संयुक्त राष्ट्रसङ्घ (अमेरिका), ५ असोज । संयुक्त राष्ट्रसङ्घका महासचवि वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गर्नुभएको छ ।
राष्ट्रसङ्घको महासभालाई सम्वोधन गर्दै महासचिव मुनले मङ्गलबार यी दुई विषयलाई यस वर्षभरी महत्व दिन आग्रह गर्नुभएको हो ।
विश्वभरी हिंसा रोक्न आह्वान गर्दै उहाँले भन्नुभयो, “सबैका लागि मेरो स्पष्ट सन्देश यो छ की, तपाइका जनतालाई बचाउनुस्, लोकतन्त्रलाई खतरामा नपार्नुस्, श्रोतसाधनको अत्याधिक दोहन नगर्नुस्, आलोचकलाई थुन्ने तथा पीडा दिने नगर्नुस् ।”
मुनले सिरियाली सरकारले आफ्नै नागरिकको हत्या गरिरहेको जिकिर गर्दै तत्काल युद्ध रोक्न अपिल गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका बारेमा हेलचक्र्यार्इँ गर्न अव समय बाँकी नभएको भन्दै यस वर्ष पेरिस सम्झौतालाई कडाइका साथ व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो ।
महासचिव मुनले २६ ओटा देशले मात्रै जलवायुका बारेमा सम्झौताअनुसारको काम गर्ने प्रयास गरेको बताउनुभयो ।
उत्तर कोरियाले श्रीङ्खलाबद्ध तरिकाले परमाणु बम परीक्षण गरिरहेको प्रति लक्षित गर्दै उहाँले आफ्नो बाटो परिवर्तन गर्न उत्तर कोरियालाई आग्रह गर्नुभयो ।
सो अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका साझा मुद्दाहरुमा सबै राष्ट्रलाई एकजुट हुन अपिल गर्दै संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।
उहाँले शरणार्थी समस्या पनि विश्वका धेरै राष्ट्रको चुनौतीका रुपमा रहेकाले शरणार्थीका लागि सहयोगी हातअघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
बेलायतकी प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट छुट्टिँदैमा बेलायतलाई अर्कैतिर फर्केको रुपमा नबुझ्न पनि आग्रह गर्नुभयो । उहाँले अहिले विश्वव्यापीरुपमा बेलायत अझ आत्मविश्वासी, दह्रो र स्वतन्त्र भएको बताउनुभयो ।
महासभामा अन्य देशका नेताले पनि सम्वोधन गर्नुभएको थियो । अमेरिकाको न्युयोर्कमा महासभा भइरहेको छ । हरेक वर्ष हुने महासभामा विश्वभरका सरकारका प्रतिनिधि सहभागी हुने गर्दछन् ।