
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रेस सेन्टर नेपाल चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
उहाँको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।
नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो । चीन सरकारले निर्माण गरिदिएको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको भन्दै उहाँले नेपालका महान् नेताका नामबाट बनेको अस्पताल भएकाले पनि यसको महत्व छुट्टै रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
अस्पतालमा उपकरण पुराना हुँदा उपचारमा समस्या आएको भन्दै यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिदिन उहाँले आग्रह गर्नुभयो । क्यान्सर अस्पतालमा हाल ५२ जना विशेषज्ञसहित ५७९ जना कर्मचारी कार्यरत रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रधानमन्त्री दाहालले अस्पतालका सम्पूर्ण विभागमा पुगी त्यहाँ रहेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्नुभएको थियो । उनीहरुले प्रधानमन्त्रीसँग अस्पतालको उपचार सेवामा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा भारत र भुटानका बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।
प्रधानमन्त्रीद्वारा कार्यालय प्रमुखहरुलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका काम छिटो छरितो ढङ्गबाट सम्पादन गर्न जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘‘नेपालमा अपारदर्शी, ढिलासुस्तीको प्रवृत्ति बढेकाले यसलाई सुधार गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो ।
पुँजीगत खर्च बढाउनु पर्ने बताउँदै आयोजना समयमै सम्पन्न गर्न पनि उहाँको निर्देशन थियो । प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्य र जनतालाई सेवा सुविधा दिन कर्मचारी इमान्दारीपूर्वक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “जनता र विकासका पक्षमा उदाहरणीय काम गर्नुहोस्, त्यसबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।” राजनीतिले निर्देशन गर्ने र प्रशासनले कार्यान्वयन गर्ने हो भने देश र जनताको पक्षमा उल्लेखनीय काम हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था लागू गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब गर्नेलाई कारबाही गर्ने प्रथाको विकास गर्नुपर्ने बताउनुभयो । सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