नेपालमा जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँमा मङ्गलबार सुरु भएको ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत सहभागीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले साधन स्रोतको कमी भए पनि नेपालले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको बताउनुभएको छ ।

यहाँ आजदेखि सुरु भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधतामा आएको ह्रासले सम्पूर्ण विश्व नै आक्रान्त बनेको बताउनुभयो । उहाँले भन्नुभयो – “प्राकृतिक विविधतायुक्त नेपाल यथार्थमा विश्व जैविक विविधताको सूक्ष्म रुप मान्न सकिन्छ, यस सन्दर्भमा सम्मेलनको महत्व नेपालका लागि झन् बढी रहेको कुरामा दुई मत छैन ।”

जैविक विविधता मानव रक्षा र जीविकोपार्जनमा अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हालैका वर्षमा देखिएका जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता एवम् जीविकोपार्जनमा गम्भीर चुनौतीका रुपमा खडा भएका छन् भन्नुभयो ।

राष्ट्रपतिले विश्वव्यापी रुमपा बढ्दो उष्णतामा नेपालजस्ता मुलुकको योगदान नगण्य हुँदा पनि हिउँ पग्लने, हिमताल विस्फोटनलगायत जलवायु परिवतर्नका नकारात्मक असरबाट ती मुलुक पीडित रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको जानकारी गराउँदै उहाँले भन्नभयो – “नेपाल जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि सक्रिय भूमिका खेल्न चाहन्छ ।”

सम्मेलनमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनका असरले नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रताडित भएको धारणा राख्नुभयो । जलवायु परिवर्तनका असरले जीविकोपार्जनमा समेत गम्भीर असर पारेको बताउँदै मन्त्री जोशीले भन्नुभयो – “हामीले यस्ता समस्यासँग जुध्न अनुकूलन नीति बनाई लागू गर्दै आएका छौँ ।” जैविक विविधता संरक्षणका लागि वातावरणमैत्री विकास नीति लागू र स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उहाँको जोड थियो ।

त्रिवि उपकुलपति प्रा डा तीर्थ खनियाँ, एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक डा डेभिड मोल्डन, युएसआइडी नेपालका निर्देशक पेटेर ए मल्नक, सिटी विश्वविद्यालय न्युयोर्कका प्रा निर क्रकौर र केन्द्रीय वनस्पति विभागका प्रमुख प्रा डा मोहन शिवाकोटीले सम्मेलन जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असरसँग जुध्न विश्वस्तरमा भएका अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, कृषि विकास र वन तथा भूसंरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्व विद्यालयलगायत संस्थाको आयोजनामा भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० भन्दा बढी देशका करिब ४०० वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, वातावरणविद्लगायतको सहभागिता छ । सम्मेलनमा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाहा प्रजातिअन्तर्गतका विभिन्न वनमारा वनस्पति तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने बताइएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री