काठमाडौँ, १५ असोज । कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज विशाल वारियर्सविरुद्धको निर्णायक खेलमा वर्षा बाधक बनेपछि कलर्स भाग्यमानी बन्दै फाइनलमा प्रवेश गरेको हो ।
आज अपराह्न टस जितेर ब्याटिङ गर्न गएको कलर्सले ३.४ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीलाई एक÷एक प्रदान गरियो । सो एक अङ्कले अन्नतः कलर्सलाई फाइदा भयो । यसअघिका चार खेलमा कलर्सले छ अङ्क बनाएको भने समान खेलमा विशालको पाँच अङ्क मात्र थियो । वर्षा बाधक भएपछि अङ्क बाँडिदा एक अङ्कले अगाडि रहेको कलर्सलाई फाइदा भयो । कलर्स लिगको दोस्रो हुँदै फाइनलमा प्रवेश गर्न सफल रह्यो ।
अब प्रतियोगिताको फाइनल खेल पाँच खेलमा सबै जित निकालेर लिगमा शीर्ष स्थानमा रहेको पञ्चकन्या तेज र कलर्सबीच सोमबार हुनेछ । छ टोली समावेश प्रतियोगिता राउन्डरोबिनका आधारका खेलाइएको हो ।
आजै भएको पहिलो खेलमा जगदम्बा राइनोजले सगरमाथा लेजेड्सलाई आठ विकेटले हरायो । तर त्यो नजिजाले फाइनल समीकरणलाई भने खासै असर गनेन ।
लिगमा विशाल तेस्रो, जगदम्बा चौथो, कान्तिपुर गोर्खाज पाचौँ तथा सगरमाथा अन्तिम स्थानमा रहे ।