इयू जनमत संग्रहको अनपेक्षित परिणामले उथलपुथल ल्याएको बेलायती राजनीतिका कारण टेरेजा मे बेलायतको नयां प्रधानमन्त्री बन्न पुगिन् । शान्त स्वभावकी ५९ वर्षीया यिनले ६ वर्ष भन्दा बढि समय गृहमन्त्री भएर काम गरेकी हुन् । सन् २००२ मा आफ्नै पार्टी कन्जरभेटिभ परिवर्तन हुनुपर्ने खांचो औंल्याउदै कसैले यो पार्टीलाई नास्टी पार्टीको संज्ञा दिन्छन् भनेर अभिव्यक्ति दिंदा उनी त्यसबेला राजनीतिक तरंग ल्याउन सफल भएकी थिइन् ।
बेलायत इयूमा नै रहनुपर्छ भन्ने पक्षधरमा रहेपनि गएको जनमत संग्रहमा सक्रिय भूमिकामा यिनी रहिनन् । यिनको मुख्य विशेषता भनेको बेलायतको इतिहासमा नै सबैभन्दा लामो समयसम्म गृहमन्त्री हुने मध्येकी एक भइकन खास व्यक्तिगत विवाद रहित भएर काम गर्न सक्नु नै हो । आप्रवासी नीतिमा अनुदार ठानिएकी यिनले इयू बाहेक बाहिरबाट आउने वर्क परमिट, विद्यार्थी, बसोबास गर्ने नियमलाई कडा पारेकी हुन् । यिनले पुलिसको बजेट भारी कटौती गरि त्यसपछि उत्पन्न भएको पुलिसहरुको आक्रोसको सामना डटेर गरेकी थिइन् । यिनले अघिल्लो सरकारले लागू गर्ने भनेको अनिवार्य परिचयपत्र हटाइदिइन् । धेरै विवादास्पद छवी भएका कट्टर मुस्लिम धर्मगुरु अबु कटाडालाई डिपोर्ट गर्न सफल हुंदा यिनी बेलायती जनमानसमा लोकप्रिय भएकी थिइन् । गृह मन्त्रालयमा स्थिर राजनीतिक नेतृत्व दिन सफल भएर नै यिनी प्रधानमन्त्रीमा चयन हुन यति चांडै र सजिलो भएको हो ।
दोस्रो विश्वयुद्धपछि सायद सबैभन्दा बढि विभाजित बेलायती समाजलाई सफल नेतृत्व दिन टेरेजा मेले अनेक चुनौतीहरुको सामना गर्नु पर्नेछ । इयूबाट बहिर्गमन हुंदा गर्नुपर्ने संझौता तथा कार्यन्वयन गर्न यिनको दक्षता र नेतृत्वको ठूलो परिक्षण हुनेछ । ४४ प्रतिशत भन्दा बढी बेलायतको व्यापार इयूमा हुने हुंदा यसलाई व्यवस्थित गर्न नसके अर्थतन्त्रमा ठूलो असर पर्ने हुन्छ । कमन मार्केटमा रहंदा कामदारको फ्री मुभमेन्ट अनिवार्य शर्त भन्ने इयूको निर्देशन छ । कामदारको फ्री मुभमेन्टले गर्दा नै ठूलो संख्यामा इयूका आप्रवासीहरु बेलायत आएकाले इयू बिरोधीहरुले यसलाई मुल मुद्धा बनाइ जनमत संग्रह जितेका हुन् ।
बेलायतमा करिब तीस लाख युरोपेली देशका मानिस बसोबास गर्छन् । यो करिब कुल जनसंख्याको पांच प्रतिशत हो । यहि अनुपातमा यो यूनियन बाहेकका अरु देशहरुवाट आएका आप्रवासीको जनसंख्या छन् । पछिल्लो तथ्यांक अनुसार सन् २००६ र २०१४ को बिचमा मात्रै झण्डै १६ लाख मानिसहरु युरोपियन युनियन देशबाट बेलायतमा बसोबास गर्न आएको देखिन्छ । यसमा करिब ८० प्रतिशत काम गर्ने उमेरका मानिसहरु भएको जनाइएको छ ।
सन् २०१५ को तथ्यांक अनुसार १२ लाख बेलायती युरोपियन यूनियनका देशमा बसोबास गर्छन् । यिनीहरु मध्ये ७५ प्रतिशत काम गर्ने उमेर समूहका छन् । सन् २००४ मा कमजोर आर्थिक हैसियत भएका पूर्वी युरोपका देशहरु युरोपियन यूनियनमा सामेल भएपछि यसको आलोचना बेलायत भित्र हुन शुरु भयो । धेरै आप्रवासीहरुको आगमनले बेलायतको समुदायमा प्रभाव पर्न शुरु भयो । आप्रवासी कामदारलाई प्रतिष्पर्धाको रुपमा हेर्न थालिएको कुरालाई नै बल दिई इयू छोड्नुपर्छ भन्ने पक्षधरले आफ्ना तर्कहरु केन्द्रित गरे । इयू विस्तार हुंदैछ, आप्रवासीहरु अरु आउंछन् भन्ने जस्ता सामान्य डरले सामान्य मानिसलाई इयू सम्बन्धि नकारात्मक कुरा फैलाउन अभियानकर्ता सफल भए ।
आप्रवासीहरुले वार्षिक आठ अरब पाउण्ड भन्दा बढि बेलायती अर्थतन्त्रमा योगदानको कुरा, ब्यापार, सुरक्षा आदि इयूमा रहनु फाइदा भन्दा बढि त्रास देखाउदै अन्धो राष्ट्रवादको कुराले भोट पाएका हुन् । डर त्रासले जनमानसमा विभाजन ल्याउन सकिन्छ तर यो कुरा सवल नेतृत्व दिनेले पहिले नै देख्न सक्नुपर्छ भन्ने कुरा यस जनमतको परिणाम पछिको जटिल इयू बहिर्गमनको पाटोले देखाएको छ । इयू छोड्नुपर्ने भन्ने पक्षधरका ठूला नेताहरु जनमत संग्रहपछि एक एक गरि छोड्नाले यी सबै पक्षहरुलाई मिलाएर मान्य हुने कदम चाल्ने काम नवनियुक्त प्रधानमन्त्री टेरेजा मेको कांधमा आएको छ । स्कटल्याण्डका बहुसंख्यक जनसंख्याले इयूमा रहनुपर्छ भनि मत हालेकाले स्कटल्याण्डलाई चित्तबुझ्दो किसिमले कार्य नगरे स्वतन्त्रताका लागि फेरी अर्को आवाजको सामना गर्नु पर्ने हुन्छ ।
इमिग्रेशनको ठूलो विरोध रहेको बेलायती जनमानसमा मेले अध्यागमन नियम अरु कडा गर्ने छिन् भन्ने अनुमान गर्न सकिन्छ । लाखांै होइन हजारौंमा इमिग्रेशन झार्नु पर्छ भन्ने यिनको पार्टी कन्जरभेटिभको चुनावी घोषणापत्रमा उल्लेख छ, जुन नीतिको मुख्य योजनाकार यिनी स्वयं हुन् ।
विगतलाई हेर्दा इमिग्रेशनमा कन्जरभेटिभ पार्टी कठोर भएको कुराको अनुभव सबैलाई छ । लेबर पार्टी नेता टोनी ब्लेयरले सत्तामा आएपछि सन् १९९७ देखि इमिग्रेशनमा उदार नीति अपनाएर अर्थतन्त्र उल्लेख्य सुधारेका थिए ।
बेलायतको इतिहास हेर्दा सेन्टर राइट नीति रहेको कन्जरभेटिभ पार्टीले नै धेरै शासन गरेको छ । खासमा इमिग्रेशनको बिरोधले नै जितेको इयू जनमत संग्रहमा आप्रवासी नियमप्रति अरु कडाइ हुने अनुमान गर्न सकिन्छ । इयूको आर्टिकल ५० अनुरुप इयूबाट बाहिर निस्कने बेलामा यहां बसोबास गरिरहेका इयूका मानिसहरुको अवस्था के कसो हुने भन्ने निक्र्यौल गर्नुपर्ने हुन्छ । त्यसैगरी ठूलो संख्यामा इयूका अरु देशमा रहेका बेलायती नागरिकको भविष्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
संसारको पांचौं ठूलो अर्थतन्त्र भएको बेलायतलाई जति इयू चाहिन्छ, त्यतिनै इयूलाई बेलायत जरुरी हुन्छ । कमन मार्केटमा जाने तर फ्री मुभमेन्ट स्वीकार नगर्ने भन्ने प्रमुख नीति टेरेजा मेले लिने सम्भावना छ । उत्तिकै आर्थिक हैसियत भएका मुलुकहरु जस्तै जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल आदिसंग अलगअलग फ्री मुभमेन्टको सम्झौता गर्दै इयूमा ब्यापार गर्ने भन्ने प्रस्तावपनि आउन सक्छ । विश्व ब्यापार संघ (डब्लूटीओ) को सदस्यता भइ व्यापार संझौता गर्न सकिने कुरा भएमा यसले इयूसंग चाहिं दुरी अरु बढाउनेछ । यसबाहेक अरु बिभिन्न ब्यापार संझौताहरु गर्नुपर्ने अवसर पनि छ । यसमा यिनको नेतृत्वको ठूलो भूमिका हुने नै छ ।
