काबुल, ११ फागुन । अफगानिस्तानमा शान्ति स्थापनाका लागि पहलस्वरुप चार देशको बैठक सुरु भएको समाचार छ ।
अफगानिस्तानको राजधानी काबुलमा सो बैठक सुरु हुन लागेको बताइएको छ । मङ्गलबार सुरु हुने सो बैठकमा शान्ति वार्ताका माधयमबाट अफगानिस्तानमा शान्ति स्थापनाका बारेमा कुराकानी हुने बताइएको छ ।
यो बैठक यी चार देशको चौथो चरणको बैठक हो । यसअघि पनि पाकिस्तान र अफगानिस्तानमा विभिन्न चरणमा यस विषयमा बैठक भएका थिए ।
मङ्गलबार सो बैठक सुरु हुनुअघि अफगास्तिानका रक्षामन्त्रीले त्यहाँ उपस्थित प्रतिनिधिहरुलाई अफगानिस्तानको सुरक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो बैठकमा अफगानिस्तान, पाकिस्तान, चीन र संयुक्त राज्य अमेरिका रहेका छन् । यी देशले आजको सो बैठकबाट अफगानिस्तानमा बिगत लामो समयदेखि हिंसा मच्चाउदै आएका तालिवानहरुलाई वार्ताको टेबलमा ल्याउने प्रक्रियाका बारेमा मार्ग पहिचान गर्नेछन् ।
यस पटकको यस चार देशीय बैठकबाट अफगानिस्तानका तालिवानहरुलाई वार्तामा ल्याउनका लागि सहयोग पुग्ने अपेक्षा अफगान अधिकारीहरुले गरेका छन् ।
तर अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेका तालिवानहरुले भने शान्तिपूर्ण वार्ताको टेबलमा बस्ने बारेमा अहिलेसम्म केही सङ्केत गरेका छैनन् ।
अफगानिस्तानमा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी हजारौँ नागरिकको ज्यान गएको छ । तर पटक पटकका वार्ताका प्रयासहरु सफल हनु भने सकिरहेका छैनन् ।