आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: ०८:२२ | UK Time: 02:37

‘शिविरमा ईश्वर’मा वातावरणीय साहित्यको फ्लेभर

वीनेपाली
२०७३ वैशाख २३ गते २३:४२

sibir ma ishwor

आजकाल बेलायत साहित्यको उर्बरा भूमि बनेको छ । रङीबिरङी सृजनाका बिरुवा मौलाउनका पछाडि अवस्य नै स्वच्छ वातावरणको खाँचो पर्दछ नै । अनुकुल वातावरणको परिणाम होला वर्षमा थुप्रै कविता, गीत, कथा, एल्बम, गजल, मुक्तक संग्रह उम्रिरहेका हुन्छन् । यहाँ सप्तरङी भावनाका चिल्ला पातले झ्वाम्म परेका कृति उमार्ने महिलाहरुको पनि कमी छैन ।

२०१५ को अन्त्यतिर केही महिनाको फरक पारेर सृजनाका बिरुवा भरल्लै पलाए । सुमाया राइको अब्यक्त अभिब्यक्ति र छाम सुनाखरी, करिश्मा घमको गुनासो र मुटु। त्यसैगरी जानु काम्बाङ लिङ्देनको अनुभव र शिबिरमा इश्वर ।

यसको लगत्तै केन्टमा अर्थ आवर पारेर एक वातावरणीय साहित्य गोष्ठी आयोजना गर्यौं । विश्व नेपाली साहित्य महासंघ र केन्ट कलमको संयुक्त आयोजनामा । हाम्रो निम्तालाई स्विकारेर जानु काम्बाङ लिङ्देन कार्यक्रममा आउने भइन् । त्यति टाढा अक्स्फोर्डबाट । हामी नाताले हङ्कङेली हौं । आइडीमा लामो समय हङकङ बिताएर बेलायत पसेका । बेल्पालीका दुइ/चार वटा कार्यक्रममा हामी ठोक्किसकेका थियौं । जानुले दाई म पनि कृति निकाल्नेवाला छु भनेको अस्तिजस्तै लाग्छ । हिजै जस्तो त हुलाकीले शिबिरमा इश्वर ख्वात्त घरमा झारिदियो । ब्यस्तताले कृति विमोचनमा भने सहभागी हुन सकेको थिइनँ ।

त्यति टाढाबाट कार्यक्रममा आउने चेलीलाई गुन लगाउँछु भनेर उनको कृतिमा समीक्षात्मक टिप्पणी गरिदिने वाचा गरें । अनी त शिबिरमा इश्वरलाई चिरफार गर्न लागेँ । प्रबासमा रहने कविले गाउँघरलाई सम्झेर कविता नलेखेको बिरलै हुन्छन । गाउँघरसङ्गै उसको बाल्यकाल पनि जोडिएको हुन्छ, अनी देश छोड्नुको पीडा पनि । जानुको यस कृतिमा पनि यस्ता नोस्टालजिया पाइन्छन नै ।

उनी एक सामाजिक प्राणी र परिवार सम्हालेर जिएकी कवि परिन् । त्यसैले समाजको चिन्ता र परिवारको कथा उनका कविताले नपोख्ने त कुरै भएन । उपरोक्त विषयहरु समावेश हुनु टिपिकल डायस्पोरिक साहित्य हो भने पनि हुन्छ । तर मलाई अरुभन्दा पनि जानुका कवितामा लुकेका अर्कै विशेषताले ध्यान आकर्सित गरायो । ती थिए बातावरणीय समस्या र प्राकृतिक सौन्दर्यताका बिम्बहरुको प्रयोग । वातावरणीय साहित्यमा कलम चलाऊन रुचाउने म, उनका कवितामा इको राइटिङको गन्ध पाएपछि झनै घोत्लिएर पढ्न थालें । ५३ वटा कविता समेटिएको कृतिमा एक दर्जन जति कवितामा पर्यावरणीय रङ पोतिएका छन् । बादल उड्छ, मन सुसाउँदा, शिरमाथि मृत्यु, झरेको पात, सप्तकोशीको कथा, आकाश ठुस्किएपछि इत्यादी शीर्सकका कविताहरु केही यस्ता उदाहरण हुन ।

 

सिङो आकाश अँटाए झैं

आफ्नो आँचलभित्र भाइभाइ अटाए हुन्थ्यो नि

घनघोर बर्षा गराएर बगाए हुन्थ्यो

अहम, लोभ, लालच र इर्श्या

बिनाश रोकेर बिकासको दिप बाले हुन्थ्यो

 

यसरी उनी बादल उड्छ शीर्षकमा आकाश र बादलजस्ता वातावरणीय बिम्ब प्रयोग गरेर मिलेर जुटेर बस्नु भन्ने एक सन्देशमुलक कविता पस्किएकी छिन । मन सुसाउँदा कवितामा मायालुसँग बिछोड हुनुको पिडा यसरी पोखेकी छिन :

खोला सुसाएको साँझ

मैले सम्झिरहें तिमीलाई

अनी उही खोलाको किनारमा

सँगै बसेर धेरै पहिले गरेका बाचा

 

शिरमाथि मृत्यु शीर्षकले इको राइटिङका पात, बाढी, जस्ता शब्द सम्योजन गर्दै गत वर्ष भुकम्पले सखाप पारेको गामबस्तीहरुको करुण कथा सुनाएकी छिन् ।

नझरेर चुपचाप उभिदिए हुन्थ्यो नि

रुख पातहरु डाँडामाथि नै

नबगाएर चुपचाप छडिदिए हुन्थ्यो नि

बाढी पहिरोले गाउँ बस्तीहरु

 

झरेको पात शीर्षक कवितामा प्रकृतिको सुन्दरतामा ह्रास आएको चित्रण पाइन्छ । तलको एक स्लोकमा पात झरेपछि बटुवाले किल्चिन्छन् र अस्तित्वहीन बनाउँछन भनी पर्यावरणीय ह्रास मानिसको दोष हो भन्ने सङ्केत पाइन्छ ।

म एउटा झरिजाने पात

नझरुन्जेल रमाउँछु

वसन्त ऋतुको साथ

गाउँछु म साउनको गीत

नाच्छु बताससँग

त्यसरी नै आकाश ठुस्किएपछि शीर्षकको तलका केही स्लोकले पनि वातावरणीय क्षयको कुन्ठा ब्यक्त गरेको देखिन्छ ।

बुढी प्रकृति अब

कहिले तरुनी हुने भनी

बिलौना गाउँदैछ

सम्झेर न्याउली चरी एक्लै बनी

भनिन्छ यस सुन्दर पृथ्वी र प्रकृतिलाई इश्वरले रचेका हुन् । पृथ्वीको वातावरण मानिसको अतिक्रमणले प्रदुषित र प्रकृति बुढी हुँदै गएको छ । माथिका ति कविता पढदै जाँदा जानुले इश्वरलाई शिबिरमा उभ्याएर पृथ्वीको वातावरण जोगाउन न्याए माग्दैछिन जस्तो भान हुन्छ । तर भिखारी इश्वर, बार्पाकको कथा र अन्य अरु कविता पढिसकेपछि लाग्छ कृतिको शीर्षकले अर्कै कुरा इङ्गित गरेको छ । भुइँचालोले बिचरा धेरै नेपालीलाई अस्थाइ सिबिरहरुमा बसालेपछि उनले हे इश्वर, यो त न्यास संगत भएन नि भनी इश्वरलाई यस धरतीमा झरेर अनुनय बिनय गर्न खोजेको देखिन्छ । उनलाई कविता कोर्ने बेला भुइचालोको बेदना मुटुमा फालिजस्तै गाढिएर आएको हुनुपर्छ ।

भुइचालोलाई विषयवस्तु बनाएर कतिले कथा लेखे, कतिले गीत गाए । कसैले फिल्म बनाएर पर्दामा देखाए त कसैले आफ्नै हातले राहत वितरण गरे । कयौंले भत्केका र ढलेका दृश्य क्यामरामा क्याप्चर गरे त कयौंले क्यानभासमा रङ्हरु पोते । जानुले पनि अन्य साहित्यकारले झैं भुइँचालोको ब्यथा कलमको साथले यी कविताहरुमा पोखेकी छिन् । तर मलाई समग्रमा लाग्यो उनको कृतिले भुइँचालोले पुरेको कथा मात्रै बोलेको छैन, पर्यावरणीय साहित्यको रङ पनि पोतेको छ ।

मार्च १९ तारिख वातावरण साहित्य गोष्ठीको दिन । उनी उपस्थित भइन् कार्यक्रममा । मैले बातावरणीय साहित्य र यसको महत्व शीर्षकमा एक कार्यपत्र पेश गरेँ । त्यसपछि उनको कृतिको इको पक्षमा केन्द्रित रहेर समीक्षा गरिदिएँ । यतिधेरै कविताहरुमा वातावरणीय फ्लेभर पाइएको थाहा पाएर उनी नतमस्तक भइन् ।

मैले उनलाई भनेँ – समालोचकको दृष्टिकोण आ-आफ्नै हुन्छन । मलाई लाग्यो – जानुका ती कविताहरु वातावरणीय इस्सुले सचेत भएरभन्दा पनि स्वस्फूर्त ढंगले जन्मेका हुन । मेरो चाहना जानुजस्तै अन्य धेरै वातावरणीय साहित्यकार जन्मुन् ताकि अलिकति भए पनि नेपाली समुदायमा जलवायु परिवर्तन र वातावरण संरक्षणाप्रति जागरण आउन सकोस् ।

२०७३ बैशाख १२

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक