धुर्मुस–सुन्तलीले गरे एकीकृत नमुना बस्ती हस्तान्तरण

राष्टपति विद्यादेवी भण्डारी, उद्योगमन्त्री नवीन्द्रराज जोशी, सांसद अग्नि सापकोटा लगायत सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले शुक्रबार आयोजना गरेको एकिकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सहभागी हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

मेलम्ची (सिन्धुपाल्चोक), १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औँल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकिकृत नमुना बस्ती । तस्बिर ः रोशन सापकोटा, रासस

सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकिकृत नमुना बस्ती । तस्बिर ः रोशन सापकोटा, रासस

राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो–“अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।”

समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुना बस्ती सरकारका लागि सिक्नलायक विषय भएको उल्लेख गर्दै यसखालका अभ्यासलाई देशका अन्य भागमा पनि लागू गर्न सकिने बताउनुभयो ।

सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताउनुभयो ।

अर्का सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर कलाकारधुर्मुस–सुन्तलीले ठूलो पुन्य कमाएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुनाबस्ती उदाहरणीय भएको बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताउनुभयो ।

रु पाँच करोड १४ लाख ३९ हजार १८७ को लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री