राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई तमु प्ये ल्हुको स्वागत

tpls1

लन्डन । तमु प्ये ल्हु संघ यूकेले बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा उनकी धर्मपत्नी श्रीमति पुनम सुवेदीलाई एक विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । गत १९ डिसेम्बर, सोमबार गोल्डेनसीप रेष्टुरेण्ट ह्यारो, लन्डनमा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली राजदूतावास र तमु प्ये ल्हु संघ यूकेको गहिरो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजान र नवनियुक्त महामहिम राजदूत डा. सुवेदी र संघका पदाधिकारीबीच परिचय गराउन आयोजना गरिएको उक्त कार्यक्रम संघका अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा संघको परिचय तथा औचित्य, बेलायतमा रहेका गोर्खालगायत नेपाली समुदायको वर्तमान अवस्था र तमु प्ये ल्हु संघ यूकेले गरेका कार्य, तमु जातिको प्येताँ ल्हुताँ र ऐतिहासिक पृष्ठभूमि, सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाबारे संघका सचिव भेग च्हाक्ली तमु, पूर्व सल्लाहकार डा. चन्द्र बहादुर प्ल्होने–लेम तमु, प्राध्यापक नारायण ल्हेँगे तमु र प्रमुख सल्लाहकार तथा निर्माण समितिका संयोजक क्या. डेम बहादुर योज तमुले राजदूतलाई अवगत गराएका थिए ।

कार्यक्रममा राजदूत सुवेदी र उनकी धर्मपत्नी सुवेदीलाई संघका अध्यक्ष सोम त्होर्जे तमु र उनकी धर्मपत्नी श्रीमती बविता प्हच्यु तमुले क्रेगी, भांग्रा र क्रमु ओढाई पुष्पागुच्छाले स्वागत तथा सम्मान गरेका थिए । सम्मानपछि छोटो मन्तव्य राख्दै सुवेदीले संघले ल्याएको योजना तथा अन्य कार्यमा आफ्नो स्थानबाट हुन सक्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तमु प्ये ल्हु संघले गरेको सम्मानको प्रशंसा गर्दै उनले संघसँग सहकार्य गर्दै जाने र सधैँ माया पाइरहने अपेक्षासहित दूतावासको तर्फबाट सदा माया र सद्भाव बाँडिरहने बताए ।
उनले सन् २०१७ मार्च सम्ममा नेपाल र बेलायत सम्बन्धको २०० वर्ष पूरा भएको अवसरमा सप्ताहव्यापी महोत्सव गर्ने तयारी गरिरहेको र सो महोत्सवमा सबैलाई सहयोग गरिदिन पनि आग्रह गरे ।

आयोजक संस्थाका अध्यक्ष सोम त्होर्जे तमुले नवनियुक्त राजदूतले शुरु गरेको कदम र प्रतिवद्धताहरुको स्वागत गर्दै तमु प्ये ल्हु संघ यूकेले दूतावाससँग नजिक रहेर सदा सहकार्य गर्दै जाने र दूतावासले आयोजना गर्न गइरहेको महोत्सवमा संघले पूर्ण रुपमा सहयोग र सहभागिता जनाउने वचन दिए ।

tpls2

प्रतिक्रिया

सम्बन्धित सामाग्री