मदिराले स्वास्थमा पार्ने दुरगामी प्रभाव

 

लेखक आचार्य

लेखक आचार्य

बेलायतका स्वास्थ्य विज्ञहरुले नयाँ निर्देशिका जारी गर्दै कुनै पनि परिणामको मदिरा स्वास्थ्यको लागि फाइदा नभएको जनाएका छन् । यसले पुरानो मान्यता अनुरुप “थोरै अल्कोहल स्वास्थ्यको लागि राम्रो” भन्नेलाई अस्वीकार गरेको छ । पिउनै पर्नेको लागि हप्ताको १४ युनिटको मदिरा सेवनको पावन्दी लगाइएको छ । १ युनिट भनेको २५ एम. एल (१ पेग) स्पिरिट जस्तै हिस्की, ब्रान्डी, भोड्का, रम आदि आधि पाइन्ट बियर, १२५ मिलि लिटर वाइन (एउटा सानो गिलास) हो ।

यसको साथै हरेक दिन मदिरा पिउनु हानिकारक हुने पनि जनाइएको छ । हप्तामा घटीमा ३/४ दिनको अन्तरमा मात्र दिनमा २/३ युनिट पिउन सकिने बताइएको छ । तर, पिउन शुरु गरेपछि धेरै मानिसहरु सुझाब दिईएको भन्दा धेरै मदिरा पिइ स्वास्थ्यलाई  धेरै जोखिममा राखेको तथ्यांक रहेको छ ।

अधिक मदिरा सेवनबाट खासगरी क्यान्सर, मुटुरोग तथा अन्य बिबिध रोग संग जोडिएको तथ्य छ । यसको साथै धेरै मदिरा सेवनले पारिवारिक कलह हुनु, सामाजिक सदभाब बिग्रनु, अपराध बढ्नुको साथै स्वास्थ्यमा धेरै असर परिरहेछ  । धेरै मदिरा सेवनले गलत क्रियाकलापलाई उक्साहित गर्दछ । यसले बढी अस्वस्थकर खाना खाने या सन्तुलित भोजन गर्नबाट बन्चित गराउंछ । मदिराको लत लागिसकेपछि  नियमित यसको सेवनले अनेक रोगको जोखिम हुने हुन्छ  ।

मदिरा के हो  ?

मदिरामा हुने अल्कोहल नसादर हुन्छ । अल्कोहल भनेको औषधि हो । यसको अर्को नाम एथानोल या एथोल अल्कोहल हो । यसले मुख्य कार्यहरुलाई ढिलो गराउंछ । जस्तै बोली लर्बराउनु, एकनासको चाल नहुनु, भिन्न बुझाइ बन्नु, चाडै प्रतिकिया दिन असक्षम हुनु आदि हुन् । अल्कोहलले दिमागलाई कसरी असर गर्छ भन्न बुझ्नको लागि औषधिले कसरी व्यक्तिको ठिक सोच्ने र बिचार गर्ने कार्यलाई कम गर्छ भनेर जान्न सकिन्छ ।

यधपी डिप्रेसन्टको रुपमा बर्गिकरण गरेपनि अल्कोहल पिउने परिणामले कत्तिको असर गर्छ भन्ने निर्क्योल गर्छ । धेरै मान्छेहरु मदिरा नसा लाग्नको लागि पिउछन् । शरीरले चाहेको भन्दा बढी पिएमा ह्यांग ओभर हुने अनि  आफुलाई नै मुर्ख ठान्ने, या क्रियाकलापहरु आफ्नो अधिन भन्दा बाहिर गएको अनुभव गर्दछन् । धेरै मदिरा सेवन गरेमा दुखेको थाह नहुने, टक्सिक भएपछि शरीरले बिष वान्ता गर्ने र बेहोश हुने, कोमामा पुग्ने या मृत्यु नै पनि हुन सक्छ । यस्तो प्रतिक्रिया आ-आफ्नो शरीर अनुसार कति परिणाम र कति चाडै पिइएकोमा भर पर्दछ ।

धेरै किसिमको अल्कोहल हुन्छन् । इथानोल अल्कोहल अन्न र फलफुलबाट बनाईन्छ । यो बनाउनेलाई फरमेन्टेसन भनिन्छ । फरमेन्टेसन भनेको केमिकल प्रोसेस हो जहा मार्चा (इष्ट) द्वारा अल्कोहल उत्पादन हुन्छ । यसका उदारणहरु रक्सी, बियर, वाइन आदि हुन् । यिनीहरुमा प्राय २ देखि २० प्रतिशत अल्कोहल हुन्छ ।

अर्को किसिमको इथानोल अल्कोहल बनाउनेलाई डिस्टिल भनिन्छ । यसमा फरमेन्टेसन गरी बाफ बनाएर त्यो बाफलाई चिस्याएर पछि अल्कोहल बन्छ । डिस्टिलमा अल्कोहलको मात्रा बढी हुन्छ । यसका उदारहणहरु व्हिस्की, भोड्का, रम आदि हुन् । यसमा प्राय  अल्कोहलको मात्रा ४० देखि ५० प्रतिशत हुन्छ ।

मदिराले निम्त्याउने रोगहरु

थोरै परिणाम सम्झेर प्राय सधै मदिरा सेवन गर्दामा पनि  शरीरको भित्र र बाहिर धेरै हानि गर्न सक्छ । सधै मदिरा सेवन  गर्दामा बिहानपख मुड खराब हुने, शरीरका छाला पहिला जस्तो सफा नदेखिने जस्तो हुनुको साथै पुरुषमा खासगरी यौन क्रियाकलापमा कमि हुन पनि सक्छ ।

बाहिरबाट देखिनुको साथै मदिराले भित्रि शरीरलाई धेरै हानि गर्दछ । सधै थोरै या धेरै नियमित मदिरा सेवन गर्नेलाई मुख तथा घाटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी हुन्छ । सधै मदिरा पिउने महिलालाई स्तन क्यान्सर हुने जोखिम करिब बीस प्रतिशतले बढ्छ । त्यस्तै नियमित मदिरा सेवनले स्ट्रोक, मुटुरोग उच्च रक्तचाप, कलेजोको रोग,प्यान्क्रियाजको रोग, प्रजनन कम  बन्नु आदि रोगको जोखिम बढाउछ । यसको साथै  नियमित मदिरा सेवनले पाचनक्रियामा समस्या, छालामा थोप्लाहरु आउनु, अनुहार फुलिनु, छाला चाउरिने, निन्द्रा कम पर्नु, डिप्रेसन हुनु, नपुंसक हुनु जस्ता रोगहरुको कारक बन्न सक्छ  ।

यो कुरामा शंका छैन कि जो मानिस सधै मदिरा पिउने गर्छन, उनीहरुको स्वास्थ्यमा अनेक किसिमका जोखिमहरू हुने गर्छन ।  मधुमेह या उच्च रक्तचाप भइसकेको मानिसलाई नियमित  मदिरा सेवनले निराशापन या डिप्रेसन बढ्ने कारण झन बढाउने गर्छ ।  अनुसन्धानले देखाएको छ कि धेरै मात्राको मदिरा सेवनले मानसिक स्वास्थ्यमा असर गर्छ । यसले स्मरण शक्तिको ह्रास गर्दछ ।

दिनको तीन युनिट भन्दा बढी मदिरा सेवन गर्नेको सिधा मुटुलाई असर पर्ने पाइएको छ । केहि समयपछि धेरै  मदिरा सेवनले रक्तचाप बढाउने, हार्ट फेलियर हुने, स्ट्रोक हुने जस्ता जीबन नै जोखिममा हुने रोगको शिकार बन्न सकिन्छ । धेरै मदिरा सेवनले धेरै शरीरको बोसो शरीरका अरु अंगमा संचार पनि गराउछ । मदिरामा धेरै क्यालोरी हुने हुदामा मोटो मानिस, मधुमेय भएकाले विशेष साबधानी हुनुपर्दछ ।

क्यान्सर रिसर्च युकेले गरेको हालै अनुसन्धानमा बेलायतमा मात्रै  बर्षनि तेह्र हजार मानिसलाइ मदिरा सेवनको कारणले क्यान्सर हुने बताएको छ । क्यान्सर बिशेषज्ञका अनुसार चाहिने भन्दा  दिनमा दस ग्राम बढी अल्कोहल पिएमा महिलालाई स्तन क्यान्सर हुने जोखिम ७ देखि १२ प्रतिशतले बढ्छ । १७५ मिलिलिटर वाइनमा (एउटा सानो गिलास ) १६ ग्राम अल्कोहल हुन्छ ।

