नयाँदिल्ली (भारत), १८ असार । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आतंककादी आक्रमणप्रति दुःख व्यक्त गर्दै बङ्गलादेशबाट आतङ्कवादी तथा हिंस्रक चरमपन्थीको निर्मूल पार्न सम्पूर्ण कारबाहीका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यी कस्ताखालका मुसलमान हुन् जसको कुनै धर्म नै छैन, आतङ्कवादी हमला मुस्लिम भएको आशङ्का व्यक्त गर्दै प्रधानमन्त्री हसिनाले बताउनुभयो ।
बङ्गलादेशको ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आत्मघाती आक्रमणमा परी मृत्यु भएका २० जना विदेशी नागरिकमध्ये एकजना भारतीय किशोरी रहेको जनाइएको ।
ढाकास्थित उच्च सुरक्षा प्रबन्ध गरिएको कूटनीतिक क्षेत्रमा अवस्थित उक्त रेष्टुरेन्टलाई इस्लामिक स्टेट (आइएस) समूहका लडाकुद्वारा विदेशी नागरिकलाई कब्जामा लिई धारिलो हतियारको प्रयोग गरी क्रूरतापूर्वक हत्या गरेका बङ्गलादेशबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
“म आतङ्ककारीले बन्धक बनाएकी २० वर्षीया भारतीय किशोरी तारुसीको आतङ्ककारी हमलामा मृत्यु भएको खबर सुनाउनुपर्दा अत्यन्त मर्माहत भएकी छु, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्विट गर्नुभएको छ । उहाँले मृतक किशोरीका पिता सञ्जीव जैनसँग यसबारेमा कुराकानी गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको र यस दुःखद घडीमा भारत सरकार शोकाकुल परिवारको साथमा रहेको एक अर्को ट्वीटमा जनाउनुभएको छ ।
बङ्गलादेशी कमाण्डो रेष्टुरेन्टमा पुग्दा बीसजनालाई धारिलो हतियारद्वारा हत्या गरिएको पाइए पनि सेना र अन्य सुरक्षाकर्मीद्वारा गरेको संयुक्त कारबाहीमा छ जना आतङ्ककारीको मृत्यु भएको छ भने एकजनालाई जीवितै सुरक्षा नियन्त्रणमा लिइएको छ ।
सैन्य कारबाहीमा सहभागी नयिम अस्फाक चौधरीका अनुसार सुरक्षा कारबाही सुरु गर्नुपूर्व नै आतङ्ककारी समूहले बन्धक बनाएका २० जना विदेशी नागरिकलाई हत्या गरिसकेका बताउनुभयो । मृतकमध्ये प्रायःजसोलाई घाँटीमा धारिलो हतियार प्रयोग गरेको पाइएको उहाँले थप्नुभयो ।
ढाकाको होली आर्टिसन बेकरी परिसरबाट मृतकका शरीरलाई जम्मा गरी संयुक्त सैन्य अस्पतालको मुर्दाघरमा शवको पहिचानका लागि परीक्षण गर्न पुरयाइएको चौधरीले बताउनुभयो ।
यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले ढाकामा भएको आतंककारी घटनामा आफ्ना केही नागरिकलाई बन्धक बनाएको बताउदै यसबाट राष्ट्रले ठूलो क्षति पुगेको बताउनुभएको छ । रेन्जीले आतंककारी हमलामा कति परेका भन्नेबारेमा आफ्नो टेलीभिजन सम्बोधनमा केही बताउनु भएन ।
स्थानीय सञ्चारमाध्यमले ढाकामा ११ जना इटालेली नागरिकलाई बन्धक बनाएका र ति मध्ये एकजना मात्रै आतंककारीको पञ्जाबाट उम्कन सफल भएको बताएका छन् ।
यद्यपि बङ्गलादेशका अधिकारीले मृतकमध्ये जापानी, इटालेली,कोरियाली,भारतीय र बङ्लादेशी नागरिक रहेको हुनसक्ने बताएका छन् ।