राप्रपामा २७ पदाधिकारी मनोनयन

काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गर्नुभएको छ ।

पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिनुभएको छ ।

महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा उद्धव पौडेल तथा प्रवक्तामा रोशन कार्की, सुशीलकुमार श्रेष्ठ र भुवन पाठकलाई मनोनयन गरिएको छ ।

यसैगरी सहमहामन्त्रीमा हेमजङ्ग गुरुङ, नीलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुङले जिम्मेवारी प्राप्त गर्नुभएको छ । सहायक महामन्त्रीमा भने बृजलाल यादव, कुन्तीकुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

सहप्रवक्तामा मोहन श्रेष्ठ तथा सहायक कोषाध्यक्षमा गिरिधर परियारलाई मनोनयन गरिएको छ । विधानानुसार अध्यक्षको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी गठन गर्नुपर्नेमा अब एक एक सहमहामन्त्री,सहायक महामन्त्री र सहप्रवक्ता मनोनयन गर्न बाँकी छ ।

यहाँ आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले पदाधिकारीको मनोनयनबारे जानकारी दिँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जायज र सम्भव भएका माग पूरा गरी निर्वाचनमा उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीको केन्द्रीय कार्यसमितिको आजकै बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको थियो । बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म देशभर ‘राष्ट्रिय एकता यात्रा’ गर्ने निर्णय पनि गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री