बेलायती सांसद जो नेपालीसंग भुतुक्कै हुन्छन्

sharma-nepal-visit

लन्डन । बेलायतस्थित नेपाली डायष्पोरासंग अति निकट छन् बेलायती सांसद बीरेन्द्र शर्मा । लन्डन इलिङ तथा साउथहल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद शर्माको सहभागिता नेपालीका हरेक महत्वपूर्ण कार्यक्रममा निश्चित जस्तै छ । भूपू गोर्खा आन्दोलनमा उनको ऐक्यवद्धता कहिल्यै टुटेन । ‘म नेपालीबाट पाएको आतिथ्य, माया र सद्भावले प्रसन्न छु’, शर्माले भने ।

ब्रिटेनको सर्वदलीय संसदीय समूह (नेपाल) का सभापति सांसद शर्मा नोभेम्बर तेश्रो साता नेपाल घुमेर फर्किए । उनले पशुपति मन्दिर दर्शनदेखि वरिष्ठ राजनीतिज्ञलाई भेटे । नेपाल भ्रमणको चांजोपांजो महिला समाजसेवी आरती श्रेष्ठले मिलाएकी थिइन् । नेपलिज वुमन असोसिएसन यूकेकी अध्यक्ष हुन् आरती । शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रिजनर्स असिस्टेन्स नेपालकी अध्यक्ष इन्दिरा रानामगर, काठमान्डूस्थित बेलायती राजदूत, भूपू गोर्खा र तिनका परिवार, अटिजम केयर नेपाल प्रतिनिधि लगायतलाई भेटेका थिए । उनी भूकम्प पीडितहरुको सहयोगार्थ आयोजित च्यारिटीमा समेत सामेल भए ।

virendra-sharma

 

‘नेपाल भ्रमण अविष्मरणीय रह्यो’, चौंथो पटक नेपाल घुमेर फर्किएपछि शर्माले भने, ‘बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्वन्ध, नेपालीको आत्मिय भाव, भूपू गोर्खा मुद्दा र भूकम्पपछि पुनर्निर्माण प्राथमिकताले पनि मलाई नेपाल घुम्न प्रेरित गरिरहेको छ ।’

आफू भूपू गोर्खाका लागि लडिरहेको जनाउंदै शर्माले उनीहरुलाई समान पेन्सन दिइनुपर्ने आफ्नो अडान दोहोरयाए । ‘अध्यागमन समस्याले भूपू गोर्खाका परिवार दुईतिर छरिएका छन् । उनीहरुलाई निसर्त आवासीय अधिकार दिइनुपर्छ’, उनको माग छ ।

नेपाल सरकारको आग्रहमा बेलायतले भूपू गोर्खा मुद्दामा वार्ता गर्न ढोका खुल्ला रहेको बताएपछि शर्माले वार्ताले सकारात्मक नतिजा ल्याउने आशा समेत व्यक्त गरे । ‘आगामी सातादेखि पहिलो चरणमा कुटनीतिक 
स्तर र पछि मन्त्रीस्तरिय वार्ता हुनेछ । यसबाट म आशावादी छु’, उनले भने ।

सांसद शर्माले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने आफ्नो पहिलो प्राथमिकता रहेको पनि जानकारी दिएका छन् । नेपाल भ्रमणका लागि प्रधानमन्त्री टेरेजा मेलाई लिखित रुपमा आग्रह गरिसकेको र अब सार्वजनिक रुपमा फेरि छिट्टै आग्रह गर्ने शर्माले बताए । उनले बेलायतमा नेपाली समुदायले धेरै योगदान गरिरहेको उल्लेख गर्दै अब नेपाली पनि मुलधारको बेलायती राजनीतिमा आउन सुझाए ।

sharmaaa

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री