एमाले टोली चीन प्रस्थान

काठमाडौँ, ५ वैशाख । चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो । गत महिना चीनको औपचारिक भ्रमणका समयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् पार्टीका स्कुल विभागका प्रमुख केपी शर्मा ओली पनि सो विश्वविद्यालय पुग्नुभएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यका लागि सो टोली चीन गएको हो । भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता हुने र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने नेता ज्ञवालीले जानकारी दिनुभयो । दस दिनपछि फर्कने टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री