बेलायतमा स्वास्थ्य सेवा: सुलभ कि दुर्लभ ?

NY-2073-68-1-768x512

लेखक

आफ्नो स्वास्थ्यको बारेमा हामी सबैलाई चासो हुनु अत्यन्त स्वाभाविक हो । स्वस्थ जीवन हरेक मानिसको आवश्यकता हो ।  हामी हाम्रो जीवनमा कुनै न कुनै बेला स्वास्थ्य सेवाको उपयोग गरेका हुन्छौ, चाहे त्यो परामर्श सेवा वा प्रतिरोधात्मक सेवा होस् वा उपचारात्मक सेवा नै किन नहोस् । त्यसैले हामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने संस्था वा स्वास्थ्य सेवा प्रणालीको बारेमा जानकारी राख्नु निकै उपयोगी हुन्छ ।

बेलायतको स्वास्थ्य सेवा विश्वको एउटा उत्कृष्ट स्वास्थ्य सेवाको रुपमा चिनिन्छ । कमनवेल्थ फन्डले सन् २०१४ मा प्रकाशित गरेको एक प्रतिवेदनअनुसार बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अध्ययनमा सहभागी मुलुकहरुमध्ये विश्वको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रुपमा सबैभन्दा अग्रस्थानमा  रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनअनुसार बेलायतको स्वास्थ्य सेवा गुणस्तर (quality) , सहजता (access) र दक्षता (efficiency) मा विश्वको उत्कृष्ट स्वास्थ्य सेवाको रुपमा रहेको कुरा प्रस्ट पारेको छ ।

यो प्रतिवेदनमा उल्लेखित कुराहरु बाहेक अरु कुराहरु पनि छन् जसले एनएचएसलाई विश्वको मौलिक र उत्कृष्ट सेवाको रुपमा परिचित गराउन सफल भएको छ । जस्तै, यो सबैको लागि निशुल्क छ । हुन त बेलायतमा काम गर्ने हरेक मानिसले तलबबाट आयकर बाहेक नेसनल इन्सुरेन्स पनि तिरेका हुन्छन । र, यो रकम नै स्वास्थ्य सेवाको लागि तिरेको पनि मान्न सकिन्छ । तर, अर्को पक्ष के हो भने नेसनल इन्सुरेन्स तिर्न नसक्ने वा तिर्नु नपर्ने नागरिकले पनि स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्छन् । त्यसैले पनि निशुल्क स्वास्थ्य सेवाको महत्वलाई नकार्न सकिँदैन । त्यस बाहेक सेवा उपलब्ध गराउनको लागि सबल र योग्य जनशक्ति हुनु, उच्च स्तरको प्रबिधि हुनु,  भौतिक सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु हुनु, बिरामीको सुरक्षा र सेवामा उचित ध्यान दिनु आदि कारणहरु छन् जस्ले एनएचएसको सेवालाई उत्कृष्ट बनाएको छ ।

बेलायतमा बस्ने नेपालीहरुको बिचमा एनएचएसले प्रदान गर्ने सेवाहरुको बारेमा निकै चर्चा गरेको सुनिन्छ । कतिपयले यसको सकारात्मक पक्षलाई चर्चा गर्छन् भने कतिले यसको नकारात्मक पक्षको बारेमा कुरा गरेको सुनिन्छ । यसमध्ये सबैभन्दा बढी चर्चा हुने कुरा स्वास्थ्य सेवाको सहजता हो । त्यसैले यो लेखमा एनएचएसको विविध सेवाहरु कसरी उपयोग गर्ने भन्ने कुरामा केन्द्रित गरेको छु ।

