विश्वसामू नेपाल चिनाउँदै ब्रिटिश दम्पत्ति

 British couple

काठमाडौँ । लन्डनका बब गिब्बन्स सन् १९७४ तिर स्नातकोत्तरको पढाइ सकेर घुम्ने योजना बनाउँदै थिए । सगरमाथाबारे पढेका र चलचित्र हेरेका उनले ढिलो नगरी नेपाल जाने निर्णय गरे ।

त्यसपछि समाते १९४९ मोडेलको ल्यान्डरोभर गाडीको स्टेरियङ । हुइँकिए दुई साथीसँगै ‘लन्डन टू नेपाल टुर’ मा । मेजिक बसमा हिप्पी आउने त्यो समयमा टर्की, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै १६ हप्तामा उनीहरु सुनौलीबाट नेपाल भित्रिँदा उखरमाउलो गर्मी थियो ।

वसन्तपुर र झोँछेतिर चुरोटका धुवाँ र गितारका धूनमा हिप्पी पर्यटक खुल्ला सडकमा रमाइरहे पनि तानसेन, पोखरा हुँदै काठमाडौँ भित्रेका उनी टेकुको भ्याली भ्यू होटलमा बसे । केही समय काठमाडौँ घुमे । गाडी यतै छोडे र अस्ट्रेलिया फर्कें । “तीनताका पोखरामा पनि स्नोल्यान्डबाहेक होटल थिएन, क्याम्पिङ गरेर बस्थ्यौँ, असन, न्युरोड, दरबारमार्ग, डिल्लीबजारमा पुराना घर थिए, ठमेलतिर होटल थिएन,” गिब्बनले पुराना कुरा कोट्याए ।

सगरमाथा आधार शिविरसम्म सन् १९७५ मा दुईहप्ते पदयात्रा गरे । नेपाली जनजीवन, हिमाल र प्राकृतिक सुन्दरताले लोभिएका गिब्बनले एक्सट्राडस र इन्काउन्टरजस्ता विश्वचर्चित कम्पनीमा आठ वर्ष गाडी हाँकेरै नेपालमा पर्यटक भित्र्याए ।

“पर्यटक क्रिसमस मनाउन आउँथे र वसन्तमा भारतको गोवा हुँदै फर्कन्थे,” गिब्बनले भने । त्यसपछिका दुई वर्ष शेर्पा कोअपरेटिभसँग मिलेर मोटर र हवाईमार्गबाट पर्यटक भित्र्याए । पर्यटन पेसामा अनुभव बढाउँदै गएका गिब्बनले सन् १९८३ तिर कास्मिर हुँदै लद्दाख पदयात्रामा सियान प्रिचार्ड जोन्ससँग भएको चिनजानलाई विवाहमा बदले ।

भ्रमणमा रुचि राख्ने यो जोडीले पर्यटन व्यवसाय अपनाए । सन् १९८३ देखि १९९८ सम्म अस्ट्रेलिया, अमेरिका र बेलायतका पर्यटकलाई नेपालको हिमाली क्षेत्रको पदयात्रा गराए, शरद र वसन्त ऋतुमा ।

“ठूलो समूह छोटो यात्रा रुचाउँथे, धेरैजसो अन्नपूर्णको घोरेपानी र सगरमाथा क्षेत्र जान्थे, मुस्किलले लाङटाङ, मनास्लु र कञ्चनजङ्गा पुग्ने हुन्थे,” जोन्सले भनिन् । बेग्लाबेग्लै पदयात्री समूहको नेतृत्व गरेर उनीहरु हिमालको फेदीतिर उक्लिन्थे । हिमाल, ग्रामीण् जनजीवन, डाँडाकाँडा र प्रकृतिसँग रमाउँदै नेपाल चिनाउँदै काठमाडाैँ फर्किएर भेट हुन्थे । झन्डै १२ चोटि मोटरमै आवातजावत गरेको गिब्बनले सन् १९९९ मा मिलेनियम यात्रा र २०११ मा उही पुरानो ल्यान्डरोभर लिएर काठमाडौँ, ल्हासा, चीन, कजाकस्तान, रुस र पश्चिम युरोप हुँदै फर्किए ।

“पहिले त शान्ति मात्र हैन प्राकृतिक सुन्दरता पनि थियो, अहिले त आधुनिकीकरण र आतङ्कवादको साह्रै खतरा छ, गाडीमा यात्रा सम्भव छैन,” जोन्स र गिब्बन्सले भने । हिमाल, प्राकृतिक सुन्दरता, नेपाल, नेपाली र यहाँको पर्यटकीय गन्तव्यका बारेमा दिनप्रतिदिन जानकारी बढाउँदै गए उनीहरुले । फलस्वरुप पर्यटक बढ्दै गए । तर होटल, लज, पदयात्रा दूरी, उचाइ, जनजीवन, तापक्रम, खानेकुरा, वनस्पति, जनावर, जङ्गल, हिमाल लगायतबारे तीनताका जानकारीमूलक नक्सा र किताब खासै थिएनन् । तारन्तार नेपाल घुमेर अनुभूत गरेको यो अभाव पूर्ति गर्न कसैले सुझाव दियो ।

उनीहरु पुगे पिलग्रिम बुक हाउसका संस्थापक राम तिवारीकोमा । पर्यटकलाई घुम्न सजिलो पार्ने ८५ रुपैयाँ पर्ने २० पेजको जानकारीमूलक गाइड बुक सन् १९९२ मै पिलग्रिमबाट छापिएर बाहिर आयो जुन साल हिमाली जिल्ला मुस्ताङलाई बाहिरी दुनियाँका लागि खुल्ला गरिएकोे थियो । उनीहरुले ब्रिटेनको सिसेरोने बुक हाउसका लागि २५ डलर मूल्यको २५० पेजको अर्को अन्नपूर्ण गाइड बुक छापे ।

काठमाडौँको प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेल, वसन्तपुरमा पर्यटक लक्ष्यित आधा दर्जन किताब पसल चलाएका दि हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यसँग भेटेपछि यो जोडीबाट नेपालसम्बन्धी हिमालयन ट्राभल गाइड छाप्ने क्रम तीव्र भयो ।

मुस्ताङ, अन्नपूर्ण, मनास्लु टू चुम भ्याली, माथिल्लो र तल्लो डोल्पो, तामाङ संस्कृतिको पदयात्रा गणेश हिमाल, लाङटाङ, गोसाइँकुण्ड र हेलम्बु, एभरेस्ट, रोल्वालिङ र गौरीशङ्कर, नेपाल हिमालय र माथिल्लो र तल्लो मुस्ताङसहितको हिमालयन ट्राभल गाइड बुक प्रकाशन गरिसकेका छन्, यो जोडीले । ती किताब अमेजन डट कममा अनलाइनमा उपलब्ध छन् ।

“पर्यटकलाई यात्रामा निस्कँदा आवश्यक पर्ने नक्सा र गाइड बुक बढी बिक्री हुन्छ, गिब्बन्स र जोन्स जोडीको बुक पनि निकै रुचाइएको छ,” प्रवन्ध निर्देशक शाक्य भन्छन् । साहसिक पर्यटन, धर्म, संस्कृति र नेपालको विविध पक्ष वर्णित कृति पर्यटकले बढी खोज्छन् ।

गोर्खा भूकम्प आउँदा पकनाजोलको होटल मुनलाइटभित्र रहेका जोन्स गिब्बन्सले धनजनको क्षति, उद्धार र राहतबारे आफूले देखेको अनुभव समेटेर सचित्र अर्थक्वेक डायरी छपाए । “अबको हाम्रो सपना कञ्चनजङ्गा, मकालु, हुम्ला र जुम्ला क्षेत्र समेटिएको पश्चिम नेपालको सचित्र किताब निकाल्ने हो,” जोन्स र गिब्बन्स भन्छन् । गिब्बन्स ८० र जोन्स ६० चोटि नेपाल आइसके ।

चार दशकअघि र अहिलेको पदयात्रामा के फरक छ त ? “अन्नपूर्ण, एभरेस्ट, लाङटाङ पदयात्रामा अहिले राम्रा लज, होटल, खाना पाइन्छ, भाषाको समस्या छैन जसको पहिले अभाव थियो, यद्यपि ती सुविधा रोल्वालिङ मनास्लुमा ठिकै छ भने गणेश हिमालमा अझै छैन,” उनीहरु भन्छन् ।

लेख्नुको मतलब पर्यटकलाई पढ्न, गन्तव्यसम्म पुग्न र घुम्न उत्प्रेरित गर्नु हो । यस्ता सूचनामूलक किताब लेख्ने उनीहरुको आफ्नै सीप र ढर्रा छ । लेख्नुअघि उनीहरु पदयात्रामा निस्कन्छन् । स्थानीयवासीसँग सोध्छन् । देखेका, जानेका र अनुभूत गरेका कुरा समेट्छन् । पहिले घुमे पनि पुनर्ताजगीका लागि फेरि पुग्छन् । डाँडाकाँडा, खाेँच, नदीनाला, बस्ती, गुम्बा, गुफा, मन्दिर, भीरपाखा, झरना, वस्नपति, धर्म, संस्कृति र सेताम्मै हिमालका आधार शिविरसम्म डुल्दा नसोचेको चुनौती चुलिँदै जान्छ तर हरेस खाँदैनन् । “अनुसन्धानसँग नयाँ ठाउँ पुगिन्छ, नयाँ कुरा जानिन्छ, यसमा पैसा छैन सन्तुष्टि छ,” गिब्बन्स र जोन्स भन्छन् । यो जोडीले पैसा कमाउन फ्रान्स, बेलायत र अन्य युरोपेली मुलुकमा ट्राभल टुरको काम गर्छ ।

“सृजनात्मक साहित्य लेख्न गाह्रो तर तथ्यसहित गाइड बुक लेख्न सजिलो हुन्छ, यद्यपि उत्साह जगाउने र लेखाइमा इमान्दार हुनुपर्छ,” दम्पतीको बुझाइ छ । पदयात्रा अनुमति र आवश्यक कुरामा सरकार र तिनका निकायबाट सहयोग नपाएको दुखेसो भने यो जोडीसँग छ । तर नेपाल घुम्न चाहनेलाई अग्रिम जानकारी दिएर यो हिमाली देशको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न पाएकामा उनीहरु गर्व गर्छन् ।

“पर्यटन प्रवद्र्धनमा निरन्तर क्रियाशील नेपाल चिनेका यो जोडीलाई नेपालीले भने चिन्न सकेन,” उनीहरुसँग कार्यरत फ्रेन्डस् एडभेन्चर टिम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामा भन्छन् । हिमाल आरोहण र पदयात्रामा तीन दशकदेखि नेपाल आइरहेका अस्ट्रियाका जोसेफ इन्वलर र डेढ दशकदेखि आइरहेको प्रसिद्ध आरोही स्टेफेन केक पर्यटक भित्र्याउन सूचनामूलक गाइड बुक प्रभावकारी हुने बताउँछन् । “चित्र हेर्दा र विवरण पढ्दा घुम्न जाउँजाउँ लाग्छ,” उनीहरु भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री