भारत भ्रमणको पहिलो दिन दाहाल व्यस्त

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीसँग भेटवार्ता गर्नुहुँदै । साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत । तस्बिर ः हरि लामिछाने, रासस (नयाँ दिल्ली)

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीसँग भेटवार्ता गर्नुहुँदै । साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत । तस्बिर ः हरि लामिछाने, रासस (नयाँ दिल्ली)

नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताउनुभएको छ ।

नेपाली दूतावास नयाँ दिल्लीले यहाँ आज आयोजना गरेको नेपाली समुदायसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र सङ्घीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताउनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षसँगको सहमतिलाई आफूले विशेष जोड दिएको र केही सफलता हात लागेको पनि उल्लेख गर्नुभयो ।

संविधानको सर्वस्वीकार्यता बढाउनका लागि आफूले सक्दो पहल गरिरहेको र असन्तुष्टको मागलाई समेत निकट भविष्यमा नै सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ थियो । संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै पक्षको भावनालाई सम्बोधन गर्नु र उनीहरुलाई साथै लिएर जानुपर्ने आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी रहेका विषयलाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको भावनालाई सम्मान गर्दै उनीहरुलाई मुलुक निर्माणको महाअभियानमा साथै लिएर जान तयार रहेको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको र त्यसलाई अगाडि बढाउन प्रवासी नेपालीको पनि प्रमुख दायित्व रहने भएकाले सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मूल प्रवाह अखिल भारत–नेपाली एकता समाज, प्रवासी नेपाली सङ्घ भारत, अखिल भारत–नेपाली एकता मञ्च, जनसम्पर्क समिति भारत लगायत प्रतिनिधिले सीमा क्षेत्रमा नेपालीले भोग्नु समस्या, बैंक तथा वित्तीय संस्थामा नेपाली समुदायले भोग्नुपरेको व्यवधान लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने र भारत सरकारसँग नेपालीको समस्याबारे कुराकानी गर्ने विश्वास दिलाउनुभएको थियो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज । साथमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलगायत तस्बिर ः हरि लामिछाने, रासस, (नयाँ दिल्ली)

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज । साथमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलगायत तस्बिर ः हरि लामिछाने, रासस, (नयाँ दिल्ली)

प्रधानमन्त्री दाहाललाई विहार राज्यको भ्रमणको निम्तो

प्रधानमन्त्री दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ ।

नेपाली दूतावास नयाँ दिल्लीमा प्रधानमन्त्री दाहाललाई भेट्न आउनुभएका मुख्यमन्त्री नितिशबीच करिब एक घण्टा भएको छलफलमा नेपालको दक्षिणी सीमा जोडिएको सबैभन्दा ठूलो भूभाग विहारमा पर्ने भएकाले सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतको विहार राज्यबीचको आपसी र मैत्री सम्बन्ध अरुहरुका लागि समेत अनुकरणीय छ भन्दै सीमा क्षेत्रमा देखिने असहज अवस्थालाई मिलेर समाधान गर्नुपर्नेमा छलफल भएको बताउनुभयो । नेपाली र विहारी समुदायबीचको सम्बन्ध स्वाभाविक छ भन्दै प्रधानमन्त्रीले कुनै समस्या रहे त्यसलाई आपसी संवादका माध्यमबाट हटाउन सकिने बताउनुभयो ।

विहार र नेपाली समुदायबीचको सम्बन्ध जनता जनताबीचको सम्बन्ध रहेको र आत्मीय रहेको बताउँदै मुख्यमन्त्री नितिशले उक्त सम्बन्धलाई थप प्रगाढ, मैत्री एवम् भावनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री नितिशले राष्ट्रिय विषयमा प्रधानमन्त्री तहमा नै कुरा हुने भए पनि असल छिमेकीको हैसियतले प्रधानमन्त्री दाहालसँग खुलेर छलफल भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले प्रधानमन्त्री दाहाललाई विहार राज्यको भ्रमणको निम्तो समेत दिनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल र यादवबीच भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता दल (युनाइटेड)का अध्यक्ष शरद यादवबीच भेटवार्ता भएको छ ।

यहाँ आज भएको भेटवार्तामा आपसी हित, दुई देशको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो ।

प्रवासी समुदायको भूमिका प्रशंसनीय छ– प्रम

प्रधानमन्त्री दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समुदाय जहाँ रहे पनि नेपालको हितमा नै काम गर्दै आएको छ । राजनीतिक परिवर्तनमा प्रवासी समुदायको भूमिका महत्वपूर्ण र उल्लेखनीय छ । अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनुपर्छ ।”

अन्तक्र्रियामा सहभागी मञ्चका अध्यक्ष ईश्वरी भण्डारीका अनुसार प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री