दारेचोक (चितवन), ११ असोज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको आज निरीक्षण गर्नुभएको छ ।
गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुग्नुभएका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न निर्देशन दिनुभयो ।
यही असोज ९ गते मुक्तिनाथबाट काठमाडौँ आउँदै गर्दा पूर्व परराष्ट्रमन्त्री घिमिरे परिवार स्थानीय घोप्टेभिरमा दुर्घटनामा परेको थियो ।
घिमिरेको स्थिति छिटो पत्ता लगाउन रेग्मीको आग्रह
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले आज विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई घिमिरेको खोजी र उद्धारमा अत्याधुनिक उपकरणको प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
रेग्मीले पूर्व गृहमन्त्री घिमिरे तथा उहाँका भाइहरुको अवस्था हालसम्म अज्ञात हुनाले आफू अत्यन्त दुःखित भएको जनाउँदै उहाँहरुको स्थिति पत्ता लगाई यथाशक्य छिटो सार्वजानिक गर्न विशेष आग्रह गर्नुभयो ।
तीर्थबाट फर्कने क्रममा पूर्वपरराष्ट्रमन्त्री घिमिरेसहित उहाँका भाइहरु चढेको गाडी यही असोज ९ गते चितवनको दारेचोक गाविसको घोप्टेभिरमा दुर्घटनामा परेको थियो । हालसम्म घिमिरेसहित उहाँका भाइहरुको अवस्था अज्ञात नै छ ।