युकेमा सडक दुघर्टनामा पैदल हिँडिरहेकी नेपाली महिलाको निधन

radhika

लण्डन । युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ ।
बेलायतको स्थानीय समयअनुसार राति करिब ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । स्थानीय सर्रे प्रहरीले सोको पुष्टी गरेको छ ।
आर्नोल्ड रोडको जंक्सन नजिकै भएको सो दुर्घटनामा सेतो रंगको बीएमडब्यु कार र नीलो रंगको पेजट कार आपसमा ठोक्किएको र नीलो कार उछिट्टिएर पुटपाथमा हिँडिरहेकी राधिकामाथि बज्रिन पुगेको बताइएको छ ।

उनलाई तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केही बेरमै मृत घोषणा गरेको स्थानीय गेटसर्रे डटकमले जनाएको छ ।
संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्व गोरखा सैनिक (२११६३७१७) धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (स‌म्योजन)  समितिका संयोजक गणेश रानामगरले जानकारी दिए । धर्मराज गुरुङ संखुवासभा समाज युकेको संरक्षक र संखुवासभा समाज हङकङको संस्थापक संरक्षक हुन् भने स्वर्गीय श्रीमती राधिका गुरुङ संखुवासभा समाज युके महिला समितिकी वरिष्ठ सदस्य थिइन् ।
दुर्घटना भएका बखत श्रीमती गुरुङ काम सकेर घर फर्कदै गरेको बताइएको छ । सदा घर फर्कने समयसम्म पनि उनी घर नआएपछि परिवारले उनको मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।
उनको एक छाेरा इन्जिनियर मिराज गुरुङ र चार छाेरीहरु मेजिना, मिसान, सोफिन र रोजिना छन् ।

monument-dead

घटनास्थल: तस्वीर गेटसर्रे डटकम

प्रतिक्रिया

सम्बन्धित सामाग्री