संवैधानिक प्रावधान पालनामा प्रेसको सहयोगी भूमिका हुनुपर्छ ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो ।

समाजमा अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहम् दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गका रुपमा रहेको उल्लेख गर्दै उहाँले पत्रकारिता पेसालाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पत्रकारिता पेसाका मूल्य तथा मान्यतालाई आत्मसात् गरी लोककल्याणकारी राज्यले अङ्गिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अङ्गले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो । यो पेसालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाई जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढी व्यापक र संवेदनशील हुँदै गएको र सञ्चारमाध्यममा पनि प्रतिस्पर्धा बढेको चर्चा गर्दै यस्तो अवस्थामा नियमनकारी निकाय÷संस्थाको हैसियतमा काउन्सिलले यसैअनुरुप आफ्नो दक्षता पनि बढाउन आवश्यक रहेको औँल्याउनुभयो ।

“सञ्चारमाध्यममा भएको वृद्धिसँगै उत्पन्न हुने समस्याको यथोचित समाधान गर्दै नेपाली पत्रकारिता जगत्लाई अझ निष्पक्ष, दिगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ” – उहाँले भन्नुभयो ।

उहाँले २०६२÷६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक तथा युगान्तकारी घटनामा नेपालको सञ्चार जगत्ले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।

राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अङ्गको ध्यान देशलाई दु्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार क्षेत्रले लोकतन्त्र, मौलिक हक, मानवअधिकार तथा देशका अल्पसङ्ख्यक, महिला, बालबालिका र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता आलोचनात्मक हुनुपर्नेमा जोड दिँदै निडर भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । “पत्रकारको तागत कलममा हुन्छ, सत्ता र शक्तिलाई हल्लाउनु पर्दछ” उहाँले भन्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई समावेशी बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्कीले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भए पनि गुणस्तरमा वृद्धि हुन नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमले विषयवस्तुमा केन्द्रित भएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री