
राजनैतिक संस्कारको खाँचो
धेरै वर्ष बेलायतमा रहेर संसदीय व्यबस्थाको अनुभूत गर्दा सायद यहांको विकासको खम्बा भनेको राजनीतिक संस्कार, इमान्दारिता, कर्तब्यपरायणता र आफ्नो क्षेत्रमा दक्षता नै हो भन्ने लाग्छ । पहिलो पुस्ताका नेपाली बिदेशमा बसेर धसिनु भनेको प्रमुख कारण गरिबीको नै हो, चाहे त्यो आर्थिक होस् या शैक्षिक या अन्य कुनै । परदेशमा रहेर पसिना बगाउनु भनेको झर्रा अर्थमा गरिबीको लागि शहिद हुनु नै हो भन्दा खास फरक नपर्ला । बेलायतीको नजरमा हमेशा “बिदेशी” नै रहने र नेपालको हिसाबले “आप्रबासी”को बिल्ला भिरिए पनि पहिलो पुस्ताका नेपालीको मन र मष्तिस्कमा त जन्मभूमिले हरदम तानि नै रहेको हुन्छ ।
विकसित देशमा बसे पछि आफ्नो देश पनि यसरी नै किन बिकास हुन नसकेको होला भनि ग्लानि, हीनताबोध र आक्रोस आउछ । बेलायतको तीनसय बर्षको प्रजातान्त्रिक अनुभव र नेपालको थोरै समयको संसदीय व्यवस्थासंग तुलना गर्न त त्यति गर्न सुहाउदैन । सूचना प्रबिधिको विकासले गर्दा राम्रा कुरालाई सिकी यसलाई आत्मसात गर्न पाउनु नै एक्काइसौ शताब्दीको महान पक्ष हो । यिनिहरुले बनाएको मोबाइल फोन, सहायता, अरु प्रबिधिको उपयोग गर्न त तीनसय बर्ष कुर्नु पर्दैन भने यहाको सबल राजनैतिक संस्कार र बिकासको पनि अनुसरण गर्न सिक्न सक्नुपर्छ ।
नेपाल बिकास हुन नसक्नुमा राजनैतिक असक्षमता र अदूरदर्शीता नै हो । सधै यी राजनीतिज्ञहरुलाइ गाली मात्रै गर्नु भन्दा राजनीति संस्कार, विकासको योजना, बिभिन्न क्षेत्रको ठोस नीतिबारे कुरा उठान गर्नु वान्छनीय हुन्छ ।
नेपालमा संसदीय ब्यबस्थाको ठूलो उपहास राजनैतिक पार्टीका शिर्ष नेताबाट नै भएको यथार्थतामा कसैका सामु लुकेको छैन । जनमतको कदर नगर्ने र जनमतसंग डराउने व्यक्ति नेता हुन सक्दैन । चुनाबमा जित हार या सरकारमा रहेपनि या बहिर्गमन भएपनि सधै आफूलाई सर्बोपरी ठान्नु या हुनुपर्छ भन्ने मान्यता राख्नु प्रजातन्त्र बिरोधि हो भन्दा अत्युक्ति नहोला । गत २५ बर्षको नेपालको संसदीय अभ्यास हेर्दा ४६ साल देखि नै तिनै ब्यक्तिहरु नै राजनीतिको केन्द्र सधै भइरहेको र रहिरहने चाहना भएको त घाम जत्तिकै छर्लंग छ । यो प्रजातान्त्रिक पद्धतिको मर्म बिपरित हो । एक पल्ट सरकारको नेतृत्व गरेको मानिस त सक्रिय राजनीतिबाट हट्नु पर्छ । जस्तै बेलायतका हाल जीवित पूर्व प्रधानमन्त्रीहरु जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउनले पद छोड्ने बितिक्कै राजनीति नेतृत्व हस्तान्तरण गरे । आ-आफ्नो क्षमता र दक्षता अनुरुप अरु बिभिन्न समाजसेवाका काममा यिनीहरु संलन छन् ।
बहुमतको राज्य र अल्पमतको सम्मान हुनुपर्नेमा मन्त्रि भन्दा पार्टी अध्यक्ष शक्तिशाली हुनु, सरकारमा जान मरिहत्ते गर्नु, पद हुदामा एकथोक बोल्ने अनि बाहिर मनलाग्दो बोल्दै हिड्नु, क्षमताको बिकास नगर्नु, नीति योजनामा कहिल्यै बहस नगर्नु, दलका शिर्ष नेताहरु नै सर्बेसर्बा ठान्नुले नै नेपालको यो हालतमा भएको देख्न सकिन्छ ।
पार्टीको जनमतको हैशियत अनुरुप नीति कार्यक्रममा सहमति भइ स्थायी सरकारको जरुरी नेपालमा छ जसमा बिकास र सम्ब्रिद्दिको भिजन भएको होस । संसदीय प्रजातन्त्रमा सरकार र प्रतिपक्ष भनेको एकै रथको दुइ पांग्रा न हो, नीतिको लडाई हुनुपर्छ, कुर्चीको होइन ।
संसद नै सर्वोपरी हुने प्रजातान्त्रिक परिपाटीमा हरेक राजनीतिक मुद्दाको हल संसदबाट नै गरिनु पर्छ । सबै जनताले चुनिएका व्यक्तिहरुले हर समय नमुनाको रुपमा प्रस्तुत हुन सक्नु पर्छ । जनमानसलाई विभाजित बनाउने काम कुनै राजनैतिक पार्टीले गर्नु हुदैन । हरेक राजनैतिक पार्टीको भात्री संगठनको रुपमा शिक्षक, बिधार्थी, कर्मचारी, लगायत पेशागत संस्थामा बिल्ला बोक्ने परिपाटीको अन्त्य हुनु जरुरी छ । आ-आफ्नो हकहितको लागि संस्था खोल्नु उपयुक्त हुन्छ तर राजनैतिक पार्टीको गोटी बन्ने गरेर होइन । यसको लागि राजनैतिक पार्टीका नेताले हिम्मत निकालेर कदम चाल्न सक्नुपर्छ ।
कुनै जमानामा आधा भन्दा बढी संसारलाई हाक्ने बेलायतमा लिखितरुपमा संविधान छैन । कुशल नेतृत्व भए विकासका क्रमलाई रोक्न नसक्ने रहेछ । संबिधानको ठेकेदार सम्झनेलाई भारतका पुर्ब राष्ट्रपति राजेन्द्रप्रसादले भनेका । “संबिधानका अक्षरहरु मृत हुन्छन” भन्ने हेका छ कि छैन ।
राजनैतिक संस्कार भनेको ठूला नेताबाट आउने हो । हरेकमा नियम कानुन बनाएर पहिला यसको पालना गर्न सिकाउने नै शिर्ष नेता हुन् । नीति, निर्माण, नियुक्ति, योजना, आदि सबैमा सिस्टमको बिकास गरी यसलाई अनुसरण गर्नु पर्छ । मन्त्रि बनाउने देखि हरेक तबरको नियुक्तिमा नियम अनुसार गर्नु पर्छ, बहुलट्ठी पनले होइन । पावर साथै आफुमा राख्नु र यसम नै रमाउनु, आफु या पार्टीले हारजीत जे भएपनि सधै आफूलाई केन्द्रबिन्दुमा राख्नु भनेको त तानाशाही प्रबृत्ति हो ।
नेपाल जस्तो कम बिकशित मुलुकमा हर क्षेत्रमा बिकास हुनु छ । राजनैतिक स्थायित्व भएर सहि योजना बनेमा कोहि मानिस नेपालमा बेरोजगार हुनुपर्दैन । थप जनशक्तिको निकै नै आवश्यकता पर्नेछ । यहि अनुरुप उद्योग तथा अरु ब्यबसायमा धेरै लगानी हुने नै छ । सहि करको नीति अबलम्बन गरेर रोजगारीबाट प्रशस्त कर उठ्नेछ । सरकार बनेको ब्यबस्थापक हो । कर उठाएर तीस प्रतिशत भन्दा कम तलब भत्तामा कटाएर बाँकी बिकासका कार्यक्रम, बाटोघाटो, अस्पताल, स्कुल, पुलिस, फोहर ब्यबस्थापनजस्ता सेवादायीकाम, समाज कल्याण लगायत गरिबी निवारणका बिभिन्न नीति तथा योजनामा गर्न सकियो भने मान्छेले कर तिर्न गार्हो मान्ने नै छैनन् ।
बिकासमा आधारभूत कुराहरु यातायात, उर्जा, दक्ष जनशक्ति, सूचना प्रबिधि, भवन निर्माण जस्तामा दीर्घकालीन लगानी गरी ब्यापार घाटालाई कम गर्न पहल गरेर दुई शक्तिशाली राष्ट्रहरु भारत र चीन संग चतुर मैत्री सम्बन्ध कायम राखी व्यापारका अनेक ढोका खोल्ने प्रसस्त सम्भावना छदैछ । सबै नेपालीलाई बिकास निर्माणमा सहभागी गराई सहभागिता गराई प्रत्येकले आ-आफ्नो भूमिकाको अनुभूत गर्न पाउनु पर्छ ।
राजनीतिक स्थायित्व भएर सबैले आ-आफ्नो जिम्मेवारी महसुश गरी बिकासका योजना लागु भएमा नेपालमा घटीमा बार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर हुन केहि गाह्रो पर्दैन । यसरी नै लगातार सहि नीति अबलम्बन भए आउदो बीस बर्षमा त देशको कायापलट हुने नै छ । आखिर आफ्नो देश आफैले नबनाइ नबन्ने दृस्टान्त त सबैले भोगिरहेको र बुझिरहेको कुरा त हो नि ।
सरकारको काम भनेको नीति तर्जुमा गरी त्यसको अनुगमन गर्नु हो । त्यसैले सिस्टमको बिकास गरेर स्कुल, प्रशासन, पुलिस लगायत सबै क्षेत्रम राजनीति हस्तक्षेप पूर्ण रुपमा बन्द गर्नु नै पर्छ । राजनैतिक पार्टीहरु बिचको सौहार्द्रपूर्ण सम्बन्ध हर समय रहनु पर्छ । एक आपसमा सम्मान र सदभाबको बिकास गर्नु अरु जरुरी छ । संसदीय व्यबस्थाको सुन्दरता भनेको नै बिभिन्न राजनैतिक पार्टीको नीति र कार्यक्रम हो । कसको कति उपयोगी भनेर त चुनाबको माध्यमबाट निर्क्यौल भइहाल्छ ।
अब देखि राजनीतिको नाममा जनतालाई दुःख दिने, पदको लागि जे पनि गर्ने, संसद लगायत सेवाका स्थलहरु अबरुद्द पार्ने, बर्ष/ बर्ष बर्षमा सरकार गिराउने, नियम कानुन हातमा लिने जस्ता क्रियाकलापको बन्द सधैको लागि हुनु पर्छ । कानुनी राज्यमा सबै चल्नु पर्छ । कसैलाई अन्याय गरिनु हुन्न । समान अवसर र सम्वृद्धिको लागि सबैलाई ढोका खोलिनु पर्छ । सबैले चाहेको नयाँ नेपालको निर्माण गर्न सबैले आ-आफ्नो ठाउबाट कसरत गर्नु अपरिहार्य हुन्छ । खालि खोक्रो गफको लागि होइन, अब एक पहल पनि खेर नफाली अगाडी बढ्नु पर्छ । सबै देशको इतिहासमा एउटा टर्निंग प्वाइन्ट आउंछ र नै द्रुत गतिमा सबै एक ढिक्का भएर देश बिकासको बिगुल फुक्छन । ढिलै भएपनि नेपालमा अहिले यो क्षण आएको ठानी सबैले आ-आफ्नो हठ त्यागि बिगतको कमजोरीबाट धेरै कुरा सिकी अगाडी बढ्न सक्नु पर्छ । यसको लागि पहिलो कार्य राजनैतिक संस्कारको विकास हुनु अपरिहार्य छ । यसको लागि अहिलेबाट नै पहल गर्ने कि ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति