८५ वर्षीय मीनबहादुर शेरचन पुनः सगरमाथा चढ्ने

min

पत्रकार सम्मेलनमा माेना युकेका अध्यक्ष कमल पुर्जाका साथमा मिनबहादुर शेरचन

लण्डन । ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः सगरमाथा चढ्ने भएका छन् ।
यसअघि सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा पाको उमेरमा सगरमाथा चढेको विश्व रेकर्ड बनाइसकेका शेरचन यसवर्ष फेरि सगरमाथा आरोहणमा होमिएका हुन् ।
उनको आरोहण अभियानका बारेमा जानकारी दिन शुक्रबार अल्डरसटमा म्याग्दी प्रवासी ओभरसिज एसोसिएसन (युके)ले एक पत्रकार सम्मेलनको आयोजना गर्यो ।
शेरचनको आरोहणलाई सहयोग गर्नका लागि मोना युकेले माेना युकेका सल्लाहकार तथा मगर संघ युकेका काेषाध्यक्ष तेज राम्जाली पुन मगरको संयोजकत्वमा एक सहयोग समिति बनाएको छ । समितिमा सहसंयोजक ज्ञान शेरचन, सचिवमा रिटायर्ड मेजर खिम गौचन, सहसचिवमा कुमार फगामी र लाल पुन, कोषाध्यक्षमा अर्जुन तिलिजा, सहकोषाध्यक्षमा नरबहादुर बुढा रहेका छन् । यस्तै मिडिया, जनसम्पर्कमा रेशम शेरचन, थकाली वेलफेयर सोसाइटीबाट दशरथ शेरचन, सिनियर सिटिजनमा रिटायर्ड क्याप्टेनहरु हरिबहादुर थापामगर र वीरबहादुर थापामगर, महिलातर्फ लीला गर्बुजा, यमाया पुन, सीता पुन, अन्य सदस्यहरुमा इन्द्र गुरुङ, हरिबहादुर बुढामगर र जनकलाल थकाली रहेका छन् । समितिलाई पूर्णता दिन अझै बाँकी रहेकाे संयाेजक राम्जालीले बताए ।
यस्तै, उनको आरोहणलाई सफल बनाउन नेपालमा पनि समिति गठन गरिने र मोनाको शाखा रहेका विभिन्न मुलुकमा पनि समिति बनाइने संयोजक राम्जालीले जानकारी दिए ।
म्याग्दी भुरुङ तातोपानीका शेरचनले बेलायती सेनाको क्वीन्स गोरखा सिग्नलमा पहिले सेवा गरेका थिए । उनको आर्मी नम्बर २११४५८८१ रहेको छ ।
पर्वतारोहणको तयारीका लागि शारीरिक रुपमा तन्दुरुस्त रहन उनले नेपालको पूर्व–पश्चिम, उत्तर–दक्षिण पदयात्रा गरिसकेका छन् ।  अभ्यासका बारेमा सोध्दा उनले भने, “नयाँ ( पर्वताराेही) लाई हो अभ्यास चाहिने म त २० वर्षदेखि यसै क्षेत्रमा नियमित अभ्यास गरिरहेको छु ।”
शेरचनको सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको विश्व रेकर्ड सन् २०१३ मा ८० वर्षीय जापानी पर्वतारोही युचियो मिउराले तोडेका थिए । सो रेकर्ड फर्काउन शेरचनले गतवर्ष पनि सगरमाथा आरोहणको प्रयास गरेका थिए तर वैशाख १२ गतेको महाभुकम्पका कारण उनी बीचैमा आरोहण त्याग्न बाध्य भएका थिए । ८५ वर्षको उमेरमा पनि उस्तै जोश निकाल्दै शेरचनले भने, “यसपटक मलाई प्राकृतिक प्रकोपबाट कसैले रोक्न सक्दैन ।”
समितिका सहसंयोजक ज्ञान शेरचनले मिनबहादुर शेरचनले यो उमेरमा पनि सगरमाथा चढ्ने दृढतामार्फत विश्वभरका मानिसहरुलाई केही गर्नसक्छु भनेर सन्देश दिन खोजेको र यसलाई विश्वभर फैलाउनु पर्ने बताए ।

उनकाे अाराेहण याेजनालाई गत वर्ष एनअारएन युके लगायतका विभिन्न संस्थाले सहयाेग गरेका थिए । यस वर्ष पनि सहयाेग गरिदिन समितिले अाग्रह गरेकाे छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री