सगरमाथाको सफल आरोहणबाट पर्यटन व्यवसायी उत्साहित

31 Mount Everest North Face From Rongbuk Just Before Sunset

काठमाडौँ, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न लालायित देशभित्र र बाहिरका आरोहीहरु यतिखेर सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने धूनमा छन् ।

आरोहण रोकिएको दुई वर्षपछि गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज छैँटौं दिनसम्म ८२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्वतारोहरण दलका सफलताका यी खबरले नेपालको समग्र पर्यटन क्षेत्रमा उत्साहको लहर सञ्चार गराएको छ ।
आज ११ नेपाली र नौ विदेशी गरी २० आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आइतबारसम्म ६२ आरोही सगरमाथाको चुचुरामा पुगेका थिए ।

सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको चुचुरो चुमेको खबरले विश्वलाई नै रोमाञ्चित बनाइदिएको छ ।

सन् २०१४ मा सगरमाथाको आधार शिविर माथितिरबाट आएको हिमपहिरोमा परी १६ जना आरोहीको निधन भएको थियो । त्यस्तै, २०१५ मा आएको विनाशकारी भूकम्पका कारण सगरमाथाको आधार शिविरमा हिमपहिरो आएर अरु १९ जना आरोहीको ज्यान गयो । यी दुःखान्त घटनापछि पर्वतारोहण अभियान नै स्थगित भयो । अघिल्ला वर्षमा आरोहण अनुमति लिएका आरोहीलाई सरकारले पुनः २०७३ र २०७४ दुईवर्ष सम्म निःशुल्क आरोहण गर्न दिन निर्णय गरेसँगै आरोहीहरु बढेका हुन् ।
हिम पहिरो प्राकृतिक विपद्सँगै ७.६ रिक्टर स्केलको भूकम्प र जारी संविधानप्रतिको असन्तुष्टिबाट सिर्जित अघोषित नाकाबन्दीले पर्यटन क्षेत्रका साथसाथै मुलुकको समग्र अर्थतन्त्र नै धर्मराउन पुगेको थियो ।
पर्वतारोहण अभियानमा देखिएको पछिल्लो गतिविधिले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
साहसिक पर्वतीय पर्यटनको आधार सर्वोच्च शिखरसहितका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमै छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । यस्तै सन् १९७५ मे १६ मा जापानी आरोही जुनको तावेईले सगरमाथाको आरोहण गरी प्रथम विदेशी महिलाको कीर्तिमान राख्नुभएको थियो ।
नेपालका अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घाजस्ता मन लोभ्याउने हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको सङ्ख्यामा आरोहीहरु आउने गरेका छन् ।
पछिल्लो समय देखिएको हिमाल आरोहणको लहरले पर्यटन व्यवसायीमाझ उत्साह जगाइदिएको छ ।

पर्यटन व्यवसायी तेम्बा शेर्पाले भूकम्प गएको एक वर्षपछि हिमाल चढ्ने पर्वतारोहीहरुको बढ्दो आगमनले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको बताउनुहुन्छ ।

यद्यपि संसारलाई चिनाउने पर्वतीय पर्यटनलाई सुरक्षित र व्यवस्थित गर्न भने अझै नसकिएको सम्बन्धित अधिकारीहरु स्वीकार्छन् ।

पर्या–पर्यटन प्रवद्र्धकसमेत रहनुभएका शेर्पा पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको विकास र संरक्षणका लागि सरकारी लगानी आवश्यक रहेको धारणा व्यक्त गर्नुहुन्छ ।

पर्वतारोहणसँगै पदयात्रामा बढेको पर्यटकीय आकर्षणले विश्वलाई नै सकारात्मक सन्देश प्रवाह गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले बताउनुभयो ।

पदयात्रा पर्यटनबाट कति राजस्व उठ्छ भन्ने यकिन विवरण नभए पनि टानका अनुसार वार्षिक रु १५ देखि २० करोड राजस्व उठ्ने गरेको छ ।
राजस्वका हिसाबले सबैभन्दा बढी राजस्व हिमाल आरोहणबाटै उठ्ने गर्छ । पर्यटन विभागका अनुसार सन् २०१५ मा रु २९ करोड १६ लाख र सन् २०१६ को गएको पाँच महिनाभित्र झन्डै सोही हाराहारीमा राजस्व सङ्कलन भएको छ ।

सरकारले सन् २०१८ लाई पर्यटन भ्रमण वर्ष घोषणा गरी १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आव २०७३÷७४ को नीति तथा कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको छ । सरकारको यस पहलकदमीले पर्यटन क्षेत्रमा अनुकूल प्रभाव पार्ने निश्चित छ ।
पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दुई वर्षदेखि रोकिएको पर्यटकीय गतिविधिलाई वसन्त ऋतुको उत्साहजनक आरोहणले गतिशील तुल्याएको बताउनुहुन्छ ।

“नेपालका हिमाल सुरक्षित छन्, पर्यटन पहिलाकै अवस्थामा फर्कियो भन्ने सकारात्मक सन्देश संसारभर प्रवाह गर्न पर्वतारोहण अभियानको सफलताले सकारात्मक भूमिका खेलेको छ” – उहाँले भन्नुभयो ।

महानिर्देशक ढकालका अनुसार अहिले पश्चिमा सञ्चारमाध्यमलाई नेपालको पर्वतारोहणसहित पर्यटकीय गतिविधिबारेको सकारात्मक जानकारी निरन्तर दिने गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पनि लामो समयपछि सगरमाथा क्षेत्रमा देखिएको चहलपहलबाट संसारलाई सकारात्मक सन्देश गएको ठान्नुहुन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणको तयारीमा छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । त्यस्तै, अन्नपूर्णमा तीन, मनास्लुमा ११ र मकालुमा पाँचवटा टोली आरोहणका लागि गएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको विवरणअनुसार अहिलेसम्म करिब सात हजार ७०० ले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब तीन हजार ८०० जनाले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा शेर्पा र फुर्वा टाँसी शेर्पाले सगरमाथाको आरोहण गरेको कीर्तिमान छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा अघिल्ला वर्षको तुलनामा २९.७ प्रतिशतले घटेर जम्मा पाँच लाख ४५ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री