वासिङ्टन, ११ माघ । पूर्वी अमेरिकामा हिमआँधीमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको समाचार छ । शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको बताइएको छ ।
आँधीका कारण उक्त क्षेत्रका सरकारी कार्यालयहरु आइतबार पनि खुल्न नसकेका देखिएको छ । हिउँले ढाकेपछि बाटो र बस्तीमा ठूलो असर परेको छ ।
यसबाट कैयौं राज्य प्रभावित भएका छन् । प्रभावित राज्यहरुमा २६ इन्चसम्म हिउँ जमेको पाइएको छ । न्युयोर्कमा पनि भारी हिमपात भएको छ । त्यहाँका सरकारी कार्यालय एवम् बस्तीहरु पनि नराम्ररी प्रभावित भएका छन् ।
सो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ (एनडब्लुएस) ले जानकारी दिएको छ ।
मौसमविदहरुले यस शताब्दीकै ठूलो हिमपात भनेका छन् । हिमआँधीका कारण हजारौँ हवाई उडान सेवा अवरुद्ध भएका छन् भने उक्त क्षेत्रका सहरी इलाकामा सञ्चालित बस तथा रेल सेवा शुक्रबारदेखि सोमबार बिहानसम्मका लागि बन्द गरिएका छन् ।
अमेरिकाका मौसमविदहरुले सन् १९२२ यताकै ठूलो हिम आँधी हुने दाबी गरेका छन् । सन् १९२२ मा आएको हिम आँधीका कारण करिब २८ इन्चसम्म हिउँ जमेको र यसका कारण १०० जनाको मृत्यु भएको थियो ।
यस पटकको यो शक्तिशाली हिम आँधीका कारण कैयौँ दुर्घटना भएका छन् र यीमध्ये दुई ठाउँमा भएका घटनामा ठूलो क्षति पुगेको अधिकारीहरुको भनाई छ ।
हिमपातका कारण विशेषगरी अर्कान्सास, टेनिसी, केन्टुकी, उत्तरी क्यारेलिना, पश्चिमी भर्जिनियालगायत १८ राज्य प्रभावित भएका छन् । यहाँको मौसमसम्बन्धी समाचार सम्प्रेषण गर्ने टेलिभिजन प्रसारण च्यानलले उद्वारको कार्य जारी रहेको बताएको छ ।
हिमआँधीले समस्याग्रस्त अवस्था बनेको क्षेत्रमा सरकारले सङ्कटकालको घोषणा गरेको छ । विद्युतीय आपूर्ति एमव् टेलिफोन लाइनमा पनि समस्या उत्पन्न भएको बताइएको छ ।
उद्वारकर्ताहरुले प्रभावित नागरिकलाई सुरक्षित स्थानतर्फ लगिरहेको र उद्वारको कार्य सशक्त रुपमा भएको पनि सिएनएन टेलिभिजनले जनाएको छ ।
हिमपातका कारण एक अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको पनि प्रारम्भिक अनुमान गरिएको समाचारमा उल्लेख छ । तर हाल उद्वारको कार्यमात्र जारी रहेकोले यसबाट भएको क्षतिको पूरा विवरण भने आइसकेको छैन ।