मस्को (रसिया), ३ असोज । रसियाको सत्ताधारी दल युनाइटेड रसिया पार्टीले (यूआरपी) संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सफल भएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको दलले स्पष्ट बहुमत ल्याएपछि उहाँलाई चौँथो कार्यकालका लागि रसियाको नेतृत्व सम्हाल्न चाहेमा मार्ग प्रशस्त भएको छ । राष्ट्रपति पुटिनको कार्यकाल सन् २०१८ मा अन्त्य हुँदैछ ।
सोमबारसम्म घोषणा भएको ९८.३ प्रतिशत मत परिणाममध्ये पुटिनको युनाइटेड रसिया पार्टीले ५४.२ प्रतिशत मत प्राप्त गरेको छ । यसले संसदमा युआरपीको संवैधानिक बहुमत स्पष्ट देखाएको छ ।
रसियामा राष्ट्रपति पुटिनको पछिल्लो कार्यकालमा लामो आर्थिक सङ्कट सामना गर्नुपरे पनि क्रेमलिनले पछिल्लो मत परिणाम आउनुमा वर्तमान राष्ट्रपति पुटिनको प्रसिद्धिले नै काम गरेको बताएको छ ।
वर्तमान राष्ट्रपतिको कार्यक्रमलाई रसियाली जनताले पुनः एक पटक अनुमोदन गरेका छन् र उहाँको दललाई बहुमत दिलाएका छन्, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।
राष्ट्रपति पुटिनले जनताबाट एक पटक पुनः विश्वासको मत पाउनुभएको छ, पेस्कोभले भन्नुभयो ।
तर यस वर्षे संसदीय निर्वाचनमा मात्रै ४७.८ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन् । यो सहमागिता सन् २०११ मा ६० प्रतिशत रहेको थियो ।
यसबर्ष मस्को र सेन्ट पिटर्सबर्गमा साहै्रथोरै अर्थात् ३० प्रतिशत मतदाताले मात्र मतदानमा सहभागिता जनाएका छन् ।
यसैबीच लिबरल प्रतिपक्षी दलहरुको समूहले संसदमा प्रभाव पुरयाउनलाई असफल भएका छन् ।
वर्तमान राष्ट्रपति पुटिनका कटु आलोचक बोरिस नेम्सभको दल, यावलोको वा पार्नस पार्टी कुनैले पनि संसदमा आवश्यक प्रतिनिधित्व जनाउन असफल भएका छन् ।
पूर्व प्रधानमन्त्री मिखाइल कास्यानोभले मत परिणामलाई सहज स्वीकार गर्दै रसियाली जनताले सत्ता चलाउने अख्तियारी अन्तिम पटक वर्तमान अधिकारीहरुलाई दिएका छन् भन्नुभएको छ ।
सम्भवत अब अर्को निर्वाचनमा प्रजातान्त्रिक रुपमै सत्तासमीकरणलाई परिवर्तन गर्ने गरी नयाँ अनुहारलाई सत्तामा पठाउने छन्, कास्यानोभले निर्वाचन परिणामबारे छोटाे प्रतिक्रिया दिनुभयो ।