
काठमाडौँ, २५ पुस । भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटन प्रवद्र्धनात्मक कार्यलाई तीव्रताका साथ अघि बढाएको सरकारले नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्र्नाका साथै राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धनका लागि सेवा सुविधामा सहुलियत तथा सहजीकरणका कामलाई अगाडि बढाएको छ ।
सो क्रममा सबैभन्दा बढी पर्यटकका रुपमा विदेश घुम्ने मुलुक चीनका पर्यटकलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले सन् २०१६ को जनवरीदेखि लागू हुने गरी नेपाल आउने पर्यटकलाई निःशुल्क प्रवेशाज्ञा दिने निर्णय गरेको छ । सो निर्णयसँगै नेपाल आउने चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।
भूकम्पलगत्तै चिनियाँ पर्यटकका लागि नेपाल जोखिमपूर्ण रहेको सूचीमा राखेको चीनले त्यसलाई सच्याउँदै पछिल्लो समय उक्त सूचीबाट हटाएको छ । हालै उप्रधानममन्त्री कमल थापाको चीन भ्रमणको अवसर पारेर चीनले नेपालमा आफ्ना पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिएको हो ।
जनसङ्ख्याका आधारमा विश्वकै ठूलो चीनबाट विभिन्न मुलुकमा करोडको सङ्ख्यामा पर्यटक निस्कन्छन् । तीमध्ये केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालले आर्थिक उन्नत्तिमा सहयो सिद्ध हुनेमा दुई मत छैन ।
पछिल्लो समय ठूलो सङ्ख्यामा चिनियाँहरू विश्व भ्रमणमा जाने गर्छन् । चीन विश्वमै सबैभन्दा बढी पर्यटक भ्रमणमा पठाउने मुलुक
हो ।
चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा शुल्क नलिने निर्णयसँगै अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, साङ्घाई र हङकङस्थित महावाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकले नेपालका लागि निःशुल्क प्रवेशाज्ञा लिन सक्नेछन् ।
चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने प्रवेशाज्ञा दिइने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका सात लाख ९० हजार पर्यटकमध्ये चिनियाँ मात्र एक लाख २३ हजार थिए ।
चिनियाँलाई निःशुल्क प्रवेशाज्ञा दिने निर्णयले नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटकको सङ्ख्या बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की बताउंछन् ।
“यो निर्णयलाई सरकारी र निजी क्षेत्रबाट व्यापक प्रचार गर्न सके यसले साङ्केतिक रुपमा ठूलो महत्व राख्छ, चिनियाँलाई नेपाल भ्रमण आउन पनि कम खर्च लाग्ने र उनीहरूलाई मनपर्ने धेरै चिज छन्, अर्कातर्फ भौगोलिक विविधता, सांस्कृतिक रहनसहन र जीवनशैलीको समानताले पनि पर्यटक आकर्षित हुन्छन्,”–उनले भने ।
सरकारले सन् २०१६ मा साढे दुई लाख चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । सन् २००३ मा चीनबाट एप्रभ्ड भिस्टिनेसन स्टाटस (एडिएस) पाएदेखि नेपाल भ्रमणमा गर्ने चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।
उक्त अवधिमा सात हजार ५६२ रहेको चिनियाँ पर्यटकको सङ्ख्या बढेर सन् २०१४ मा एक लाख २३ हजार ८०५ पुगेको थियो, जुन सङ्ख्या नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५.७ प्रतिशत हो ।
चिनियाँ पर्यटक विशेष गरी नेपालमा संस्कृति, जीवनशैली र परम्पराका साथै जङ्गल सफारी, प्याराग्लाइडिङ र पदयात्रामा आकर्षित छन् । नेपालबाट चीनसँग सिधा हवाई सम्पर्क भएकाले पाँच एयरलाइन्सले चीन, काठमाडौँ उडान गर्दै आएका छन् । यो पनि पर्यटन बढाउने दरिलो आधार हो ।
महानिर्देशक कार्कीले पूर्वाधार विकास तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी त्यहाँ पुग्ने सहज वातावरण सिर्जना गर्नाका साथै पर्यटनका कार्यक्रमलाई बढाउन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रले सक्रियता जनाउन जरुरी भएको उल्लेख गरे ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रचारात्मक र सहुलियत दुबै सुविधा हुने भएकाले प्रवेशाज्ञा शुल्क नलाग्ने निर्णयले चीनबाट पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उनले निशुल्क प्रवेशाज्ञाले चिनियाँ पर्यटक बढ्ने मात्र नभई दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरे ।
नेपालको पर्यटन तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय चीनको लगानी अभिवृद्धि भइरहेको छ, यसले पनि चिनियाँ पर्यटकलाई आकर्षण गर्नेछ । सरकारको नीति अनुरुप लगानीको वातावरण बनेमा निजी क्षेत्रले व्यवसाय प्रवद्र्धन गरी पर्यटकीय पूर्वाधारलाई विशेष प्राथमिकता दिने टानका अध्यक्ष रिजालको भनाई छ ।
सङ्क्रमणमा परेको पर्यटन उद्योगको प्रवद्र्धन विकासका लागि सरकारले नेपालमा विदेशी पर्यटक बढाउनका लागि नीतिगत सुधारका कार्यक्रम पनि अघि बढाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?