दशैंको मुखमा नारायणगढ–मुग्लिन सडक सहज बनाउन निर्देशन

नारायणढ मुग्लिन सडक खण्डको आज अवलोकन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस

नारायणढ मुग्लिन सडक खण्डको आज अवलोकन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस

चितवन, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडकखण्डको आज निरीक्षण गरी चाडपर्व नजिकिएकाले यात्रुलाई सहज हुने गरी आवागमन सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

बाटो चौडा गर्ने क्रममा घन्टौँसम्म जाममा बस्न बाध्य भएको जनगुनासो बढिरहेका बेला मन्त्री लेखकले चाडपर्वभरि आवागमनमा बाधा नपुग्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले दोहोरो सवारी आवागमन नरोकी अन्य काम गर्नुपर्ने बताउनुभयो । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरे कारबाही गरिने बताउँदै उहाँले आयोजनामा खटिएका कर्मचारीलाई जिम्मेवार बनेर तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

प्रजिअ विनोदप्रकाश सिंहको रोहबरमा सडक निर्माणस्थलमै आयोजनाका प्रमुख र इन्जिनियरलाई समेत राखेर मन्त्री लेखकले काममा ढिलासुस्ती गरे कारबाही गरिने चेतावनी दिनुभयो । कामको गुणस्तर अनुगमन गर्न पनि उहाँको निर्देशन थियो । “कमजोर काम गरेर कसैले ठग्न नपाओस्, कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ”–मन्त्री लेखकले भन्नुभयो ।

आयोजनाले आजदेखि नै चाडपर्वभरि बाटो नरोकी काम गर्ने जनाएको छ । हालसम्म ठाउँ ठाउँमा समय समयमा सडक रोकेर चौडा गर्नुपर्दा यातायात अवरुद्ध भई सडक पार गर्न यात्रुलाई घन्टौँ लाग्ने गरेको छ । आयोजनाले सडकमा भएका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गर्न लगाएको छ जसका कारण सवारी गति बढ्न थालेको छ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैँमा सो सडक हुँदै यात्रा गर्नै यात्रु सवारी जाममा नपरुन् भन्नाका लागि उच्च सतर्कता अपनाइएको छ । कहीँकतै पहिरो खसे तत्काल पन्छाउने व्यवस्था गरिने तथा सडकमा खाल्डाखुल्डी सम्याउने र धुलो कम गर्न पानी छर्कने काम समेत हुने उहाँले बताउनुभयो ।

ठेक्का दिँदा विसं २०७४ वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । विसं २०७२ वैशाखदेखि सडक चौडा पार्ने काम थालिएको हो ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि र १६ किलोदेखि आँपटारीसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदै छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । ‘एसियाली राजमार्ग’अन्तर्गतको ‘ए एच ४ टु’ खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड पर्छ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालका कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कं, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कं र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कंलाई ठेक्का दिइएको छ । राजधानीबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहन्छ । सो सडक हुँदै दैनिक आठ, नौ हजार सवारीसाधन आवातजावत गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री