लन्डन । उनलाई कल्पनासम्म थिएन सानै उमेरमा त्यो नियति भोग्नु पर्ला भनेर । कल्कलाउंदो र करिअर बनाउने उमेरमा आमा बितेपछि प्रियाश्री बुढाथोकी क्षेत्री (बिसी) मा कम बज्रपात परेन । केही मनकारी नेपाली सहयोग बोकेर निवास पुग्दा उनले गहभरी आंशु पार्दै भनिन् ‘न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै । यति टाढा सात समुद्रपार आएर पनि नेपाली चेलीलाई यस्तो विपद पर्दा जुन सहयोग र आश्वासन दिनु भयो, मेरो मरिसकेको इच्छा पुनः एकपटक पलाएर संसारमा मानवता भन्ने चिज अझै जिवितै रहेछ भन्ने लाग्यो । म यो सहयोग र तपाईंहरुले देखाउनुभएको सद्भाव जिन्दगीभर भुल्ने छैन् ।’
रुकुमकोट, रुकुममा जन्मिएर यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टका रुपमा कार्यरत ३९ वर्षीया विष्णुकुमारी बुढाथोकीको गत अक्टोबर १२ तारिख हृदयाघातबाट अल्पायुमै निधन भएपछि निजी खर्चमा एमबीबीएस दोश्रो वर्षमा अध्ययनरत छोरी प्रियाश्री र छोरा प्रितम प्रतापका आंखा ओभाना छैनन् ।
गत सेप्टेम्बर ३० दिउसो अचानक हृदयाघात भएपछि बुढाथोकीलाई हेयरफिल्ड अस्पताल लगिएको थियो । अचेत अवस्थामा अस्पताल पुरयाइएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २, ३ पटक मुटुको शल्यक्रिया समेत गरे तर, उनलाई बचाउन सकेनन् ।
डाक्टरको सल्लाहमा जिल्लावासी वीरप्रसाद घर्तीमगर र नन्द क्षेत्रीको सहयोगमा प्रियाश्री र प्रितम प्रताप अक्टोबर ११ मा बेलायत आइपुगेका थिए । दशैं टिकाको दिन दुवै छोराछोरी नेपालबाट आइपुगे तर त्यसको एक दिनपछि १२ अक्टोबर बिहान आमाको निधन भयो । स्वर्गीय बुढाथोकीकी छोरी प्रियाश्री र छोरा प्रितमप्रतापले आफ्नी आमालाई अचेत अवस्थामा देख्नसम्म पाए तर दोहोरो कुरा गर्ने सपना अधुरै रह्यो ।
आमा बितेपछिको कहाली लाग्दो जिवनयात्राबारे प्रियाश्री भन्दै थिइन्, ‘मामुले दुःख सुःख भर्ना गरी पहिलो किस्ता तिरिदिएर हाल म कोहलपुरमा एमबीबीएस दोश्रो वर्षमा पढ्दैछु । पांच वर्षका लागि फि मात्र ४४ लाख र आवास खाना गरेर करिब ६०, ६५ लाख रुपैयां लाग्छ । भाई अहिले प्लस टु सकेर उच्च शिक्षाका लागि भर्ना हुनुपर्नेमा अचानक जिवनको एकमात्र साहारा मामुले छाडेर गएपछि हाम्रो त विचल्ली भयो ।’
क्षेत्री समाज बेलायतले स्वतः स्फूर्त संकलन गरेको एक हजार ५ सय ४७ पाउण्ड (करिब दुई लाख रुपैयां) हस्तान्तरणका लागि शनिबार सांझ लन्डन स्टयानमोर पुगेका समाजका अध्यक्ष क्या (रि.) धन बहादुर कुंवर, सल्लाहकार रामशरण सिम्खडा, सचिव कुमार केसी र आपतकालीन कोष संयोजक प्रतिमा केसी लगायत उपस्थित सबै प्रियाश्रीको कारुणिक अवस्था बुझेर विक्षिप्त देखिन्थे । सहभागीको बोल्न नसक्ने गरि गला अवरुद्ध भएको थियो । पुरै बोल्न असमर्थ समाजका अध्यक्ष धन कुंवरले यस्तो अवस्थामा आफूहरुको सहयोग सानै भएपनि साथ र भरोसा सधैं छ भन्दा माहोल थप स्तब्ध बन्यो । समाजका सल्लाहकार रामशरण सिम्खडाले
प्रियाश्रीलाई ‘तिम्रो पढाई बीचैमा छाड्ने दिन सकभर हामी हुन दिने छैनौं’ भन्दा वातावरण झनै करुणामय बनेको अनुभूति हुन्थ्यो ।
छोरा छोरी सानै थिए । श्रीमानको न्यानो मायांबाट वञ्चित भएपछि जिविकोपार्जन र दुई सन्तानको उज्ववल भविष्यका लागि विष्णुकुमारी यूके भासिएकी थिइन् । तर, दुर्भाग्य हृदयघातले उनलाई अल्पायुमै लग्यो ।
राप्ती समाज यूके, क्षेत्री समाज यूके, नेपाली कम्युनिटी वाटफोर्ड यूके लगायत बुढाथोकी कार्यरत अस्पतालका सहकर्मीहरुबाट केही आर्थिक सहयोग जुटेपनि आमाको अल्पायुमै भएको निधनले भविष्यका कर्णधार दुई छोराछोरीको आगामी दिन कष्टकर र अंध्यारो हुने निश्चित छ ।
कसलाई के थाहा सधैं खुसी र हंसिली देखिने बिष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को यस्तो असामयिक निधन होला भन्ने । बेलायतमा क्रियाशील संघसंस्थाहरु विशेष गरि एनआरएनए यूके, यती नेपाली असोसिएसन यूके लगायत अन्य संघसंस्थाले आपतको बेला चासो र सद्भाव सहित सहयोगको हात फैलाउनुपर्ने आवश्यकता यहां सबैले देखेका छन् ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु