लन्डनमा जीगिषा हेरेर रोए दर्शक

लन्डन । नेपालमा अब त द्वन्द्वको अवशेष बांकी रहेन । माओवादीसमेत शान्तिप्रक्रियामा सामेल भएर नयां संविधान जारी भइसकेपछि द्वन्द्वको घाउ लगभग निको भइसकेको छ । माओवादी नै सत्तामा छ यतिखेर । तर, लन्डनमा आइतबार देखाइएको जीगिषा (जित्ने इच्छा) ले द्वन्द्वकालिन झझल्को दियो एकपटक फेरि । त्यतिबेला द्वन्द्वको त्रासदी, अपहरण, काटमार, अयोग्य ठहर गर्दै मिल्काइएका लडाकुको दुर्दशा, संकुचित नेपाली समाज र नारी थिचोमिचो आदि सामाजिक परिवेशमा केन्द्रित नाटक जीगिषामा स्थानीय कलाकारले जीवन्त अभिनय गरे । नाटक हेरेर केही दर्शकले आंसु थाम्नै सकेनन् ।

‘म कलात्मक नेपाली चलचित्र र नाटकको नियमित दर्शक भएको हैसियतले जीगिषा एउटा अब्बल नाटक लाग्यो’, रंगमञ्चमा टेकेर राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘यहांका कलाकारहरुको जीवन्त अभिनयले नेपाल र बेलायतमा फरक केही लागेन ।’ राजदूतले कलाकारहरु राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान गर्न पनि जोड दिए । दर्शकका रुपमा पुगेकी कलाकर्मी शशी थापा सुब्बा र ब्रेन्ट काउन्सिलका काउन्सिलर भगवानजी चौहानले पनि नाटकको प्रशंसा गरे ।

लन्डनको हयारो बरो फुटबल क्लव हलमा प्रदर्शन गरिएको हो जीगिषा । सनमकुमार बैरागद्वारा लिखित तथा निर्देशित उक्त नाटक हेर्न राजदूतसुवेदीसहित विशिष्ठ अतिथीहरु सहभागी थिए । अघिल्लो दिन उही रंगमञ्चमा देखाइएर होला, दर्शक सहभागिता अत्यन्त न्यून 
रहेपनि मर्मस्पर्शी र सन्देशमुलक उक्त नाटकमा दर्शकले खोट 
पाएनन् । निर्देशक बैरागले बेलायतमा हालसम्म गुणस्तरिय नाटक अभाव रहेको जनाउंदै अब आफूहरु त्यसको पूर्ति गर्न लागि परेको जिकिर गरे ।

कलाकारहरु ध्रुव दत्त, सुरेश श्रेष्ठ, प्रसुना कंडेल, सुस्मिता थापा, मनिष श्रेष्ठ, विकेस बस्नेत  लगायत कलाकारको अभिनय जीवन्त लाग्थ्यो ।

फस्ट एजुकेट नेपाल यूके (फेन) को यो नाटक दोश्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ पनि सफल मानिएको थियो ।
जीगिषा आगामी ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाइने छ ।

उक्त नाटक तेन्जी लामा पाख्रिन, दिल घले र भिजनसंसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङ संलग्न छन् ।

खगेन्द्र नेपालीले सञ्चालन गरेको कार्यक्रम शुरु हुनु अघि अन्जु श्रेष्ठ, प्रमोद शर्मा र संगीतले गीतसंगीत प्रस्तुत गरेका थिए ।

तस्विरः बीरेन्द्र श्रेष्ठ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री