भारतीय राष्ट्रपति आउंदा यस्तो हुंदैछ पोखरामा

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाली सेनाको एक टोलीले गरेको सम्मान गारत अर्पण ग्रहण गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाली सेनाको एक टोलीले गरेको सम्मान गारत अर्पण ग्रहण गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

पोखरा, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण र सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समिति एकजुट भई आ–आफ्नो जिम्मेवारी अनुसार कामलाई तीव्रता दिएका छन् ।

क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार उपसमितिले तोकिएको जिम्मेवारीलाई विहिवार बेलुकासम्म सम्पन्न गर्ने गरी क्रियाशील बनेका छन् । सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको बताउँदै उहाँले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास विहिवार गर्न लागिएको जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको पनि क्षेत्रीय प्रशासक बरालले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रेभत्केका सडकको मर्मत गरिएको छ भने विभिन्न नौ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताउनुभयो ।

उहाँले राष्ट्रपति मुखर्जीको सवारी हुने मुख्य मार्गमा त्यहाँका स्थानीयवासी समेतको सहकार्यमा सरसफाइ कार्य पनि अघि बढाइएको बताउनुभयो ।

राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयवासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम रहेका छन् ।

स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उहाँको सम्मानमा विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम छ ।

स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी दिँदै उहाँले राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाट समेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिनुभयो ।

प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री