६ महिना पनि टिकेनन् नेपाली मेयर

 

mayor-shankar-gaire

लन्डन । बेलायतका पहिलो नेपाली मेयरले काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै राजिनामा दिएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि कन्जरभेटिभ पार्टीबाट करिब ६ महिनाअघि मेयर निर्वाचित शंकर गैरेले आफूलाई असफल गराउने षडयन्त्र भएको भन्दै सोमबार राती दश बजे काउन्सिल बैठकसमक्ष राजिनामा दिएका हुन् ।

बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती गैरेको अझै ६ महिना कार्यकाल बांकी थियो । घृणित राजनीतिक खेल भएको आक्षेप लगाउंदै उनले दशक यता आफू सक्रिय कन्जरभेटिभ पार्टीबाट समेत राजिनामा दिएको घोषणा गरेका छन् ।

‘दुई महिनायता चिफ एक्जुकेटिभ, लिडर अफ टाउन काउन्सिल लगायत 
कर्मचारीहरुले नै मलाई असहयोग गरे । रेसिजम (जातीय भेदभाव) पनि हुन थालेपछि म आफू असफल सावित हुनु अघि नै राजिनामा दिएं’, गैरेले भने, ‘आएको निमन्त्रणा समेत नदिने, मेरो सहमति नलिने, केही गर्न खोज्यो सहयोग नगर्ने र रेसिजम हुन थालेपछि मैले उक्त पदमा बस्न चाहिन ।’

चुनाव जितेरै निर्वाचित भएकाले उनी र श्रीमति लक्ष्मी गैरे ४ वर्ष इन्डिपेन्डेन्ट काउन्सिलर भने रहिरहनेछन् ।

राती दशबजे पूर्ण काउन्सिल बैठकमा दुई पेज लामो राजिनामा पत्र सुनाउंदै उनले भने, ‘मैले समुदायलाई केही सेवा गर्ने उद्देश्यले आएको थिएं । तर, कार्यकारी पदमा रहेका कर्मचारीका बोली, काम गराइ र व्यवहारले म 
अपमानित भएं, काम गर्ने वातावरण रहेन ।’ केही काउन्सिलरहरुले सहेर बस्न आग्रह गरेपनि त्यो आफ्नो सिद्धान्त र गुणमा नपर्ने भएकाले तत्काल राजिनामा दिएको गैरेले बताए । आफ्नो अनुमति बिना नै मेयर अलाउन्स समेत खर्च गरिदिने गरेको गुनासो समेत राजिनामा पत्रमा छ ।

गैरेले स्थानीय जनताबाट भने पूर्ण सहयोग र माया पाएको उल्लेख 
गर्दै उनीहरुप्रति आभार व्यक्त गरेका छन् ।

ट्याक्सी व्यवसाय चलाइरहेका गुल्मी रुपाकोट निवासी गैरे सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका थिए भने त्यसै साल उपमेयर र ६ महिनाअघि वर्ष मेयर बन्न सफल भएका थिए ।
स्वान्ली टाउन काउन्सिलमा गैरेले करिब १७ हजार जनसंख्यालाई प्रतिनिधित्व गरेका थिए । सन् १९९४ मा बेलायत प्रवेश गरेका उनी स्वान्ली क्षेत्रमा चाहिं विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमति काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् । सन् २००७ देखि उनी कन्जरभेटिभ पार्टीको सक्रिय सदस्य थिए । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री