दूतावासको रात्रीभोजमा समेत मिलेन बेलायत कांग्रेसको झगडा

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री तथा सभामुख रामचन्द्र पौडेल बेलायत आएका बेला यूकेको कांग्रेस विवाद टुंग्याउने पहल जारी छ । मंगलबार लन्डनस्थित नेपाली दूतावासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेता पौडेलसहित जनसम्पर्क समितिका पदाधिकारीलाई रात्रीभोज दिएर विवाद मिलाउने पहल भयो । नेता पौडेल, राजदूत सुवेदीसहित दूतावास कर्मचारी र नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीबीच लामो छलफल भएपनि निष्कर्षमा भने पुग्न सकेन ।

एक सहभागीले बताए अनुसार भेलामा विश्वआदर्श पण्डित, कुल आचार्य, महेशकुमार दाहाल, सूर्य नेम्वाङ, 
राजकुमार त्रिपाठी, विज्ञान प्रसाईं, चिन्तन पौडेल, चिरन्जिवी ढकाल, विजन भट्ट, दीपक भट्टराई, युवराज गुरुङ, कृष्ण गुरुङ, डा. मिन रानाभाट लगायत जनसम्पर्क समिति आवद्ध दुवै पक्षका डेढ दर्जन पदाधिकारी त्यहां उपस्थित थिए । सन् २००९ देखिका समिति सभापति लोक गुरुङ भने पार्किङ समस्या र अन्यत्र जरुरी काम भएको बहाना बनाउंदै दूतावासबाट लगत्तै बाहिरिएका थिए । केही सहभागीले उनी वार्ताबाट उम्कन बहाना बनाएर निस्किएको समेत आरोप लगाएका छन् ।

बैठकमा समितिभित्र केही पदाधिकारीको पदलोलुपता कायमै रहेको, लोक गुरुङले पद छाड्न नचाहेको, समितिको काम नेता आउंदा झण्डा बोकेर लिन जानेमात्र भएको, एकअर्काप्रति सम्मानभाव नभएको जस्ता भनाइ 
राखेका थिए ।

भेलामा सहभागी नेपाली कांग्रेस महासमिति सदस्य तथा महाधिवेशन यूके प्रतिनिधि महेशकुमार दाहालका अनुसार वार्ता सकारात्मक रुपमा बढेको छ र एक दुई दिनभित्रै फेरि अर्को भेला डाक्ने तयारी छ । ‘हामी रामचन्द्र दाई यूके भएकै बेला गतिरोध अन्त्य गर्ने अभियानमा छौं’, दाहालले वीनेपालीसंग भने- ‘विवादले निकास पाउंछ ।’ पौडेलले झगडामा अल्झिनु भन्दा एकता अधिवेशन गरेर देशका लागि केही रचनात्मक काम गर्न आग्रह गरेका थिए ।

यसअघि समितिले कांग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथीमा आयोजना गरेको कार्यक्रममा पनि समितिको विवादले प्राथमिकता पाएको थियो । उक्त अवसरमा नेता पौडेलले निर्वाचन समिति बनाइ अधिवेशनमार्फत आफ्नो समस्या आफैं समाधान गर्न सुझाएका थिए ।

उक्त जमघटमा राजदूत डा. सुवेदीले आफूले पदभार सम्हालेपछि दूतावासमा भएका सुधारबारे अवगत गराएका थिए । उनले सेवा समय विस्तार भएको, सेवाग्राहीलाई ध्यान दिंदै कार्यालयभित्रै फोटोकपी मेसिन 
राखिएको, उही दिन भिजा दिने व्यवस्था मिलाइएको जस्ता सुधारका कामबारे अवगत गराउंदै बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष गांठ समापन समारोहको तयारी सम्वन्धमा समेत जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री