काँग्रेस सांसद डा. राणासंग महिला अधिकार विषयमा अन्तरक्रिया हुने

गैर आवासीय नेपाली संघ, बेलायतको कार्यक्रममा डा. राणा । तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । यतिखेर निजी भ्रमणमा लन्डनमा रहेकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ डा. आरजु राणा देउवासंग बेलायतस्थित महिलाहरुले अन्तरक्रिया गर्ने भएका छन् । आगामी १८ फेब्रुअरी सांझ शनिबार लन्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा महिला अधिकार’ विषयमा अन्तरक्रिया हुन लागेको दूतावासले जनाएको छ ।

यसैबीच डा. राणा गत सोमबार एनआरएनए यूकेले गरेको अन्तरक्रियामा सहभागी भइन् । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताइन् । श्रीमती देउवाले अहिले नेपालमा संविधानको कार्यान्वयन एउटा मुख्य चुनौती रहेको र त्यसकालागि चुनाव अत्यावश्यक रहेको समेत बताइन् । ‘कैयौं मानिसहरु यो प्रकृयालाई उल्टाउन चाहिरहेका छन्। हामीले ‘पाण्डोरा बक्स’ खोलेका छौ। यसलाई कसरी बन्द गर्ने भन्ने मुख्य चुनौती छ’, उनले भनिन् ।

श्रीमती देउवाले राजनीति भनेको प्रकृया, धैर्य र भोट हो भन्दै समाज परिवर्तन गर्न सत्तामा पुग्न आवश्यक हुने धारणा राखिन् । ‘तपाई सत्तामा हुनुभएन भने तपाईंले परिवर्तन ल्याउन सक्नुहुन्न, तर त्यस्तो शक्ति वैध माध्यमबाट प्राप्त गरिनुपर्छ’, उनले भनिन् । ‘मेरो श्रीमान (भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा) पार्टी सभापति बन्न २० वर्ष पर्खनु भयो। त्यसैले राजनीतिमा धैर्य चाहिन्छ’, उनको भनाइ थियो ।

श्रीमती देउवाले नेपाली काँग्रेसले पहल नगरेको भए नयाँ संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान रहने थिएन भन्दै आफू व्यक्तिगत रुपमा दोहोरो नागरिकताको समर्थनमा रहेको पनि बताइन् । तर कैयौं दलहरु एनआरएनहरुलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिने पक्षमा पनि नरहेको बताउँदै उनले संविधानमा लेखिएको कुरा कानुन नबन्दासम्म गैरआवासीय नेपालीहरु सजग र कृयाशील रहनुपर्ने सुझाव दिइन् । भूतपूर्व गोर्खा सैनिकहरुको जायज मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउँदै यो विषय द्वीपक्षीय कूटनीतिक माध्यमबाट समाधान हुनेप्रति आफू आशावादी रहेको पनि उनको विश्वास थियो ।

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समुदाय समृद्ध, सुसंस्कृत र सुपठित रहेको बताउँदै यहाँको नेपाली समुदायले नेपालबाट लिने भन्दा नेपाललाई बढी दिएको बताए । उनले विश्वभरिका नेपालीहरुले बेलायतमा रहेका नेपाली समुदायबाट सिक्न सक्ने धारणा पनि राखेका थिए ।

गैर आवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्यले देशबाहिर बसिरहेका गैर आवासीय नेपालीहरुले नेपालको अरु बढी माया गरिरहेको बताउँदै भूकम्पपछि संघले गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुकालागि घर बनाइरहेको जनाए । विदेशमा सिकेको सीप र पूंजी नेपालमा लगानी गर्ने गैरआवासीय नेपाली संघको उद्देश्य रहेको बताउँदै उनले एक हजार जना गैरआवासीय नेपालीले एक अर्ब रुपियाँ जम्मा गरी एनआरएन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको बताए । उनले सो कम्पनीले २७ मेगावाटको दोर्दीमा लगानी गर्नुकासाथै वित्तीय क्षेत्रमा पनि शेयरहरु खरिद गरेको बताए । ‘एक पटककको नेपाली सँधैको नेपाली’ भन्ने मूलमन्त्रलाई सार्थक पार्न पाइसकेको गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता छोडनु पर्ने अवस्था नआओस् भन्नेतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने पनि उनले बताए ।

गैर आवासीय नेपाली संघ, बेलायतको कार्यक्रममा डा. राणा । तस्विरः बीरेन्द्र श्रेष्ठ

गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डितले सन् २००३ मा स्थापना भएदेखि नै ‘नेपालका लागि नेपाली’ भन्ने नाराका साथ गैरआवासीय नेपाली संघले काम गरिरहेको भएपनि अहिले केही राजनीतिक दलहरुले नै गैरआवासीय नेपालीहरुको विरुद्ध बोल्न थाल्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले एकजना गैरआवासीय नेपाली कानुन व्यवसायीले नेपालमा काम गर्न नदिने भनी फैसला सुनाइएको बताउँदै यस्ता कार्यले आशंकाहरु जन्माएका उल्लेख गरे । विदेशमा हुर्केका दोश्रो पुस्ताका नेपालीहरुसंग प्रशस्त क्षमता र स्रोतसाधनसम्म पहुँच पनि रहेको बताउँदै उनले उनीहरुको नेपालसंग भावनात्मक संबन्ध बनाइराख्‍न अत्यन्त आवश्यक रहेको बताए ।

कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले मन्तव्य दिए । एनआरएनए युकेका प्रवक्ता खुसी लिम्बुले सन्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व एनआरएनए युकेका अध्यक्ष मुछेत्र गुरुङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री