु विषयमा गरिएको अन्तरक्रियामा मुख्यत गैरआवासीय नेपाली र विदेशी लगानीका लागि नेपालमा रहेका अवसर र चुनौतिबारे वृहत छलफल भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले एनआरएन तथा विदेशी लगानीलाई उच्च प्राथमिकतामा राखेर सोहिअनुसार नीति नियम तथा प्रक्रियाहरु सुधार गर्दै गइरहेको बताए । सरकारको मुख्य लक्ष्य नै कसरी विदेशी लगानी बढाउने र प्रक्रिया सहज बनाउने भन्ने रहेको मन्त्री जोशीले बताए । आर्थिक समृद्धिको मुद्धामा नेपालको सरकार तथा सबै राजनीतिक दल एकै ठाउं उभिएर प्रतिवद्धता गरेको स्मरण गर्दै उनले यसबाट लगानीको वातावरणमा ठूलो सहयोग पुगेको धारणा राखे ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पनि विदेशी लगानीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र नेपालमा लगानीका सहज तथा सुरक्षित वातावरण रहेको बताए ।

अन्तरक्रियामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपालमा विदेशी लगानीसंग सम्बन्धित वहुआयामिक पक्षहरु समेटिएको कार्यपत्र प्रस्तुत गरे । काठमाडौंस्थित द ब्रिटिश कलेजका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष कंडेलले नेपालमा व्यवसाय सञ्चालन गर्दा सामना गर्नुपर्ने अनावश्यक प्रशासनिक झमेला, झञ्झटिलो प्रक्रिया तथा नीति नियमहरुबारे मन्त्री जोशीको ध्यानाकर्षण गरे ।

विश्वका धेरै समृद्ध देशहरुले विदेशी लगानीलाई आकर्षित गर्न लगानीमैत्री नीति नियमहरु अभ्यास गरेका छन्, कंडेलले भने, पहिला त हाम्रो नीति नै परिमार्जन हुनु आवश्यक छ । लगानीकर्तालाई नै निरुत्साहित गर्ने अनावश्यक झमेलाहरु नहटाएसम्म हामीले अपेक्षा गरेअनुसारकै लगानी भित्रिन अप्ठेरो छ ।

बेलायती सरकारको सहयोगमा निर्मित नेपालकै पहिलो हाइड्रो प्रोजेक्ट, बेलायती लगानीका स्टान्डर्ड चार्टर बैंक, युनिलिभर जस्ता कम्पनीहरुले नेपालमा पाएको सफलताको उदाहरण प्रस्तुत गर्दै कंडेलले नेपालमा प्रशस्तै सम्भावना रहेको र नीति नियमका केहि झमेलाहरु सच्चाइएको खण्डमा यसबाट देशले ठूलो लाभ लिन सक्ने विश्वास पनि व्यक्त गरे ।

एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङले नेपालमा गैरआवासीय नेपालीको लगानीबारे एक कार्यपत्र प्रस्तुत गरे । एनआरएनहरु नेपालमा लगानी गर्न निकै इच्छुक रहेको तर लगानीको सुरक्षाबारे अझै पनि विश्वस्त हुन नसकेको उनले बताए । एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्यले एनआरएनहरुको लगानीलाई प्रोत्साहित गर्न नेपाल सरकारले थप कसरत गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपालमा लगानी गरिसकेका र गर्न इच्छुक बेलायती तथा नेपाली लगानीकर्ता, विभिन्न एअरलाइन्सका प्रतिनिधि, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री