
डिल्लीबजारस्थित कन्या उच्च माविमा बिहीबारदेखि सञ्चालन भएको एसएलसी परीक्षामा सामेल भएका बहिरा विद्यार्थीहरुलाई निर्देशन दिदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १८ चैत । भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै आज बिहानबाट सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन् ।
बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको छ । परीक्षा १२ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुने गरी परीक्षा सुरु भएको हो । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच यस वर्ष विद्यार्थी पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।
यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।
परीक्षाका क्रममा झापाको अनुगमनमा पुग्नुभएका शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले देभभर परीक्षा शान्तिपूर्ण रुपमा चलेको जानकारी आएको बताउनुभयो । विश्व निकेतन मावि, त्रिपुरेश्वरका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले त्यहाँ २९६ विद्यार्थी रहेकामा आज २९३ उपस्थित भएको बताउनुभयो । उहाँले विद्यार्थीमा कुनै त्रास र भय नपाइएको बताउनुभयो ।
शिक्षामन्त्री र सहसचिवको अनुगमन
परीक्षाको अनुगमनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि आज केही परीक्षा केन्द्रमा पुग्नुभएको छ । उहाँले शान्ति विद्या गृह, लैनचौर र महेन्द्र मावि, बालुवाटारको परीक्षा केन्द्र पुगी अनुगमन गर्नुभएको हो । त्यहाँ परीक्षा मर्यादित पाइएको मन्त्री पोखरेलका प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिनुभयो ।
यही चैत २९ गतेसम्म चल्ने परीक्षाको अनुगमनका लागि मन्त्री पोखरेल काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा पनि जाने कार्यक्रम छ । कतिपय स्थानमा शिक्षा सचिव विश्वप्रकाश पण्डित पनि अनुगमनमा जानुहुनेछ ।
यस्तै परीक्षा नियन्त्रण कार्यालयले १४ अञ्चलमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको छ ।
त्रुटि सच्याउने मौका
परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्नेछन् ।
पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्ममिति, विषयलगायत त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौंसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरुलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिनुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त