पहिलो कुरा त बेलायतमा स्वास्थ्य सेवा लिनको लागि हरेक व्यक्तिले एनएचएसमा दर्ता हुनु जरुरी  छ । यो एउटा सामान्य प्रक्रिया हो । एउटा फाराम भरेर निश्चित कागजातसहित नजिकको चिकित्सक (जेनरल प्राक्टिसनर  – जीपी) को अफिसमा बुझाएपछि केही समयमा दर्ता प्रक्रिया सम्पन्न हुन्छ । यसरी दर्ता भएपछि  मात्रै एनएचएस नम्बर प्राप्त गर्न सकिन्छ र स्वास्थ्य सेवाको उपयोग गर्न योग्य हुन सकिन्छ । यो सुविधा बेलायतमा बस्ने बेलायती नागरिक, आवासीय अधिकार भएका व्यक्ति तथा अन्य केहीको लागि पनि उपलब्ध छ । अन्यथा इमर्जेन्सी सेवा बाहेक अरु सेवाहरु लिनको लागि शुल्क तिर्नुपर्ने हुन्छ। त्यसैले त बेलायतमा नेपालबाट भिजिटरको रुपमा आउने अभिभावक तथा अन्य व्यक्तिले इमर्जेन्सी  सेवाबाहेक अरु सेवाहरु लिनको लागि शुल्क तिर्नु पर्ने हुन्छ । अथवा बीमा गर्नु पर्ने हुन्छ ।

बेलायतको स्वास्थ्य सेवालाई मुख्यतयः चार प्रकारले विभाजन गर्न सकिन्छ । पहिलो आकस्मिक  सेवा, दोश्रो परामर्श सेवा, तेश्रो सामुदायिक स्वास्थ्य सेवा र चौथो अस्पताल सेवा ।

सबैलाई थाहा भएकै कुरा हो, पहिलो प्रकारको आकस्मिक सेवाअन्तर्गत  कोही  दुर्घटनामा पर्दा, कसैलाई कुनै प्रकारको आकस्मिक पर्दा वा कुनै जरुरी रुपमा एम्बुलेन्स बोलाउनु  पर्दा सबैले  ९९९ मा कल गर्ने, एम्बुलेन्सलाई बोलाउने र अस्पताल जाने वा अन्य कुनै प्रकारको सेवा लिने ।

दोश्रो प्रकारको परामर्श सेवाअन्तर्गत कुनै आकस्मिक छैन तर स्वास्थ्यकर्मीको परामर्श तत्काल आवस्यक छ भने  १११ मा कल गर्ने र आफ्नो समस्या छलफल गर्ने । तत्पश्चात यदि कुनै जरुरी समस्याको लक्षण छ भने स्वास्थ्यकर्मी वा परामर्शदाताहरुले नै अस्पातल जाने वा अरु कुनै सेवा लिने राय दिन सक्छन् । कुनै प्रकारका सामान्य स्वास्थ्य समस्याहरुको लागि नजिकको फार्मेसीमा गएर फार्मासिस्टसंग परामर्श पनि गर्न सकिन्छ । साथसाथै फार्मेसीमा सामान्य प्रकारका औषधीहरु जस्तै रुघा-खोकी, ज्वरो, सामान्य दुखाई कम गर्ने औषधीहरु  खरिद गरी तत्काल लक्षण कम गराउन पनि सकिन्छ ।

यसको अलवा आजकल सबैजसो रोगको  जानकारी जस्तै रोगको चिनारी, लक्षण, कारण, रोकथाम, उपचार आदि  एनएचएसको वेबसाइट (www.nhs.uk ) मा पनि प्राप्त गर्न सकिन्छ । यो सबैको लागि अति उपयोगी र जानकारीमूलक छ । यो वेबसाइटमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थाको नाम, ठेगाना, उपलब्ध सेवा, त्यसको बारेमा सेवाग्राहीको अनुभव, सेवा नियमन निकाय जस्तै केयर क्वालिटी कमिसनले नियमित रुपमा गर्ने अनुगमनको प्रतिवेदन, सेवाको रेटिंग आदि सबै जानकारी पनि प्रकाशित गरिएको हुन्छ। जस्ले सेवाग्राहीलाई आफूले सेवा लिने अस्पताल वा संस्थाको बारेमा पूर्ण जानकारी मिल्छ ।

तेश्रो प्रकारको सेवा भनेको सामुदायिक सेवाहरु हुन् । यस अन्तर्गत आफू दर्ता भएको नजिकैको  चिकित्सक (जेनरल प्राक्टिसनर – जीपी) बाट लिने सबै प्रकारको सेवाहरु, अशक्त वा उमेर पुगेका बृद्धबृद्धाहरुलाई उपलब्ध हुने सामुदायिक सेवाहरु जस्तै डिस्ट्रिक नर्सिङ्गको सेवाहरु, सुत्केरी महिलाहरुलाई उपलब्ध हुने मिडवाइफ  सेवा आदि पर्छन् । यसअन्तर्गत सबैभन्दा महत्वपूर्ण जीपीको सेवा हुन्छ । किनकि कुनै अस्पतालमा उपचारको लागि जीपीको सिफारिसबिना आकस्मिक बाहेकको अवस्थामा जान सकिन्न । साथसाथै अरु सेवाहरुको लागि पनि जीपीको सिफारिस महत्वपूर्ण हुन्छ । यो सेवा केवल आफू दर्ता भएको स्वास्थ्य संस्था बाट मात्रै पाउन सकिन्छ । यदि कसैलाई आफ्नो जीपीको सेवा चित्त बुझेन भने अर्को जीपीमा आफ्नो दर्ता सार्न पनि सकिन्छ ।

चौथो प्रकारको सेवा भनेको अस्पताल सेवा हो । कुनै व्यक्तिलाई विशेषज्ञ सेवा जस्तै शल्यक्रिया गर्नु पर्ने वा कुनै विशेष प्रकारको सेवा लिनको लागि अस्पतालमा जानुपर्ने भयो भने जेनरल प्राक्टिसनर (जीपी) को सिफारिसमा अस्पताल उपचारको लागि जानुपर्ने हुन्छ । यो अवस्थामा अस्पताल उपचारको लागि जाने सिफारिस भएपछि जेनरल प्राक्टिसनरले अस्पताललाई पत्र लेख्ने र त्यसपछि अस्पतालले सेवाग्राहीलाई पत्र लेख्छ । यदि बिरामीलाई कुनै जटिल रोग भएको शंका लागेको छ भने अस्पतालले तुरुन्तै बिरामीलाई सम्पर्क गर्छ । जस्तै क्यान्सरको शंका लागेमा एक हप्ताभित्र नै बहिरंगमा बोलाउनु पर्ने हुन्छ । त्यस्तै अरु रोगको लागि अस्पतालले बिरामीलाई सम्पर्क गरी प्राथमिकताअनुसार नाम दर्ता गरी बोलाउने गर्दछ । त्यति मात्रै हैन कुनै रोगको लागि तुरुन्तै उपचार गराउनु पर्ने भएमा अस्पतालले तत्काल उपचारको ब्यवस्था मिलाउने गर्दछ । यस अर्थमा कुनै बिरामीलाई तत्काल र कुनै बिरामीलाई केही समयपछि पालोअनुसार बोलाउने गर्दछ । यो अर्थमा हामीलाई कुनै सेवा सुलभ र कुनै सेवा धेरै पर्खनु पर्ने भएकोले दुर्लभ पनि लाग्ने गर्दछ ।

माथि उल्लेखित कुराहरुको आधारमा बेलायतमा स्वास्थ्य सेवा कसैको लागि सुलभ लाग्न सक्छ भने कसैको लागि दुर्लभ पनि लाग्न सक्छ । खास कुरा के भने आकस्मिक परेको बेला एनएचएसको सेवा सबैको लागि तत्काल उपलब्ध हुन्छ भने कुनै बेला केही समय कुर्दा पनि हुन्छ भने केही समय कुर्नु परेको कुरा पनि सत्य हो ।

सारांशमा भन्नु पर्दा हामी बेलायतमा बस्ने सबैले एनएचएसबाट उपलब्ध सेवाहरुमध्ये सही समयमा सही सेवा लिन सक्नु पर्छ । यसले गर्दा अरु कोही जो तत्काल उपचार गराउन नपाएर बसेको हुन्छ, उसले पनि सही उपचार पाउन सकोस् र आफूलाई  पनि ठीक समयमा ठीक उपचारको व्यवस्था हुन सकोस् ।

(नोट: यस लेख मेरो व्यक्तिगत अनुभवको आधारमा लेखिएको निजी विचार हो । कुनै महानुभावले स्वास्थ्य सेवा लिनको लागि कृपया उपयुक्त स्वास्थ्यकर्मीको परामर्श लिनु हुन अनुरोध गर्दछु । लेखक)

 

(लेखक क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनमा वरिष्ठ ब्यवस्थापक, डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको असोशियट लेक्चरर र एनआरएनए युकेको सल्लाहकार हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री