मेको अर्को ठूलो चुनौती बेलायती अर्थतन्त्रलाई सवल र सफल बनाउनु हो । इयू बहिर्गमनमा जे जस्तो सम्झौता गरेपनि बेलायतको अर्थतन्त्र केहि समयका लागि अस्थिरता तर्फ लागेको छ । यसको पहिलो लक्षण बेलायती मुद्रा पाउण्ड स्टर्लिंगको भारी गिरावटबाट अन्दाज गर्न सकिन्छ । बेलायती अर्थमन्त्रीले आर्थिक वृद्धि अनुमान भन्दा कम हुने भएकाले सन् २०२० सम्ममा बजेट घाटा कम गर्ने लक्षमा अब पुग्न नसकिने भन्ने कुरा गरेपछि अस्टेरिटि जारी रहने संकेत देखिएको छ । अस्टेरिटी भनेको राज्यले खर्च कम गर्ने र आर्थिक क्षेत्रमा मितव्ययिता बढाउने कार्य हो । जसले गर्दा निम्न वर्गका मानिसले पाउने सुविधा कम हुन्छ । आर्थिक वृद्धि कम भए रोजगार, राजस्व संकलनमा कमी जस्ता विविध पक्षमा असर गर्छ । अस्टेरिटीले साधारणतया बढ्दो बजेट घाटा कम गर्नको लागि सरकारले गर्ने कदमको माप गर्दछ ।
त्यस्तै बढ्दो अस्थिरतालाई ध्यान दिदै बैंक अफ इंग्ल्यान्डले हालै २५० अरब पाउण्ड आर्थिक वृद्धिलाई कायमै राख्न बेलायती अर्थतन्त्रमा हालेको छ । यसले वित्तीय क्षेत्रमा पैसाको कोष बढाउछ । पर्याप्त पैसा वित्तीय क्षेत्रमा भएपछि बैक तथा वित्तीय संस्थाहरुले ब्यवसाय तथा व्यक्तिलाई ऋण दिन सक्छन भन्ने मान्यता हुन्छ । जसलाई क्वान्टिटेटिभ इजिंग (मात्रात्मक सहजता) भनिन्छ । यसको अर्थ मौद्रिक नीति हो जहां केन्द्र बैंकले साधारण मौद्रिक नीतिले काम नगरे पछि अर्थतन्त्रलाई उत्साहित पार्नको लागि गरिने कार्य मानिन्छ ।
बैंक अफ इंग्ल्यान्डको अर्को औजार आर्थिक वृद्धिका लागि ब्याजदर घटाउने हुनसक्छ । कम ब्याजदरले व्यक्ति या कम्पनीहरुलाई पैसा वचत गर्नु भन्दा खर्च या लगानी गर्न उत्पेरित गर्छ । पैसा अर्थतन्त्रमा हाल्दा सबैभन्दा ठूलो जोखिम मुद्रास्फिर्तीको समस्या पैदा हुन सक्छ । त्यसैले कोहि अर्थशास्त्री या नेताले क्वान्टिटेटिभ इजिंगलाई लामो समयको लागि नियन्त्रण गर्न नसकिने मुद्रास्फिर्तीको डर हुन्छ भनेर यसको सिद्दान्तलाई अस्वीकार गर्छन् । कसैले यो पम्प गरिएको पैसाले सेयर या सम्पत्तिको मूल्य धेरै बढ्नेको कारक पनि मान्छन । त्यसैले नव नियुक्त प्रधानमन्त्रीले अर्थतन्त्र वृद्धि र स्थायित्वका लागि चांडै र सही नीति अवलम्बन गर्नुपर्छ ।
युरोपमा बढेको आतंककारी गतिविधि, सुरक्षाका विविध पक्षहरु, बेलायतमा स्थिरता तथा अर्थतन्त्र लगायत विश्व समुदायमा बेलायतको प्रभुत्व कायमै राख्न मेको नेतृत्व के कस्तो प्रभावकारी हुनेछ त्यो समयले बताउने नै छ । हरेक परिबर्तनपछि यसलाई आत्मसात गरि अगाडि बढ्न समय लाग्छ । यहि जटिलतामा नै नेतृत्वको परिक्षण हुन्छ । त्यसैले यिनी अर्को आइरन लेडी या भिलेन मध्ये एक हुने प्राय निश्चित नै देखिन्छ ।
(लामो समय देखि बेलायतमा बसोबास गरेका आचार्य अर्थव्यवस्थापन विषयसंग आवद्ध छन् )
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई