काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद् मातहतका विभिन्न समितिबीच बेलाबेलामा देखापर्ने कार्यक्षेत्रसम्बन्धी अन्योल र विवाद चिर्न पहल सुरु भएको छ । सभामुख ओनसरी घर्तीले आज ती समितिका सभापति, संसद्मा रहेका दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव, सम्बन्धित सचिवसमेतसँग छलफल गरी त्यसको निदानका लागि पहल सुरु गर्नुभएको हो ।
संसदीय समितिमा उस्तै खालका विषय र मन्त्रालयका समस्याका सवालमा एकै पटक, दुई वा सोभन्दा बढी समितिले चासो दिने, बैठक र निर्णय गर्ने कतिपय अभ्यासका कारण सम्बन्धित सरकारी निकायलाई कसको निर्देशनलाई प्राथमिकता दिने भन्ने अन्योल हुने गरेको थियो । कतिपय अवस्थामा त एउटै विषयमा फरक फरक समितिका भिन्नभिन्न निर्देशन हुने भएका कारण समितिको औचित्यमा पनि प्रश्न उठ्दै आएको थियो ।
विशेष गरी सार्वजनिक लेखा समिति र अर्थ समिति तथा राज्य व्यवस्था समिति र सुशासन तथा अनुगमन समितिका कार्यक्षेत्र बाझिँदै आएका छन् । यस्तै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र वातावरण संरक्षण समिति तथा विकास समिति र कृषि तथा जलस्रोत समितिका बीचमा पनि दोहोरोपन देखापर्ने गरेको छ । हाल संसद्मा ११ विषयगत र दुई विशेष समिति छन् ।
सभामुखलाई पहिलेदेखि यसमा चासो दिन सम्बन्धित सभापतिले आग्रह गरेकामा आज पहिलो पटक समन्वयको पहल भएकामा सकारात्मक रुपमा लिइएको छ । “समितिका कार्यक्षेत्र र कार्यसूचीमा दोहोरोपन कसरी देखा परेको हो ? यसको समाधानका लागि के गर्न सकिन्छ ?” सभामुख घर्तीले सभापतिलाई प्रश्न गर्दै भन्नुभयो, “यसले संसदीय समितिको प्रभावकारिता बढाउँदैन, जनताका सवाललाई सम्बधोन गर्न पनि हामी चुक्न सक्छौँ । यसमा हामी सबै गम्भीर बनौँ ।” सभामुखले सभापतिसँगको अर्काे बैठकमा यसबारे ठोस निष्कर्षमा पुग्नेगरी खाका ल्याउन निर्देशन दिनुभएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख घर्तीले संसद् र समितिका निर्देशनको पालनाको पनि समीक्षा गर्न आग्रह गर्दै सम्बन्धित मन्त्री र सांसद्बीच सिधै प्रश्नोत्तरका लागि आफूले व्यवस्था गर्ने बताउनुभयो भने सचिवालय र समितिहरुमा हुने खर्च कटौतीका व्यवस्थामा सघाउन पनि आग्रह गर्नुभएको थियो ।
बैठकमा समाधानका उपायबारे सुझाव दिँदै अर्थ समितिका सभापति प्रकाश ज्वालाले विषय जुध्ने स्थिति भएमा एक सभापतिले अर्काे सभापतिसँग परामर्श गर्ने, कहिलेकाहीँ संयुक्त बैठक आयोजना गर्ने र त्यसका लागि सभामुखले पहल लिने गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आजको छलफल सकारात्मक रहेको भन्दै यसले आपसी समन्वय बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिले आफ्नो कार्यक्षेत्रमा काम गर्ने वातवरण बनाउनुपर्ने र कार्यक्षेत्र मिचिने सन्दर्भमा सभामुखले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइएको जानकारी दिनुभयो ।
समितिका निर्देशन कार्यान्वयनको अवस्था, समितिमा विज्ञताका आधारमा कर्मचारीको नियुक्ति, सांसद् र कर्मचारीको क्षमता अभिवृद्धि, समानुपातिकरुपमा तालिम, अध्ययन भ्रमणको व्यवस्थाका बारेमा पनि आज छलफल भएको थियो । संसद्मा रहेका अन्य समितिमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, सामाजिक न्याय तथा मानवअधिकार समिति, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति, सुरक्षा विशेष समिति, संसदीय सुनुवाइ विशेष समिति छन् ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम