शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ०१:३३ | UK Time: 20:48

दूतावासमा सधैं झुल्किने अनुहारहरु

वीनेपाली
२०७२ माघ ११ गते २३:२७

10690113_10153247347823672_2971033391578960927_nअक्सर दूतावासको निमन्त्रणा कमै आउंछ । अरु त खुब गएको देख्छु । समय, परिस्थिति अनुसार जानु स्वभाविक हो जानु पनि पर्छ । म आमन्त्रित लिष्टमा परिन भनेर मेरो गुनासो हुंदै होइन । मेरा पाठकहरुलाई अवगत गराउन चाहन्छु ।

वर्षमा चार चोटी दूतावास धाउंदा पत्रकारको संख्यामा उल्लेख्य वृद्धि भएको 
रहेछ । अस्तिको कार्यक्रममा मेरो छेउमा बिकल आचार्य दाई हुनुहुन्थ्यो । बिकल दाई नेपाली समाजमा स्वास्थ्य रहनुपर्छ भनेर पाठ घोकाउंदै हिंड्ने मान्छे । मुटु कसरी स्वास्थ्य 
राख्न सकिन्छ भन्ने चिन्ता लिएर कहिले लेख त कहिले भेट हुंदा धारा प्रवाह उपदेश दिनुहुन्छ उहां ।  तर, म पनि अल्छी, विकल दाईको कुरा सुन्छु पढ्छु बिर्सन्छु । खैर, बिकल दाईको परिचय मैले दिइराख्नु परेन र यहां उहांप्रति लेख्न खोजिएको पनि होइन ।

प्रसंगमै जान चाहन्छु । बिकल दाईको दूताबास जाने पालो मेरो भन्दा अलि बढि नै आउंदो रहेछ । ए दाई यो दूतावासको कार्यक्रममा सधैं उही अनुहार मात्र किन ? भनेर प्रश्न तेसार्न नपार्दै दाजु पनि त्यही भन्या… भनेर नाक खुम्च्याउन थाल्नुभयो ।

मेरो मनमा आज खुलदुली जाग्यो दूतावासमा छिर्न कि त राजनीतिक 
आवरण, कि कुनै संस्थाको अध्यक्ष वा पदाधिकारी, कि अलिक दानी, समाजसेवी वा पत्रकार हुनै पर्ने हो ? हुन त नेपाली समाज मिश्रित छ । संस्था धेरै छन्, सबैलाई समान व्यवहार गर्न दूतावासलाई पनि अप्ठेरो ।

ती एकै अनुहारका कुरा सुन्दा काम शुन्य, गफ चाहिं रावणको लंका हकाइंका थिए । दूतावासको ढोकैसम्म वाइनका गिलास लिएर केही पाहुना बाहिर निस्कंदै पिइरहेका थिए । हाम्रो इज्जत नै दूतावासको इज्जत हो, हामीलाई बसेर खान पिउन पनि अरुले सिकाइदिनु पर्ने उफ् । कोहीको शैली आफ्नै दूतावासको मालिक सरह हाली मुहाली थियो । सांझ छिप्पिंदै थियो । त्यो छिप्पिएको सांझसंगै लर्बरिंदो बोली र खुट्टाहरुको 
संख्या मिनेट र चुस्कीसंगै बढ्दै थियो । लाग्थ्यो दूतावास रंगिला छ ।

मैले दूतावासको चित्रण मात्रै गरेको हुं । अरु देशको दूतावासमा त्यो हुन्छ 
हुंदैन मलाई अनुभव छैन् । लन्डनस्थित नेपाली दूतावासमा सधैं जम्मा हुने भीडको अनुहार एक्कै हुन्छ, स्वर एक्कै हुन्छ । देशको माहोल, परिस्थिति बिग्रन गएकोमा चिन्तित झैं देखिन्छन् उनीहरु । उदेक मान्छन्, देशको बढ्दो चिन्ताले उपस्थित मान्यजनहरुलाई माइग्रेन नै गराएको ठम्याउन अप्ठेरो थिएन ।

दूतावास एनआरएनका वर्तमान, भूतपूर्व अध्यक्षहरुको पेवा भएको छ । दूतावास जात जाती समुदायको वकालत गर्ने समूहहरुको पेवा । दूतावास राजनैतिक लालमोहर लागेका नेता आउंदा ओसार्ने टांगाहरुको पेवा, विरासत भएको छ । दूतावास यो झुण्ड भन्दा माथिको हुनै सकेन ।

तर विडम्बना, दूतावासमा देखिने तिनै टाठाबाठाहरुबाट विद्यार्थीहरुलाई न्यूनतम भन्दा पनि कम पैसा दिएर रोजगारी दिइएको छ । कागजात नभएको बहानामा चरम श्रम शोषण गरिएको छ । एमआरपीका लागि 
अंग्रेजी लेख्न नजान्ने बाजे बज्यैहरुको दुर दसा छ । गोराहरु दूतावासका कर्मचारीप्रति गुनासो पोख्छन् । मेरो पनि हो त्यो दूतावास भन्ने जमातको कमी छ ।

देशमा लगानीको उल्लेख्य सम्भावनाबारे उपस्थित ति सदावहार झुल्किने मान्यजनहरुलाई बेलायती उद्यमीहरुसंग प्रयोग गर्न दूतावास असफल नै छ, मान्नुस नमानुस् ।

विरोधपछि विकल्प पनि प्रस्तुत गर्न चाहन्छु । दूतावासले लगानीका सम्भावना भएका क्षेत्रहरु पहिचान गरोस् । 
जलविद्युतमा, पर्यटनमा, सडक, उद्योग कलकारखानामा । त्यो भान दिन सकोस् कि नेपाल लगानीको लागि भर्जिन छ । दूतावासले बेलायतको व्यापारिक कर्पोरेट टोलीसंग काम गर्न सक्ने टिम बनाओस् । त्यो टिममा बेलायतमा रहेका कर्पोरेट विशेषज्ञ, बैंकिग विशेषज्ञ र कर्पोरेट एनालिस्टहरुलाई समावेश गरोस् ।

बेलायतमा नेपाली वैज्ञानिक देखि कर्पोरेट लेभलसम्म काम गर्ने जति नेपाली छन् ति मानिसहरु त्यो टिममा समायोजन गरोस् जो राजनीति देखि विशुद्ध चोखा छन् । काम गर्ने मान्छेहरु परुन्, छातीमा हात राखेर देश र जनताको लागि काम होस्, म ति काम गर्ने मान्छेलाई दूतावासको ढोका देखाउन तयार छु । अनि त्यसलाई एनआरएन र राजनैतिक टिमले समर्थन गरोस्, विदेशी लगानी र रोजगारी देशमै सिर्जना होस्, परराष्ट नीति देखि नेपाली मजदुर, धनाढ्य सबैको साझा होस् । अब दूतावास नेतालाई एअरपोर्ट पिक अप, छोड्न र चाकडी गर्ने माध्यम नबनोस् ।

मेरो आशय नेपालको कफी, अलैंची, अदुवा, चिया, मुस्तांगको स्याउ बेलायती बजारमा पुगोस् । यहांका ठूला सुपरमार्केटसम्म पुर्याउन सकियोस् । देशले 
रुपिंयामा पाउन्ड साट्छ, किसानहरुलाई राम्रो आम्दानी हुन्छ । युवालाई खाडीमा भन्दा देशमै आकर्षण गर्न सकिन्छ । यो त सानो उदाहरण मात्र हो । कमसेकम कर्पोरेट बजार समक्ष नेपाली सामान स्याम्पलिंग गर्न सकियो भने पनि उपलव्धि हुनेछ ।

व्यापारिक तहबाट खासै पर्यटन प्रवर्धन भएकै छैन् भन्छु म । एसियन मेलामा एक दिन बाजा बजाएर फन्को मारिन्छ, त्यतिमै पर्यटनलाई सिमित नराखम । अझै भनुं भने व्यापारिक तहबाट झनै केही भएकै छैन् ।

बेलायतबाट जलविद्युतमा, पर्यटनमा, कृषि र शिक्षामा के कति लगानी 
गरिएको छ, मन मस्तिष्क लगाएर ढड्डा पल्टाएर हेर्न अग्रजहरुमा अनुरोध गर्छु । अब दूतावासमा बोलाइने आगन्तुकहरुको नाम लिस्ट इडिट हुन जरुरी छ । खाली देखाउने हात्तीको दांत जस्तो भयो ।
मेरो कसैप्रति र कुनै संस्थाप्रति पूर्वाग्रह छैन् र रहने छैन् । मनमा उब्जिएका कुराहरु प्रस्तुत गरें भुल भए माफी पाउं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक