लन्डन उत्कृष्ट वित्तीय राजधानी नरहने मेसोमा !

लन्डन । ब्रेक्जिटका कारण लन्डनले उत्कृष्ट वित्तीय राजधानीको कीर्तिमान गुमाउने चिन्ता बढेको छ । ग्लोबल फाइनान्सियल सेन्टरको सूचांकमा लन्डन गत दुई वर्षयता लगातार उत्कृष्ट वित्तीय राजधानी रहंदै आएकोमा ब्रेक्जिटले त्यो रेकर्ड खस्कने आशंकाबीच व्यवसायीहरु चिन्तित भएका 
छन् ।

लन्डन र न्यूयोर्कबीच संसारको कुन उत्कृष्ट वित्तीय राजधानी भन्नेबारे तीव्र प्रतिपष्र्धा रहंदै आएको छ । सन् २०१६ को ग्लोबल फाइनान्सियल सेन्टरको सूचांकमा सिंगापुर तेश्रो, हङकङ चौथो र टोकियो पांचौ छन् । मनोवैज्ञानिक हिसाबले पहिलो शहरको घोषणाले लगानीकर्ताहरुमा उत्साह थपिइ लगानी बढ्ने गरेको देखिन्छ ।

विश्व सर्वेक्षणमा अरु शहर भन्दा लन्डनमा काम गर्नेको 
रोजाई बढि छ । बोस्टन कन्सल्टेन्सी ग्रुपले संसारका १८९ देशका दुई लाख भन्दा बढि मानिसलाई कुन शहरमा काम गर्ने चाहना छ भनेर सोध्दा १६ प्रतिशतले लन्डन, १२ प्रतिशतले न्यूयोर्क तथा ९ प्रतिशतले पेरिस छानेका थिए । लन्डनको जनसंख्या हेर्दा यो स्वाभाविक लाग्छ । करिब ८० लाख जनसंख्या भएको लन्डनका करिब तीस लाख मानिस बेलायत बाहिर जन्मिएको तथ्यांक छ ।

स्टक मार्केटमा न्यूयोर्क पहिलो भएपनि विदेशी विनिमय बजारमा लन्डन निकै अगाडि रहंदै आएको छ । बेलायतमा मात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबर विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलव ९ प्रतिशत हुन आउने लन्डनस्थित अर्थ व्यवस्थापनवीद विकलचन्द्र आचार्यको विश्लेषण छ ।

बेलायत यूरोपियन युनियनबाट बहिर्गमन (ब्रेक्जिट) वार्ता शुरु हुने पूर्व सन्ध्यामा इयूका प्रमुख वार्ताकार माइकल बार्नियरले बेलायतले इयू छोड्दा कम्तीमा ४८ अर्ब पाउन्डको बिल तिर्नुपर्ने बताएपछि ब्रेक्जिटसंगै लन्डन संसारको सर्वश्रेष्ठ वित्तीय शहरबाट पछि धकलिने हो कि भन्ने आशंका गरिएको छ ।

पेन्सन उत्तरदायित्व, जागिरबाट हटाउंदा तिर्नुपर्ने शुल्क (रिडन्डेन्सी) लगायत बजेट बिनियोजन भइसकेको, ऋणको ग्यारेन्टी र इयूको विभिन्न प्रोजेक्ट खर्चका लागि उक्त रकम चाहिएको भन्ने बार्नियरको जिकिर बेलायतमा आलोचित भएको छ । इयूसंग सम्बन्ध विच्छेद गर्दा यति धेरै रकम जोहो गर्नु बेलायती करदातामाथि अन्याय भएको इयू विरोधीहरुले बताएका छन् भने फ्रान्स र जर्मनीका इयू समर्थकहरुले बेलायतले युरोपको एकतामा व्यवधान पुरयाएको भन्दै पारपाचुके शुल्क ६० अर्ब पाउन्ड भन्दा बढि हुनुपर्ने जिकिर गरेका छन् । इयू आलोचकहरुले इयूको यस्तो चर्को शुल्क लिने अभिव्यक्ति लन्डनको वित्तीय शक्ति कमजोर पार्ने षड्यन्त्रका रुपमा आएको आरोप समेत लगाएका छन् ।

अन्तर्राष्ट्रिय बैंकिङ, बीमा लगायत अन्य वित्तीय क्षेत्रको मुख्यालय एवं सहमतिका धेरै प्रक्रिया लन्डनबाट नै शुरु हुंदै आएको छ । ब्रेक्जिट कारण दर्शाएर लन्डनबाट प्रमुख कम्पनी स्थानान्तरण हुन सक्ने आशंकामा पेरिस तथा फ्रयांकफर्ट शहरले तिनलाई आकर्षित गर्ने पहल पनि गरिरहेका छन् ।

बेलायती कानुनी व्यवस्थामा ऋणदाता तथा शेयरधनीको रक्षाको श्रेष्ठता, बेलायती युनिभर्सिटीहरुको अर्थ तथा वित्तीय शिक्षा युरोपको अन्यत्र भन्दा उच्चतम, बेलायतको कर, रोजगार तथा नाफाको नियम अनुकुल आदि कारणले ब्रेक्जिट पछि पनि लन्डन संसारको प्रथम वित्तीय शहर हुन सक्ने विश्वास अर्थ व्यवस्थापनवीज्ञ आचार्यको छ ।

ब्रेक्जिट अस्थिरताका कारण एसिया तथा अमेरिकाका केही बजारले लन्डनको व्यवसायमा असर पर्न सक्ने विश्लेषण गरिएको छ । लन्डनका धेरै सांसदले वित्तीय क्षेत्रलाई इयूको कमन मार्केट तथा भन्सार संघ भित्र नै राख्न छुट हुनुपर्ने जिकिर गर्दै आएका छन् । युरोपियन युनियनसंगको बहिर्गमन सम्बन्धि धेरै कुरामा बेलायतभित्र चर्को मतभेद रहंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री