बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजीमा लागेका गोताखोर त्यसै फर्किए

25092016094842accident_3-1000x0

चितवन, १८ असोज । त्रिशूली नदीमा असोज– ९ गतेदेखि बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उहाँका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ ।
सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो ।

पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किएको हो ।

कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाकाअनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । उहाँका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उहाँले बताउनुभयो ।

सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ ।

यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो ।

सशस्त्र प्रहरीको कुरिनटारमा रहेका १२ जनाको विशेष टोली दिनहुँ खोजीकार्यमा जुटिरहेको छ । नेपाली सेनाको गोताखोरले पनि खोजीकार्यलाई जारीे राखेपनि उपलब्धि हासिल गर्न सकेको छैन । प्रहरी उपरीक्षक थापाका अनुसार कति गहिराइमा के वस्तु छ र पानीको तापक्रम कति छ भन्ने मापन गर्ने सोनार, पानीभित्र हेर्न मिल्ने क्यामरा, वस्तु तान्न मिल्ने रयाकर, हुकिङ स्टिमलगायतका उपकरण प्रयोग गरी खोजीकार्य जारी राखिएको छ ।

सशस्त्र प्रहरीले दुर्घटनास्थलदेखि नवलपरासीको सुस्तासम्म ठाउँठाउँमा फरक÷फरक समूह बनाइ खोजीकार्य जारी राखेको उहाँले बताउनुभयो । सुस्ता, त्रिवेणी, बेल्डिया, नारायणी नदीको पुल, देवघाट, घुमाउने, जलबीरे, मुग्लिन र दुर्घटनास्थल नजिकका सशस्त्र प्रहरीका युनिट मार्फत खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीले पनि आफ्ना इकाई मार्फत नदीका ठाउँठाउँमा खोजी जारी राखेको छ । नेपाली सेना पनि आफ्नै किसिमबाट खोजी कार्यमा जुटिरहेको छ ।

यसैबीच केही दिनअघि घिमिरे चढेको गाडी हुनसक्ने भनी गरिएको खोजी कार्यमा यसअघि खसेको ट्रकका केही सामान फेला परेका छन् । प्रहरी उपरीक्षक थापाले सो ठाउँमा सानो गाडी नभएको प्रष्ट भएको बताउनुभयो । उहाँले ट्रकको साइलेन्सर पाइप, ट्रकका विभिन्न भागका केही अंश मात्र भेटिएको बताउनुभयो ।

पूर्वगृहमन्त्रीको खोजी जारी

उपप्रधानमन्त्री विमलेन्द्र निधिले यही असोज ९ गते चितवनको घोप्टेभिरमा भएको जिप दुर्घटनामा परी बेपत्ता हुनुभएका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको खोजीलाई निरन्तर जारी राखेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री निधिले पूर्व गृह तथा परराष्ट्रमन्त्री घिमिरेका परिवारजनको निर्णयानुसार उहाँ दिवङ्गत भएको ठानेर यही असोज १४ गते कुशको प्रतीक बनाई अन्तिम संस्कार गरिएको पनि जानकारी दिनुभयो । गृहमन्त्रीले उक्त दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको पनि बताउनुभयो ।

गृहमन्त्री निधिले बितेका दुई महिनामा सवारी दुर्घटनामा परी तीन सय आठ जनाको मृत्यु भएको जानकारी पनि दिनुभयो ।

सांसदले सदनको शून्य र विशेष समयमा उठाउनुभएको प्रश्नको जवाफ दिने र जनप्रतिनिधिमूलक संस्थाको गरिमालाई उच्च बनाउने लक्ष्यका साथ आफूले जवाफ दिने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री निधिले सांसद योगेन्द्र तामाङ घिसिङ, यज्ञराज सुनुवार, विकास लम्साल, रामहरि खतिवडा, गुरुप्रसाद बुर्लाकोटी, रेखा शर्मा, योगेन्द्र चौधरी लगायतले गृह प्रशासन, बाढीपहिरो, भूकम्पपीडितले राहत नपाएको लगायत विषयमा सदनका विभिन्न बैठकमा उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो ।

गृहमन्त्री निधिले पछिल्लो दिनमा बढ्दो सवारी दुर्घटना न्यून गर्न नीतिगत रुपमा समेत कडा व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । सोका लागि आवश्यक सहयोगका निम्ति सरोकार भएका पक्षलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री