सगरमाथा आरोहण गर्दैछन् दृष्टिविहीन अमिट

सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्न लागेका बागलुङ सर्कुवा–२ का दृष्टिविहीन अमिट केसी बेनीमा आयोजित कार्यक्रममा सहयोग अभियानको लागि अपिल गर्दै । तस्बिरः कमल खत्री, म्याग्दी, रासस

म्याग्दी, २६ माघ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ ।

अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुरयाउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् ।

आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी यति बेला विभिन्न सङ्घ संस्थामा सहयोगका लागि दौडधुपमा व्यस्त छन् । केसीको सहयोगार्थ मङ्गलबार बेनीमा जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीले सरकारले समेत आरोहणको लागि स्वीकृति दिइसकेको जानकारी गराउँदै आरोहणको लागि आवश्यक पर्ने खर्च जुटाउन सक्दो सहयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरी सरकारबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिइसकेको र आर्थिक सङ्कलनको लागि आफू सहयोगदाताको प्रतिक्षामा रहेको बताउनुभयो ।

केसीका अनुसार हालसम्म नेपाल सरकारले रु पाँच लाख सहयोग गरिसकेको छ भने लायन्स क्लबले समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

केसीले सगरमाथा आरोहणको तयारीअन्तर्गत यस अघि २०७२ बैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्यान्ड पिक र २०७२ चैत ८ गते मेरापिक हिमाल आरोहण गरिसक्नुभएको छ ।

यसैबीच, केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा विभिन्न सरोकारवालालाई समावेश गरी एक समिति निर्माण गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, लायन्स क्लबको तर्फबाट चन्द्रकुमार केसी, ठाकुरप्रसाद शर्मा, ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतम, प्राध्यापक रेखा कौशल रेग्मी, पत्रकार कमल खत्री र अपाङ्ग सङ्घ म्याग्दीका सचिव सुरेन्द्र केसी रहनुभएको समन्वय समितिले केसीको सहयोगार्थ आर्थिक सङ्कलनमा सहयोग गर्ने जनाइएको छ ।

सोही अन्तरक्रिया कार्यक्रमकै अवसरमा रु ५५ हजार आर्थिक सङ्कलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री