बेलायतका जनताले एउटा ऐतिहासिक जनमत संग्रहद्वारा युरोपियन युनियन छोड्ने निर्णय गरेका छन् । प्रजातन्त्रको सुन्दरतम र उत्कृष्ट अभ्यासद्वारा भएको यो निर्णयले बेलायतमा एक नयाँ युगको सुरुवात गरेको छ । यो निर्णयले तत्कालका लागि बेलायतको मात्र नभएर युरोप र संसारको अर्थतन्त्रलाई नकारात्मक असर गर्नेछ । यो पंक्तिकार अर्थशास्त्री त होइन तर त्यो असर आंशिक हुनेछ भन्ने मेरो विश्वास छ । किनभने यथार्थमा बेलायतको अर्थतन्त्रका आधारभूत जगहरू बलिया छन् । बेलायतको प्रशासन संयन्त्रलाई राजनीतीकरण गरिएको छैन । न्यायपालिका स्वतन्त्र र निर्भीक छ । बेलायत आर्थिक र राजनीतिक रूपले सफल राष्ट्र हो । त्यसैले दीर्घकालीन रूपमा युरोपियन युनियन छोड्ने निर्णयले बेलायतलाई धेरै असर गर्ने देखिँदैन ।
भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपले बेलायत एक युरोपेली मुलुक हो । राजनीतिक र आर्थिक रूपको युरोपियन युनियन छोड्ने निर्णयले बेलायतका अरू धरोहरलाई असर गर्दैनन् । स्विट्जरल्यान्ड र नर्वेजस्ता अन्य युरोपेली देशले युरोपियन युनियनमा प्रवेश नै नगरी उन्नति र प्रगतिको शिखर चुमेकै छन् । एउटा युरोपेली आर्थिक समुदायका रूपमा स्थापित युरोपियन युनियनले महत्त्वाकांक्षी राजनीतिक उद्देश्यहरू राखेपछि बेलायतीहरूलाई चित्त बुझेको थिएन । बेलायत समय समयमा युरोपका अन्य राष्ट्रलाई संकट पर्दा तिनको रक्षार्थ धेरै त्याग गरेको मुलुक हो । त्यसैले युरोपियन युनियनको अन्तत: युरोपको संयुक्त राज्यमा बदलिने आकांक्षाविरुद्ध बेलायतमा जनमत बढ्दै गएको थियो ।
१०/१२ वा १५ सदस्यीय आर्थिक समुदाय हुँदा युरोपियन युनियन बेलायतको हितमा थियो तर जब धेरैभन्दा धेरै पूर्वी युरोपका मुलुकहरू यो संस्थाको सदस्य भए त्यसले बेलायतमा आप्रवासन बढ्न थाल्यो । सत्तासीन कन्जर्भेटिभ दलका आन्तरिक विवाद यसै विषयमा चर्को रूपमा बढ्दै गएपछि प्रधानमन्त्री डेभिड क्यामरुनले गत वर्षको संसदीय निर्वाचन हुँदा युरोपियन युनियनको सदस्यताबारे जनमत संग्रह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैलाई पूरा गर्न उनले मुलुकलाई जनमत संग्रहमा लगेका हुन् ।
बेलायत युरोपियन युनियनभित्र नै रहनुपर्छ भनेर जनमत संग्रहमा होमिएका प्रधानमन्त्री क्यामरुनले जनताले गरेको निर्णयलाई सम्मान गर्दै आफूले राजीनामा दिने घोषणा गरेका छन् । गत वर्ष मात्रै ५ वर्षका लागि संसदीय निर्वाचन जितेका उनले राजीनामा गर्न आवश्यक थिएन । तर, एउटा राजनेताका हैसियतले उनले नैतिक रूपमा राजीनामा दिनु उपयुक्त ठाने । उनले गरेको निर्णयले उनको राजनेताको हैसियतलाई झन् उच्च बनाएको छ ।
त्यसो त युरोपियन युनियनका आफ्नै समस्या छन् र शरणार्थी समस्या चर्को रूपमा प्रस्तुत भएको थियो । ग्रिसजस्ता आर्थिक रूपले कमजोर र अस्थिर मुलुकले आफ्नै समस्या खडा गरेका थिए । त्यसैले जटिल र बोझपूर्ण र आफ्नै कमजोरीको सिकार बन्दै गएको संस्थाबाट आफ्नो हात झिक्ने निर्णय बेलायतले गरेको छ । युरोपियन युनियनभित्र रहेर काम गर्नुपर्ने झन्झटबाट मुक्त भएपछि बेलायतले स्वतन्त्र रूपमा आफ्ना परराष्ट्र, अर्थ र आन्तरिक निर्णय गर्न सक्छ । बेलायत एक अन्तर्राष्ट्रिय दृष्टिकोण भएको आर्थिक, राजनीतिक र सामरिक दृष्टिले शक्तिशाली मुलुक हो । बेलायतलाई अंग्रेजी भाषा बोल्ने संसारभरिका पहिलेका बेलायती साम्राज्यका मुलुकसँग आर्थिक र राजनीतिक सहयोग विस्तार गर्न ढोका खोल्नेछ । भारतलगायतका अन्य उदीयमान त्यस्ता राष्ट्रसँग बेलायतले आफूलाई सुहाउने सम्बन्ध विस्तार गर्न सक्छ । संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनजस्ता संस्था खडा गर्न अग्रणी भूमिका खेलेको बेलायतलाई स्वतन्त्र रूपमा त्यस्ता संस्थामा अझ सशक्त भूमिका खेल्न बाटो प्रशस्त भएको छ । त्यसैले बेलायतले युरोपियन युनियन छोड्ने निर्णयले बेलायत कमजोर हुनुको सट्टा अझ सशक्त हुन सक्ने सम्भावना त्यत्तिकै छ ।
बेलायतको जुन अन्तर्राष्ट्रिय वर्चस्व छ, त्यसमा कमी आउने स्थिति देखिँदैन । खुला र उदार अर्थनीति भएको र सफल राजनीतिक संरचना भएको बेलायत छोडेर विदेशी लगानीकर्ताहरूले अन्य युरोपेली मुलुकमा आफ्नो लगानी र व्यवसाय सार्ने स्थिति पनि देखिँदैन । युरोपका अन्य देशमा धेरै राजनीतिक र आर्थिक समस्या छन् । त्यसैले बेलायतलाई गुमाउनु युरोपियन युनियनलाई घाटाको विषय हो । बेलायतका जनताले जसरी राष्ट्रिय सवालको यस्तो महत्त्वपूर्ण विषयमा जनमत संग्रहद्वारा जुन निर्णय गरे, त्यो युरोपका अन्य धेरै मुलुकका लागि लोभलाग्दो भएको छ र युरोपियन युनियन छोड्नेबारे अन्य केही राष्ट्रका जनताले त्यहाँ पनि जनमत संग्रह गर्नुपर्छ भन्न थालेका छन् । त्यसैले बेलायतको यो निर्णयले युरोपियन युनियनको अस्तित्वमा आँच पुर्याएको छ । युरोपियन युनियनका सदस्य भए पनि वा नभए पनि बेलायतसँग अन्य युरोपेली मुलुकले स्विट्जरल्यान्ड र नर्वेको जस्तै पारस्परिक लाभका आधारमा नयाँ व्यापार र लगानी सन्धि गर्ने नै छन् ।
जहाँसम्म बेलायतको यो जनमत संग्रहको नेपालजस्ता अल्पविकसित मुलुकमा पर्न सक्ने प्रभावको कुरा छ, त्यो नकारात्मकभन्दा सकारात्मक हुने सम्भावना छ । बेलायत एउटै मात्र यस्तो पाश्चात्य मुलुक हो जसले कानुनै बनाएर विकासोन्मुख र अल्पविकसित मुलुकलाई संयुक्त राष्ट्र संघको मापदण्डबमोजिम आर्थिक सहायता दिने प्रतिबद्धता गरेको हो । यो अवस्थामा बेलायतबाट पाउने आर्थिक सहयोग घट्ने देखिँदैन । पूर्वी युरोपका मुलुकका मानिसको आप्रवासन बढेपछि नेपालजस्ता दक्षिण एसियाका मुलुकबाट बेलायतमा रहेका जनसमुदायलाई रोजगारीको समस्या बढ्न थालेको थियो किनकि कानुनत: बेलायतको सरकारले पूर्वी युरोपका मुलुकका नागरिकलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने थियो । अब त्यो बाध्यता हटेपछि बेलायतमा साँच्चिकै योग्यता, क्षमता र प्रतिभा भएका व्यक्तिलाई प्रतिस्पर्धामा उत्रेर पेसा व्यवसाय र रोजगारीमा सफल हुने वातावरण बन्नेछ । त्यसैले बेलायतको जनमत संग्रहको निर्णय नेपाललाई देशको नाताले र बेलायतमा रहेको नेपाली समुदायलाई फाइदा नै पुग्ने देखिन्छ । यो जनमत संग्रहको निर्णयले बेलायतको नेपाली समुदायको हकअधिकारमा कुनै प्रतिकूल असर पर्ने स्थिति देखिँदैन ।
बेलायतको जनमत संग्रहको एउटा अर्को सकारात्मक पक्ष भनेको बेलायतले संसारलाई प्रस्तुत गरेको प्रजातान्त्रिक अभ्यासको सुन्तरतम उदाहरण हो । राष्ट्रिय महत्त्वका यस्ता महत्त्वपूर्ण सवालमा सोझै जनमत संग्रह गरी निर्णय लिएमा लोकतन्त्र सार्थक बन्नेछ र राष्ट्रिय तहमा भएको निर्णय सबैलाई मान्य हुनेछ । नेपालमा पनि देशको शासकीय स्वरूप र संघीयताजस्ता प्रश्नमा जनमत संग्रह गरी त्यसका आधारमा नयाँ संविधान बनाइएको भए अहिलेको जस्ता समस्या रहने थिएनन् । सिंहदरबार वा बालुवाटारका कुनै नेताको कोठा–चोटामा बसेर २/४ जनाले निर्णय गर्ने र त्यो निर्णय संसद्द्वारा जनतामाथि थोपर्ने संस्कार नेपालमा हावी छ । ज्ञान र दूरदर्शिताको अभाव भएका यस्ता अल्पज्ञानी नेतामा सर्वज्ञाता हुँ भन्ने स्वभाव छ । नेता भएपछि जान्ने त्यही हो भनेर मिडियाले र अरूले तिनै अदूरदर्शी नेतालाई प्रशंसाको पगरी गुथाइदिने संस्कार छ । त्यसैले नेपाल राजनीतिक रूपले रुमल्लिरहेको छ । यस्तो पृष्ठभूमिमा नेपालको राजनीतिकर्मीले बेलायतको उत्कृष्ट र सुन्दरतम लोकतान्त्रिक अभ्यासबाट सिक्नुपर्ने धेरै कुरा छन् ।
प्रा. सुवेदीको यो लेख कान्तिपुरमा प्रकाशित भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा