बेलायतका स्वास्थ्य विज्ञहरुले नयाँ निर्देशिका जारी गर्दै कुनै पनि परिणामको मदिरा स्वास्थ्यको लागि फाइदा नभएको जनाएका छन् । यसले पुरानो मान्यता अनुरुप “थोरै अल्कोहल स्वास्थ्यको लागि राम्रो” भन्नेलाई अस्वीकार गरेको छ । पिउनै पर्नेको लागि हप्ताको १४ युनिटको मदिरा सेवनको पावन्दी लगाइएको छ । १ युनिट भनेको २५ एम. एल (१ पेग) स्पिरिट जस्तै हिस्की, ब्रान्डी, भोड्का, रम आदि आधि पाइन्ट बियर, १२५ मिलि लिटर वाइन (एउटा सानो गिलास) हो ।
यसको साथै हरेक दिन मदिरा पिउनु हानिकारक हुने पनि जनाइएको छ । हप्तामा घटीमा ३/४ दिनको अन्तरमा मात्र दिनमा २/३ युनिट पिउन सकिने बताइएको छ । तर, पिउन शुरु गरेपछि धेरै मानिसहरु सुझाब दिईएको भन्दा धेरै मदिरा पिइ स्वास्थ्यलाई धेरै जोखिममा राखेको तथ्यांक रहेको छ ।
अधिक मदिरा सेवनबाट खासगरी क्यान्सर, मुटुरोग तथा अन्य बिबिध रोग संग जोडिएको तथ्य छ । यसको साथै धेरै मदिरा सेवनले पारिवारिक कलह हुनु, सामाजिक सदभाब बिग्रनु, अपराध बढ्नुको साथै स्वास्थ्यमा धेरै असर परिरहेछ । धेरै मदिरा सेवनले गलत क्रियाकलापलाई उक्साहित गर्दछ । यसले बढी अस्वस्थकर खाना खाने या सन्तुलित भोजन गर्नबाट बन्चित गराउंछ । मदिराको लत लागिसकेपछि नियमित यसको सेवनले अनेक रोगको जोखिम हुने हुन्छ ।
मदिरा के हो ?
मदिरामा हुने अल्कोहल नसादर हुन्छ । अल्कोहल भनेको औषधि हो । यसको अर्को नाम एथानोल या एथोल अल्कोहल हो । यसले मुख्य कार्यहरुलाई ढिलो गराउंछ । जस्तै बोली लर्बराउनु, एकनासको चाल नहुनु, भिन्न बुझाइ बन्नु, चाडै प्रतिकिया दिन असक्षम हुनु आदि हुन् । अल्कोहलले दिमागलाई कसरी असर गर्छ भन्न बुझ्नको लागि औषधिले कसरी व्यक्तिको ठिक सोच्ने र बिचार गर्ने कार्यलाई कम गर्छ भनेर जान्न सकिन्छ ।
यधपी डिप्रेसन्टको रुपमा बर्गिकरण गरेपनि अल्कोहल पिउने परिणामले कत्तिको असर गर्छ भन्ने निर्क्योल गर्छ । धेरै मान्छेहरु मदिरा नसा लाग्नको लागि पिउछन् । शरीरले चाहेको भन्दा बढी पिएमा ह्यांग ओभर हुने अनि आफुलाई नै मुर्ख ठान्ने, या क्रियाकलापहरु आफ्नो अधिन भन्दा बाहिर गएको अनुभव गर्दछन् । धेरै मदिरा सेवन गरेमा दुखेको थाह नहुने, टक्सिक भएपछि शरीरले बिष वान्ता गर्ने र बेहोश हुने, कोमामा पुग्ने या मृत्यु नै पनि हुन सक्छ । यस्तो प्रतिक्रिया आ-आफ्नो शरीर अनुसार कति परिणाम र कति चाडै पिइएकोमा भर पर्दछ ।
धेरै किसिमको अल्कोहल हुन्छन् । इथानोल अल्कोहल अन्न र फलफुलबाट बनाईन्छ । यो बनाउनेलाई फरमेन्टेसन भनिन्छ । फरमेन्टेसन भनेको केमिकल प्रोसेस हो जहा मार्चा (इष्ट) द्वारा अल्कोहल उत्पादन हुन्छ । यसका उदारणहरु रक्सी, बियर, वाइन आदि हुन् । यिनीहरुमा प्राय २ देखि २० प्रतिशत अल्कोहल हुन्छ ।
अर्को किसिमको इथानोल अल्कोहल बनाउनेलाई डिस्टिल भनिन्छ । यसमा फरमेन्टेसन गरी बाफ बनाएर त्यो बाफलाई चिस्याएर पछि अल्कोहल बन्छ । डिस्टिलमा अल्कोहलको मात्रा बढी हुन्छ । यसका उदारहणहरु व्हिस्की, भोड्का, रम आदि हुन् । यसमा प्राय अल्कोहलको मात्रा ४० देखि ५० प्रतिशत हुन्छ ।
मदिराले निम्त्याउने रोगहरु
थोरै परिणाम सम्झेर प्राय सधै मदिरा सेवन गर्दामा पनि शरीरको भित्र र बाहिर धेरै हानि गर्न सक्छ । सधै मदिरा सेवन गर्दामा बिहानपख मुड खराब हुने, शरीरका छाला पहिला जस्तो सफा नदेखिने जस्तो हुनुको साथै पुरुषमा खासगरी यौन क्रियाकलापमा कमि हुन पनि सक्छ ।
बाहिरबाट देखिनुको साथै मदिराले भित्रि शरीरलाई धेरै हानि गर्दछ । सधै थोरै या धेरै नियमित मदिरा सेवन गर्नेलाई मुख तथा घाटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी हुन्छ । सधै मदिरा पिउने महिलालाई स्तन क्यान्सर हुने जोखिम करिब बीस प्रतिशतले बढ्छ । त्यस्तै नियमित मदिरा सेवनले स्ट्रोक, मुटुरोग उच्च रक्तचाप, कलेजोको रोग,प्यान्क्रियाजको रोग, प्रजनन कम बन्नु आदि रोगको जोखिम बढाउछ । यसको साथै नियमित मदिरा सेवनले पाचनक्रियामा समस्या, छालामा थोप्लाहरु आउनु, अनुहार फुलिनु, छाला चाउरिने, निन्द्रा कम पर्नु, डिप्रेसन हुनु, नपुंसक हुनु जस्ता रोगहरुको कारक बन्न सक्छ ।
यो कुरामा शंका छैन कि जो मानिस सधै मदिरा पिउने गर्छन, उनीहरुको स्वास्थ्यमा अनेक किसिमका जोखिमहरू हुने गर्छन । मधुमेह या उच्च रक्तचाप भइसकेको मानिसलाई नियमित मदिरा सेवनले निराशापन या डिप्रेसन बढ्ने कारण झन बढाउने गर्छ । अनुसन्धानले देखाएको छ कि धेरै मात्राको मदिरा सेवनले मानसिक स्वास्थ्यमा असर गर्छ । यसले स्मरण शक्तिको ह्रास गर्दछ ।
दिनको तीन युनिट भन्दा बढी मदिरा सेवन गर्नेको सिधा मुटुलाई असर पर्ने पाइएको छ । केहि समयपछि धेरै मदिरा सेवनले रक्तचाप बढाउने, हार्ट फेलियर हुने, स्ट्रोक हुने जस्ता जीबन नै जोखिममा हुने रोगको शिकार बन्न सकिन्छ । धेरै मदिरा सेवनले धेरै शरीरको बोसो शरीरका अरु अंगमा संचार पनि गराउछ । मदिरामा धेरै क्यालोरी हुने हुदामा मोटो मानिस, मधुमेय भएकाले विशेष साबधानी हुनुपर्दछ ।
क्यान्सर रिसर्च युकेले गरेको हालै अनुसन्धानमा बेलायतमा मात्रै बर्षनि तेह्र हजार मानिसलाइ मदिरा सेवनको कारणले क्यान्सर हुने बताएको छ । क्यान्सर बिशेषज्ञका अनुसार चाहिने भन्दा दिनमा दस ग्राम बढी अल्कोहल पिएमा महिलालाई स्तन क्यान्सर हुने जोखिम ७ देखि १२ प्रतिशतले बढ्छ । १७५ मिलिलिटर वाइनमा (एउटा सानो गिलास ) १६ ग्राम अल्कोहल हुन्छ ।
अनुसन्धानले थाह भएको छ कि हप्ताको सय ग्राम अल्कोहल सेवन गर्नाले नितम्ब क्यान्सरको जोखिम १९ प्रतिशतले बढ्छ | त्यस्तै अल्कोहलले शरीरले प्राकृतिक रुपबाट भाइरल संक्रमणसंग लड्ने क्षमता ह्रास गर्छ । प्रजनन बारे गरिएको अध्ययनमा निममित थोरै मात्रै मदिरा सेवन गर्ने महिलामा गर्भ बस्ने सम्भावना कम र धेरै मदिरा सेवन गर्ने पुरुषको प्रजनन शुक्रकिट कम हुने बताएको छ ।
धेरै मदिरा सेवनबाट आसटेल्डाहाइड टक्सिकको सम्बन्ध जोडिएको छ जसले डीएन ए लाई नोक्सान गर्ने पाइएको छ । त्यसैले गर्भवती हुदा एकपटक मात्रै पनि अत्यधिक मदिरा सेवन गरेमा पेटमा भएको बच्चाको जीन नोक्सान हुन सक्छ । मदिरा सेवनले क्यान्सर हुने कारण थाह भइसकेको छ । डीएनए परिबर्तन नभईकन क्यान्सर कोषहरू बन्दैन । जब मदिरा सेवन गरिन्छ, आसटेल्डाहाइडले डीएनएको जीबनलाई खराब बनाउंछ र क्यान्सरको बाटोतिर धकल्छ ।
अल्कोहलमा हुने टक्सिक बिषय जटिल हो तर यसले स्वास्थ्यमा पार्ने जोखिम त थाह छदैछ । जति धेरै मदिरा सेवन गर्यो त्यतिनै बढी कलेजोको नोक्सान हुने जोखिम बढ्छ । गत २०-३० बर्षको तथ्यांक हेर्ने हो भने कलेजोको रोग ५०० प्रतिशतले बेलायतमा बढेको छ । यसमा ८५ प्रतिशत मदिरा सेवनको कारणले हो । मदिरा सेवन जति कम गर्यो त्यति नै उपयुक्त हुन्छ । दिनको २-३ युनिट भन्दा बढी पिएमा स्वास्थ्यमा धेरै जोखिम बढ्छ । धेरै मानिसहरु युनिट नबुझेर या पिउन शुरु गरेपछि जोखिमलाई बिर्सने गर्दछन ।
मदिरा सेवन कम गर्नु नै उत्तम
जतिसक्यो थोरै या बिलकुलै मदिरा नपिउनु नै उत्तम हुन्छ । मदिराको लत लागिसकेको मानिसहरु कोही चाहेर पनि छोड्न सक्दैनन् । उनीहरुलाई सहयोग गर्नु घरपरिवार, इष्टमित्र, समाज सबैको दायित्व हुन्छ । धेरै समय मदिरा सेवनको नसाबाट छुट्नको लागि मदिरा पुनर्स्थापना केन्द्रहरुमा सम्पर्क राखी सहयोग पाउन सकिन्छ । डाक्टर या स्वास्थ्यकर्मीहरुले पनि मदिरा छोड्ने सम्बन्धि सल्लाह, सुझाब तथा उपचारका तरिका बताउदछन ।
लामो समयदेखि मदिराको लत लागेको मानिसलाई यसबाट छोडाउन लागि उसलाई बिरामीको रुपमा हेरिनु पर्दछ । मदिरा छोडेपछि शरीरले दिने प्राकृतिक प्रतिक्रियालाइ थाम्न नसकेर फेरी शुरु गर्नु हुदैन । धेरै बर्ष मदिरा सेवन गरेर छोडेपछि उस व्यक्तिलाई घर परिवार, समाजले पनि उत्तिकै रुपमा सम्मान गर्ने क्रियाकलापको अरु बिकास गर्नुपर्छ । मनोबल उच्च राख्न लगाई सामान्य जीबनयापन गर्ने हौशला सबैले दिनुपर्छ । मदिराको बानीबाट छुटेपछि जीवनलाई एक उत्सबको रुपमा लिइ हर दिन सकारात्मक सोच बनाएर अघि बढ्नु पर्छ ।
धेरै रोगको जोखिम बढाउने मदिरालाई सकेको भोज, पार्टी, उत्सबहरुमा धेरै पिउने परिपाटीलाई निरुत्साही बनाउनु पर्दछ । मदिरा छोड्ने या कम गर्ने कुनैपनि बेला ढिलो हुदैन ।
(लेखक “कोरोनरी मुटुरोग-२०१०” पुस्तकका लेखक हुन् )
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने