‘सरसर्ती संसार’ को बेलायत विमोचन

लन्डन । रुसका सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेद्वारा लिखित नियात्रा ‘सरसर्ती संसार’ को आइतबार लन्डनमा एउटा 
समारोहबीच लोकार्पण गरिएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् । यसअघि उक्त कृति नेपाल, तान्जानिया र रुसमा विमोचन भइसकेको छ ।

भेन्यू फाइभ रेष्टुरेन्टमा आयोजित लोकार्पण समारोहलाई सम्वोधन 
गर्दै राजदूत तथा कवि डा. सुवेदीले लामिछानेले सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैर आवासीय नेपाली अभियानका अभियन्ताबाहेक लेखकको पनि पहिचान बनाएको बताए । राजदूतले ‘नियात्रा’ अर्थात् निजात्मक यात्रा पनि भनिने विद्याका चर्चित लेखकहरुको पंक्तिमा उभिन आइपुगेका लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना रहेको टिप्पणी समेत गरे ।

हाल लन्डनमा रहेका मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले नेपालका राजनीतिकर्मीहरुले पनि उक्त पुस्तकबाट धेरै सिक्न सक्ने बताए । ‘यो उच्चस्तरको पुस्तक हो र नेपाली साहित्यमा यसले ठूलो योगदान दिनेछ’, उनले भने । उनले विदेशमा बसेका नेपालीहरुलाई एकजुट हुन पनि आव्हान गरे ।

उक्त कार्यक्रममा लेखक लामिछानेले व्यवसाय र एनआरएन अभियान विस्तारका क्रममा विदेश घुम्दाका अनुभव समेटेर कृति तयार गरेको सुनाए । यसअघि लामिछानेले पाठकहरुले किनेका पुस्तकप्रतिहरुमा हस्ताक्षर गर्नुका साथै प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

पुस्तक समीक्षा गर्दै पत्रकार नारायण गाउंलेले यात्रा र सिर्जनशीलता जोडियो भने नियात्रा जन्मिने बताए । हिन्दू धर्मग्रन्थहरुले जीवनलाई यात्रा र संसारलाई एउटा बिसौनीको संज्ञा दिएको चर्चा गर्दै उनले यात्राले जीवनलाई स्वच्छ, सुन्दर र सार्थक बनाउने धारणा 
राखे । २२० पृष्ठमा अटाएका २९ वटा संस्मरणमा लेखकको तथ्यगत सचेतता, मनोहर भाषा शैली, आख्यानतत्व र इतिहासचेत व्यक्त भएको गाउंलेको ठम्याइ थियो ।

एनआरएनएका पूर्व प्रवक्ता तथा सल्लाहकार डा. हेमराज शर्माले 
‘सरसर्ती संसार’ पुस्तकका प्रत्येक अध्यायमा नेपालप्रतिको मोह र नेपाल विकसित हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको बताए । उनले एनआरएन अभियान र व्यवसाय सम्बन्धि आफ्नो अनुभवबारे पनि छुट्टाछुट्टै पुस्तक लेख्न लामिछानेलाई सुझाव दिए ।

पत्रकार फडिन्द्र भट्टराईले संसारको जुनसुकै ठाउं पुगे पनि लेखकले नेपाललाई संगसंगै लिएर गएको र विकसित नेपालको कल्पना गरेको बताए । एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले लामिछानेको नेतृत्वमा एकहजार जना गैर आवासीय नेपालीले एउटा इन्भेस्टमेन्ट कम्पनी खोलेर नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेको स्मरण गर्दै उनको कार्यकुशलताको प्रशंसा गरे । आचार्यले आगामी दिनमा पनि लामिछानेबाट मार्गदर्शन प्राप्त भइरहने आशा व्यक्त गरे ।

ब्रिटेनका लागि नेपालका पर्यटन दूत पशुपति भण्डारीले लामिछानेलाई नेपालका पर्यटकीय स्थलहरुबारे पनि लेख्न अनुरोध गरे भने एबीआइ कलेजका सिइओ कृष्ण भट्ट तथा एनआरएनए आइसीसी सदस्य संगीता मरहट्टाले पनि पुस्तकबारे चर्चा गरेका थिए । कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले 
सरसर्ती संसार पुस्तकको एउटा अध्याय वाचन गरे भने पत्रकार नरेन्द्र बस्नेतले लामिछानेको जीवनीबारे तयार पारिएको अडियो 
प्रोफाइल सुनाए ।

नेपालब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सोही अनलाइनका निर्देशक एवं एनआरएनए आइसीसी सल्लहकार विश्वप्रकाश पण्डितले स्वागत मन्तव्य दिए । नेपालब्रिटेन डटकमका अर्का निर्देशक कमल भण्डारीले अतिथिहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।

नेपालब्रिटेनडटकमद्वारा आयोजित उक्त कार्यक्रम पत्रकार चिरन शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनका अगुवाहरु, भूतपूर्व गोर्खा र तिनका परिवार, व्यवसायी, समाजसेवी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री