रजत पदकसहित श्रीलङ्काबाट फर्कियो नेपाली टोली

काठमाडौँ, ५ माघ । दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको पदक विजेता खेलाडीसहितको टोली आज स्वदेश फर्किएको छ ।

श्रीलङ्काको कोलम्बोमा यही माघ २ र ३ गते भएको प्रतियोगितामा नेपालले पुरुष महिला रेगु र डबल्समा गरी चार स्पर्धामा सहभागिता जनाएकामा सबैमा रजत पदक हात पारेको थियो ।

पुरुषमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ तथा महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डङ्गोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानले भाग लिएका थिए ।

प्रतियोगितापछि भएको दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले प्रतियोगिताको तेस्रो संस्करण २०१८ जनवरीमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । पहिलो संस्करण पनि नेपालमै भएको थियो । टोलीलाई नेपाल सेपाकताक्रो सङ्घका पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

खुकुरी कप क्रिकेटःकेसिटिसी ए र बी विजयी  

खुकुरी इनटीको आयोजनामा काठमाडौँमा जारी खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ क्रिकेट टेर्निङ सेन्टर ए (केसिटिसी ए) र केसिटिसी बी टोलीले जित हासिल गरेका छन् ।

भक्तपुरस्थित वीरेन्द्र सैनिक विद्यालयको मैदानमा आज भएको खेलमा केसिटिसी ए ले एसएमसी बानेश्वर क्लबलाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बानेश्वरले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनको योगफल तयार गरयो ।

जवाफी ब्याटिङमा उत्रेको केसिटिसी ए ले ४ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाई ५२ रन जोड्यो । केसिटिसी ए का लागि सुधिर चौधरीले २२ तथा सुमित महर्जनले २१ रनको योगदान दिए ।

यता बानेश्वरका ब्याट्सम्यान सुशील आचार्यले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बानेश्वरलाई कमैमा राख्ने क्रममा केसिटिसी ए का विपीन आचार्य र नन्दन यादवले तीन तीन विकेट लिए भने सुमित झा तथा सूर्य लामाले दुई दुई विकेट लिए ।

त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा केसिटिसी बी ले पाण्डाज क्लबलाई ६ विकेटले पराजित गर्दै विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको पाण्डाजले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन जोड्यो । पाण्डाजले दिएको ७० रनको चुनौतीलाई केसिटिसी बी ले ११ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

नेपाली सेना, सशस्त्र प्रहरीसहित १६ टोली सहभागी उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् ।

धरान क्वाटरफाइनलमा  

पोखरा– सहारा क्लब पोखराद्वारा आयोजित १५ औँ आहा रारा गोल्डकप प्रतियोगितामा धरान फुटबल क्लब नेपाल एपिएफ क्लबलाई हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विभागीय टोली एपिएफलाई धरानले १–० ले हराएको हो । विजयसँगै धरानले यही माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको १३ आँै मिनेटमा धरानका दीपक राई गोल हान्न सफल हुनुभएको थियो ।

प्रतियोगितापछि धरानका प्रशिक्षक सुवास केसीले आजको खेलमा क्लबको टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बताउँदै अर्को खेलमा अझै राम्रो गर्ने जिकिर गर्नुभयो । प्रतियोगिताअन्तर्गत बिहीबारको खेल एएनए अमेरिका फुटबल टोली र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री