मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: २१:३८ | UK Time: 15:53

बेलायती प्रधानमन्त्री ट्रम्प भेट्न अमेरिका जांदै

वीनेपाली
२०७३ माघ १० गते १०:१४

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आउंदो शुक्रबार वासिंगटन जांदै छिन् । ब्रेक्जिटपछि आफ्नो देश अनुकुल व्यापार सम्झौता गरि संसारमा व्यापारको नेतृत्व गर्ने बताउंदै आएकी प्रधानमन्त्री मेले राष्ट्रपति ट्रम्पसंग अमेरिकी व्यापार सम्झौताका लागि विशेष कुरा गर्ने जनाएकी 
छिन् ।

ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि पहिलो विदेशी प्रधानमन्त्री भेट्ने यो प्रसंगलाई शीतयुद्धका बेला तत्कालिन अमेरिकी राष्ट्रपति 
रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर जस्तो मित्रवत सम्बन्ध बिस्तार हुनसक्ने आंकलन कतिपयको छ । आफूलाई लागेको कुरा उठाउन राष्ट्रपति ट्रम्पसंग कुनै संकोच नभएको बताएकी प्रधानमन्त्री मेले व्यापार अलावा नेटो, इयू, रक्षा, 
रसियासंगको सम्बन्ध आदिबारे छलफल केन्द्रित गर्ने बताइएको छ । अमेरिकासंग बेलायतको विशेष सम्बन्ध रहिआएको छ ।

बेलायतको राजनीति गत जुनमा जनमत संग्रहपछि युरोपियन युनियन बहिर्गमनको नतिजा अनुरुप तातिने क्रम जारी छ । ब्रेक्जिटको अनपेक्षित परिणामले बिना तयारी र गृहकार्यमा रहेको बेलायती राजनीतिक नेतृत्वलाई ठूलो चुनौती थपिएको सर्वबिदितै 
छ ।

गत हप्ता ब्रेक्जिटको आफ्नो १२ बुंदे मार्गचित्र उद्घोष गरेकी बेलायती प्रधानमन्त्री मेको उक्त प्रस्तावलाई युरोपियन युनियनले बेलायतले चाहेको मात्र रोज्न नपाउने भन्दै आलोचना गरेको छ । कमन मार्केट तथा भन्सार संघमा समेत छोड्ने भन्ने उनको घोषणाप्रति बैंक, वित्तीय संस्था तथा ब्यवसायीहरुले गम्भीर चिन्ता प्रकट गरेका छन् ।

दोश्रो विश्वयुद्ध यता सबैभन्दा बढि विभाजित बेलायती समाजमा सबैलाई मान्य हुने नीति अवलम्बन गर्न सजिलो नहुने कुरा विश्लेषकहरु बताउंदै आएका छन् । इयू विरोधीहरुको मुख्य सरोकार अनियन्त्रित अध्यागमन समस्या नै हो । यसलाई सम्बोधन गर्न इयूबाट कडा बहिर्गमनबाहेक अर्को उपाय छैन् भन्ने तर्क प्रधानमन्त्री मेको छ । तर, आप्रवासी कामदारको सहज आपूर्ति बिना अर्थतन्त्रले गम्भीर असर भोग्नुपर्ने व्यवसायीहरुले बताउंदै आएका छन् ।

अर्कोतर्फ अस्ट्रेलियाली सरकारले आफूसंग खुल्ला व्यापार सन्धि गर्ने हो भने बेलायतको अध्यागमन नियम खुकुलो पार्नुपर्ने बताएको छ । इयूबाट छुट्टिएको आठ महिना भित्र नै ब्यापार सम्झौता गर्न सकिने बताउंदै अस्ट्रेलियाले आफ्नो लगानी बेलायतमा भित्र्याउन अरु सजिलो पार्नु पर्ने कुरामा ध्यान दिन बेलायत सरकारसंग आग्रह गरेको छ ।

व्यापार सन्धिमा खुला नीतिसंगै भिजाको पनि निक्र्यौल 
गरिनुपर्ने प्रस्ताव अस्ट्रेलियन सरकारको छ । फ्री मूभमेन्टबाट छुट्कारा पाउन नै इयू छोड्ने लक्ष्य लिएको वर्तमान सरकारले कुन रुपमा अस्ट्रेलियन सरकारको शर्त लिने हो त्यो चासोको विषय हुनेछ ।

स्वीजरल्यान्डको डाभोसमा गत हप्ता भएको विश्व आर्थिक मञ्चको गोष्ठीलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्रीले विश्व ब्यापारका लागि बेलायतले नयां तरिकाले अग्रगामी भूमिका खेल्ने बताएकी थिइन् । यसबाट ब्रेक्जिटपछि बेलायतले द्रुतगतिमा विश्व बजारमा आफ्नो पहुंच बढाउन अरु सक्रिय रहने संकेत मिलेको विश्लेषकहरुले बताएका छन् ।

डाभोसमा सम्पन्न उक्त कार्यक्रममा संसारका तीन अर्ब साठी करोड मानिसको सम्पत्ति बराबर आठ जना अर्बपतिको सम्पति भएको तथ्यांक प्रकाशित भएपछि ग्लोवलाइजेसन र समानताका लागि चर्को आवाज उठाउनेहरुको समाचार प्रमुख बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक