बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १०:४३ | UK Time: 05:58

नेपालमा स्वास्थ्य सेवा सुधारका केही विकल्प

वीनेपाली
२०७३ साउन ३१ गते २२:४९

Dr Rajendra Thapa
नेपालमा परापूर्व कालखण्डदेखिनै संगठित वा असंगठित रुपमा विभिन्न रोगको उपचार आ आफ्नै तरिकाले गर्दै आएको प्रमाणहरु भेटिन्छन् । तर बैज्ञानिक ढंगले आधुनिक स्वास्थ्य सेवाको विकास भने १९ औं शताब्दीको अन्त्यबाट शुरु भएको थियो । विशेषगरि, आधुनिक तथा बैज्ञानिक स्वास्थ्य सेवाको विशेष महत्व राख्ने एलोपेथिक उपचार पद्दतिको सुरुवात क्रिस्टियन मिस्सिलरी परियोजनाबाट सन् १८०२ मा शुरु भएको थियो र केहि कारणबस केहि वर्ष काम गरि उक्त परियोजना को काम रोकिएको थियो भने फेरि केहि वर्ष पछि काठमाडौं लगायत केहि ठाउंमा यस संस्थाले औलो, झाडापखाला, टीबी तथा बिफर जस्ता रोगको पहिचान गरि उपचार सुरु गरेको थियो । तर, आधुनिक नेपालको स्वास्थ्य सेवाको जग भने राणा शासनको सुरुवातसंगै भएको देखिन्छ । नेपालमा पहिलोपटक सन् १८५७ मा कुष्ठ रोग उपचार केन्द्र खोलिएको थियो । त्यसको झन्डै ३० वर्षपछि बीर शम्शेरले नेपालमा अस्पतालको आवश्यकता महशुस गरि सन् १८८७ (झन्डै १२८ वर्ष पहिले) हालको बीर अस्पतालको शुरुवात गरेका थिए । त्यसपछि नेपालमा क्रमिक रुपमा अस्पतालको आवश्यकता महशुस गरि राणा शासनको अन्त सम्ममा नेपालको विभिन्न ठाउंमा गरि १४, १५ वटा अस्पतालको निर्माण भएको थियो ।

प्रजातन्त्रको उदय हुनु अघि नेपालमा विद्यालय स्वाथ्य सेवा सम्बन्धि कार्यक्रम पनि सुरु भइसकेको थियो । तर, सन् १९५१ मा प्रजातन्त्रको आगमनपछि भने स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको थियो र धेरै स्वास्थ्य परियोजनाको पनि सुरुवात गरिएको थियो । प्रजातन्त्रसंगै नेपालमा निजी र गैर सरकारी संस्थाको पनि उदय भयो । प्रजातन्त्र आएको ७ वर्षपछि सबै नागरिकलाई समान स्वास्थ्य सेवामा पहुंच हुने गरि सन् १९५८ मा १०५ संसद क्षेत्रमा स्वास्थ्य केन्द्रको योजना लागू हुने गरि पहिलो स्वास्थ्य योजना शुरु भयो भने सन् १९६३ सम्ममा नेपालमा ३२ वटा अस्पताल र १०४ वटा स्वास्थ्य केन्द्रहरु स्थापना भएको थियो । सन् १९९१ सम्ममा त नेपालमा ७७५ स्वास्थ्य केन्द्र र केहि जिल्ला बाहेक सबै जिल्लामा जिल्ला अस्पताल बनिसकेका थिए भने सन् १९८४ मा पुलिस अस्पताल र १९८६ मा हालको टिचिङ अस्पतालका साथै अन्य थुप्रै अस्पताल निर्माण भएको थियो । सन् १९९० मा वहुदलीय प्रजातन्त्र स्थापना भएदेखि भने नेपालमा स्वास्थ्य सेवामा विशेषज्ञ सेवा लगायत थुप्रै प्राइभेट स्वास्थ्य कलेज र अस्पतालहरुको आगमन भयो ।

नेपालमा वहुदलीय प्रजातन्त्रको आगमनपछि सरकारी स्वास्थ्य सेवामा केहि परियोजना लागू भएपनि यसले गुणात्मक फड्को भने मार्न सकेन । उता प्राइभेट र केहि गैर सरकारी संस्थाहरुद्वारा संचालित स्वास्थ्य संस्था भने शहरी क्षेत्रहरुमा मौलाउंदै गए । स्थापित तथा ठूला निजी स्वास्थ्य संस्थाहरु प्रभावकारी तथा समयानुकुल सरकारी अस्पतालबाट दिनु पर्ने स्वास्थ्य सेवा सिमितताको कारण र पछिल्लो समय सरकारी तवरबाट रचनात्मक तथा उल्लेखनीय विकास हुन नसक्नुको चरम लाभ लिंदै आफ्नो सेवा विस्तारमा लागेको छ । तर अनियन्त्रित रुपमा नै भएपनि विकास गरिएको निजी स्वास्थ्य संस्थाहरुले धेरैलाई उपचारका लागि विदेश जानबाट र रोजगारी सृजना गरि देश विकासमा टेवा पुर्याएको देखिन्छ । प्रायः धनी वर्ग र उपल्लो मध्यम वर्गका मानिसहहरु तथा राजनीतिज्ञहरुले निजी स्वास्थ्य सेवा उपभोग गर्ने भएकाले पनि सरकारी सेवाको गुणस्तर वृद्धि हुन नसकेको जनगुनासो छ । हालैको दशकमा नेपालको स्यास्थ्य सूचकमा सुधार आएको देखिएपनि नियमित आंकडा राख्ने पद्धति पुरानो र समयसापेक्षिक नभएकाले उक्त स्वास्थ्य सूचक माथि पनि शंका गर्ने ठाउं प्रशस्त भेटिन्छ ।

यी माथि उल्लेख गरिएको घट्नाक्रमलाई निजी स्वास्थ्य संस्थासंग दांजेर हेर्ने हो भने वहुदलीय प्रजातन्त्र र गणतन्त्र स्थापना भएपछि नेपालको सरकारी स्वास्थ्य सेवाको विकासमा ठूलो पूर्णबिराम लागेको देखिन्छ । जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्रको पहुंचमा ठूलो खाडल निर्माण भएको छ । यदि सरकारले रचनात्मक र बैज्ञानिक ढंगले हाल विद्यमान समस्याको निराकरण नगर्ने हो भने अहिलेसम्म सरकारी तहमा गरिएको लगानी र पुनर्संरचना जोखिममा पर्ने मात्रै नभई स्वास्थ्य सेवामा गरिब जनताको स्वास्थ्य प्रतिको पहुंच आकाशको फल आंखातरी मर भन्नेमा सिमित रहने छ जुन देश विकासका लागि अभिसापको रुपमा खडा हुनेछ ।
नेपालमा स्वास्थ्य सेवा सुधारका लागि र आम नागरिकको पहुंचमा स्वास्थ्य सेवा पुर्याउनका लागि निम्न केहि कदमहरु तत्काल चालिनु पर्ने देखिन्छ ः

१. विद्यमान उपस्वास्थ्य चौकीलाई Primary care centre (Community care Centre) को रुपमा विकास गरि 
जनसंख्या तथा भूगोलको आधारमा सिमाना तय गरि बिरामीको नाम दर्ता प्रक्रिया अन्तर्गत उपचार पद्धतिको विकास गर्ने सके हेरक नेपालीले सर्बसुलभ समान स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । यसो गर्न सके सामान्य रोगहरु समुदायमा नै निर्मुल गर्न सकिन्छ र सामान्य रोग लाग्दा पनि विशेषज्ञ डाक्टरलाई देखाउनु पर्ने र एक जना बिरामीले १ भन्दा बढि डाक्टरलाई आवश्यक नपरेसम्म उपचारका लागि भेट्न नपर्ने पद्धतिको विकास हुने थियो र यसबाट विशेषज्ञहरुलाई अन्य जटिल रोगको उपचारका लागि परिचालन गर्न सकिन्थ्यो जसबाट स्वास्थ्य सेवामा हुने खर्च कम गर्न सकिने थियो र विशेषज्ञहरुको पेशेवर दुरुपयोग कम गर्न सकिने थियो । यसको अलावा नर्स तथा अन्य स्वस्थ्य व्यवसायीहरुलाई पनि आवश्यक विशेषज्ञ तालिम दिई रचनात्मक तरिकाले उपयोग गर्ने सके रोजगारी सृजना गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गर्न सकिन्थ्यो ।

२. जिल्ला तहका अस्पतालहरुलाई सशक्तिकरण गरि सामुदायिक तहबाट रिफर गरिएका बिरामी उपचार गर्ने सक्ने तथा खोज अनुसन्धानको काम गर्ने सक्ने संस्थाको रुपमा बिकास गर्न सके स्वास्थ्यसेवा घरदैलोमा नै पुरा गर्ने मात्र नभई ‘एक्काइसौं शताब्दीको अस्पताल आफ्नो घर’ भन्ने सपनाको साथ सेवा प्रदान गर्न सकिन्थ्यो जसबाट अर्बौको ठूला ठूला संरचनामा खर्च गरिने लगानी कम गराउने, र अहिले बिकसित देशले भविष्यमा अंगाल्न लागेको सिस्टम काम गर्न सकिन्थ्यो तथा यसबाट शहर केन्द्रित जनसंख्या पनि कम गर्ने सकिने छ । केन्द्रमा एम्बुलेन्स सेवाको अवधारणा बनाई हरेक जिल्ला अस्पतालको मातहातमा चल्ने गरि आवश्यक एम्बुलेन्स सेवाको विस्तार गर्न सक्नु पर्दछ र त्यस्ता एम्बुलेन्स आधारभूत उपकरण जडित बनाएको हुनु पर्दछ । त्यस्तै अब हेरेक एम्बुलेन्स चलाउने व्यक्तिलाई स्वास्थ्य तालिम उपलब्ध गराई आकस्मिक उपचार गर्ने सक्ने बनाउनु पर्दछ । त्यस्तै क्षेत्रीय रुपमा सञ्चालनमा आएको स्वास्थ्य 
चौकीलाई क्षेत्रीय अस्पताल र सामान्य चोटपटक उपचार केन्द्र तथा सामुदायिक पुनस्र्थापना केन्द्रको रुपमा विकास गरि अगाडि बढ्न सक्नु पर्दछ ।

३. सरकारी तथा निजी स्वास्थ्य सेवामा आधारभूत एकरुपता निर्धारण गर्नको लागि एक स्वतन्त्र स्वास्थ्य गुणस्तर मापन संस्था बनाउनु आजको अपरिहार्यता हो । सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको सुझाव संकलन गरि उनीहरुलाई विशेष तरिकाबाट सशक्त बनाई सरकारी र निजी दुवैमा काम गर्ने संस्कृतिको अन्त्य गर्नु पर्दछ । त्यस्तै निजी स्वास्थ्य सेवामा उपचार गराउनेहरुका लागि पनि सरकारले स्वास्थ्य बीमाको अवधारणलाई अगाडि बढाउनु पर्दछ ।

४. हाल संसारभर थुप्रै प्रकारका प्रविधिहरुको विकास भइरहेका छन् र ति प्रविधिहरुको नेपालमा पनि विस्तारै पहुंच बढेकाले त्यस्ता प्रविधिहरुलाई स्वास्थ्य सेवासंग जोडी उपयोग गर्न सके यसबाट स्वास्थ्य सेवामा गुणस्तरीय प्रगति हासिल गर्ने सकिने छ ।

५. राजनीतिक नेताहरुले अबको वहस संविधान कार्यान्वयन, आर्थिक सम्वृद्धि तथा राम्रो र सबैको पहुंच हुने खालको स्वास्थ्य सेवा प्रदानमा गरिनेमा हुनुपर्दछ ।
देश विकासको परिसूचक स्वस्थ जिवनको अर्थ बुझि सोहि अनुरुप जनता र सरकार दुबैको पहलमा सफल स्वास्थ्य सेवा प्रदान गर्न सके दिन दिनै बढ्दै गएको जनसंख्याको चाप, वृद्धावृद्धि, नसर्ने रोग, क्यान्सर जस्ता अनेक रोगको उपचार तथा ब्यवस्थापन सजिलोसंग हुन सक्ने थियो र हामी आफैं पनि भग्यमानी नागरिक भइ बांच्न पाउने थियौं ।

(डा. राजेन्द्र थापा समाजसेवी तथा बेलायतमा रयापिड रेस्पोन्स क्लिनिसियन हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक