आहा गोल्ड कपका लागि सहारा यूके टिम उड्यो नेपाल

लन्डन । सहारा क्लबको आयोजनामा यही १७ जनवरीदेखि पोखरामा शुरु हुन लागेको १५ औं आहा रारा गोल्ड कप २०१७ का लागि सहारा यूके टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साइंला) को नेतृत्वमा शुक्रबार सांझ एक समूह नेपाल गएको हो । सहारा यूकेबाट यो वर्ष खेलकै लागि करिब ४० जना नेपाल जाने छन् । सहारा यूकेले विगतमा बेलायतबाट खेलाडी समेत लैजाने गरेकामा केही वर्ष यता ‘हाइ कस्ट’ ले त्यो क्रम रोकिएको छ । उसले दुईवर्ष अघि बेलायती क्लव अल्डरसट एफसीलाई समेत पोखरा लगेको थियो ।

२८ जनवरीमा फाइनल हुने उक्त प्रतियोगिताका प्रथम विजेतालाई ५ लाख रुपैयां पुरस्कार छ । उक्त लोकप्रिय प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १२ टिमले भाग लिंदैछन् । सहारा यूकेले प्रत्येक दिन म्यान अफ द म्याच ट्रफी प्रायोजन गर्नेछ । मीन अध्यक्ष भएपछि उनले ट्रफीसंगै म्यान अफ द म्याच विजेतालाई तीनहजार रुपैयां नगद समेत दिने निर्णय भएको छ ।

सहारा एकेडेमीको सहयोगार्थ फुटबल प्रतियोगिता हुन लागेको हो । सहारा पोखराले सहारा एकेडेमीमा २८ असहाय तथा गरिव वालवालिकालाई संरक्षण दिइरहेको छ । सहारा यूकेका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ (साइंला) ले आफ्नो संस्थाले सहारा एकेडेमीको दुई करोडको अक्षयकोष स्थापनामा यथाशक्य सहयोग गर्ने प्रतिवद्धता अनुरुप १० लाख रुपैयां उठाइसकेको जनाए ।

सहारा यूकेले बेलायतमा खेल विकास र नेपालमा विभिन्न सामाजिक काममा आफूलाई समर्पित गरिरहेको छ । गोरखामा भूकम्पबाट क्षतिग्रस्त एक विद्यालय भवन 
पुनर्निर्माण गरिसकेको उक्त संस्थाले सिन्धुपाल्चोकमा अर्को भवन बनाउंदैछ । सहारा यूकेका संरक्षक अरुण चौधरीले ति प्रोजेक्टमा सहयोग गरिरहेका छन् ।

अध्यक्ष गुरुङले डिभिजन वानमा रहेको सहारा यूकेलाई सन्डे लिगमा खेलाउने, बेलायतमा एभरेष्ट कप फुटबल आयोजना गर्ने र नेपालको टिम बेलायत ल्याएर यहांको क्लवसंग मैत्रीपूर्ण खेल खेलाउने आफ्नो प्राथमिकता सुनाए । सहारा यूकेले सन्डे लिगमा विगत ५ वर्षदेखि खेल्दै आएको छ ।

यही जुलाइमा नेपाली टिम र अल्डरसट एफसीबीच खेल खेलाउने योजना समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री