अनुसन्धानले थाह भएको छ कि हप्ताको सय ग्राम अल्कोहल सेवन गर्नाले नितम्ब क्यान्सरको जोखिम १९ प्रतिशतले बढ्छ | त्यस्तै अल्कोहलले शरीरले प्राकृतिक रुपबाट भाइरल संक्रमणसंग लड्ने क्षमता ह्रास गर्छ । प्रजनन बारे गरिएको अध्ययनमा निममित थोरै मात्रै मदिरा सेवन गर्ने महिलामा गर्भ बस्ने सम्भावना कम र धेरै मदिरा सेवन गर्ने पुरुषको प्रजनन  शुक्रकिट कम हुने बताएको छ ।

धेरै मदिरा सेवनबाट आसटेल्डाहाइड टक्सिकको सम्बन्ध जोडिएको छ  जसले डीएन ए लाई नोक्सान गर्ने पाइएको छ । त्यसैले गर्भवती हुदा एकपटक मात्रै पनि अत्यधिक मदिरा सेवन गरेमा पेटमा भएको बच्चाको जीन नोक्सान हुन सक्छ । मदिरा सेवनले क्यान्सर हुने कारण थाह भइसकेको छ । डीएनए परिबर्तन नभईकन क्यान्सर कोषहरू बन्दैन । जब मदिरा सेवन गरिन्छ, आसटेल्डाहाइडले डीएनएको जीबनलाई खराब बनाउंछ र क्यान्सरको बाटोतिर धकल्छ ।

अल्कोहलमा हुने टक्सिक बिषय जटिल हो तर यसले स्वास्थ्यमा पार्ने जोखिम त थाह छदैछ । जति धेरै मदिरा सेवन गर्यो त्यतिनै बढी कलेजोको नोक्सान हुने जोखिम बढ्छ । गत २०-३० बर्षको तथ्यांक हेर्ने हो भने कलेजोको रोग ५०० प्रतिशतले बेलायतमा बढेको छ । यसमा ८५ प्रतिशत मदिरा सेवनको कारणले हो । मदिरा सेवन  जति कम गर्यो त्यति नै उपयुक्त हुन्छ । दिनको २-३ युनिट भन्दा बढी पिएमा स्वास्थ्यमा धेरै जोखिम बढ्छ । धेरै मानिसहरु युनिट नबुझेर या पिउन शुरु गरेपछि जोखिमलाई बिर्सने गर्दछन ।

मदिरा सेवन कम गर्नु नै उत्तम

जतिसक्यो थोरै या बिलकुलै मदिरा नपिउनु नै उत्तम हुन्छ । मदिराको लत लागिसकेको मानिसहरु कोही चाहेर पनि छोड्न सक्दैनन् । उनीहरुलाई सहयोग गर्नु घरपरिवार, इष्टमित्र, समाज सबैको दायित्व हुन्छ । धेरै समय  मदिरा सेवनको नसाबाट  छुट्नको लागि मदिरा  पुनर्स्थापना केन्द्रहरुमा सम्पर्क राखी सहयोग पाउन सकिन्छ । डाक्टर या स्वास्थ्यकर्मीहरुले पनि मदिरा छोड्ने सम्बन्धि  सल्लाह, सुझाब तथा उपचारका तरिका बताउदछन ।

लामो समयदेखि  मदिराको लत लागेको मानिसलाई यसबाट छोडाउन लागि उसलाई  बिरामीको रुपमा हेरिनु  पर्दछ । मदिरा छोडेपछि शरीरले दिने प्राकृतिक प्रतिक्रियालाइ थाम्न नसकेर फेरी शुरु गर्नु हुदैन । धेरै बर्ष मदिरा सेवन गरेर छोडेपछि उस व्यक्तिलाई घर परिवार, समाजले पनि उत्तिकै रुपमा सम्मान गर्ने क्रियाकलापको अरु  बिकास गर्नुपर्छ । मनोबल उच्च राख्न लगाई सामान्य जीबनयापन गर्ने हौशला सबैले दिनुपर्छ । मदिराको बानीबाट छुटेपछि जीवनलाई एक उत्सबको रुपमा लिइ हर दिन सकारात्मक सोच बनाएर अघि बढ्नु पर्छ ।

धेरै रोगको जोखिम बढाउने मदिरालाई सकेको भोज, पार्टी, उत्सबहरुमा धेरै पिउने परिपाटीलाई निरुत्साही बनाउनु पर्दछ । मदिरा छोड्ने या कम गर्ने कुनैपनि बेला ढिलो हुदैन ।

(लेखक “कोरोनरी मुटुरोग-२०१०” पुस्तकका लेखक हुन् )

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री